राजनीतिका शिखरपुरुष स्व. गिरिजाप्रसाद कोइरालाको जीवनी !

नेपाली कााग्रेसका तत्कालिन सभापति स्व. गिरिजा प्रसाद कोइरालाको २०६६ चैत्र ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो। गणतन्त्र नेपालको प्रथम कार्यबाहक राष्ट्राध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका कोइराला नेपालमा सबैभन्दा धेरै ६ पटकसम्म देशको प्रधानमन्त्री बनेका थिए । २०६२/०६३ सालको जनआन्दोलनका कमाण्डर स्व. कोइराला दृढ निश्चयी र साहसी नेता थिए । आफ्नो अडानमा दृढतापूर्वक उभिने चरित्रका कोइरालाको प्रत्येक बाणीले राष्ट्रिय राजनीतिमा कम्पन पैदा गर्न सक्थ्यो ।

नेपाली राजनीतिका शिखरपुरुष कोइरालाको निधन भएको आज ८ वर्ष पुरा भएको छ ।

कोइरालाको संक्षिप्त जीवनी-

गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात् वि.सं. १९८१ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा भएको हो । त्यतिबेला कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासित जीवन बिताइरहेको थियो ।

गर्भमा रहेका बेला कोइरालाका माता-पिता गिरिजादेवीको मन्दिर जाने गर्थे। सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद वा गिरिजादेवी राख्ने सल्लाहअनुसार उनको नाम गिरिजाप्रसाद राखिएको थियो । उनले भारतमा अङ्ग्रेज धपाउने आन्दोलनलाई नजिकबाट हेर्ने अवसर पाए। सन् १९५०/५१ मा नेपालमा चलेको प्रजातन्त्र बहालीको आन्दोलनमा लागेका कोइराला सन् १९४७/४८ को विराटनगरस्थित जुटमिलको मजदुर हड्तालमा सक्रिय सहभागी भएका थिए ।

राणाशासनमा परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली कांग्रेस मोरङ जिल्ला सभापति भए । उनी नेपाल ट्रेड युनियन कांग्रेस (नेपाली कांगे्रसको मजदुर एकताका लागि खोलिएको भ्रातृ संगठन) को संस्थापक अध्यक्ष भए । २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौं नेतासँग नजरबन्द र त्यसपछि सात वर्ष लगातार जेल सजायू भोगे । २१ दिन भोक हडताल गरी उनी सन् १९६७ मा जेलबाट छुटे । सन् १९८६ मा उनकी धर्मपत्नी सुष्मा कोइरालाको निधन भयो ।

कोइरालाले सन् १९७१ देखि भारतमा निर्वासित जीवन बिताए। सन् १९७६ मा भारतको पटनामा भएको कांग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि उनी डेढ दशकसम्म (२०३३/४७) उक्त पदमा रही २०४८ को आमनिर्वाचिनपछि जननिर्वाचित प्रधानमन्त्री (२०४८ साल जेठ १२ देखि २०५१ मंसिरसम्म) रहे । प्रधानमन्त्री नियुक्त हुँदा कोइराला नेपाली कांग्रेसका महामन्त्री थिए। कोइराला २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नम्बर-१ सुनसरी क्षेत्र नम्बर-३ का साथै २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर-१ र सुनसरीको क्षेत्र नम्बर-५ बाट निर्वाचित भए। २०५३ साल वैशाख २६-२८ मा काठमाडौंमा भएको नेकाको नवौ महाधिवेशनबाट उनी पार्टी सभापति भए । सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि उनी प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै २०५४ साल चैत ३० गते दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त भए ।

२०५४ साल फागुन २१ गते प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएपछि नेपाली कांग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । कोइराला नेतृत्वको सरकारमा पछि नेकपा एमाले विभाजन भएपछि बनेको दल नेपाल कम्युनिस्ट पार्टी माले सम्मिलित भयो । कोइराला नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता थिए । अल्पमत सरकारका प्रधानमन्त्रीले राजीनामा गरेपछि कोइराला नेपाली कांग्रेस, नेकपा एमाले आदिको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रो पटक २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त भए। कांग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि २०५६ साल चैत ७ गते चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका कोइरालाले २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिए।

जनआन्दोलन २ पछि २०६३ वैशाखमा उनी फेरि पाँचौं पटक प्रधानमन्त्री बने । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिए । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान् नेताको सम्मान पाएका कोइराला १० वर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण स्थानमा रहेर काम गरे। संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम विश्वमा चर्चित छ । ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिस्ट विरोधीका रूपमा समेत चर्चामा थियो ।

२०४६ सालको जनआन्दोलन पछिको दशकमा उनको नाम कम्युनिस्ट विरोधीको पर्यायकै रूपमा आउने गरेको थियो । सुरुमा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उनी त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित भए । राजा ज्ञानेन्द्रले संकटकाल लगाई उनी लगायत अन्य संसदवादी दलका नेताहरूलाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा जनयुद्ध लडिरहेको कम्युनिस्ट पार्टीसँग समेत हातेमालो गरे। युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाइ गरेका थिए । लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमै रहे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *