नारायणी सामुदायिकले अत्याधुनिक अस्पताल बनाउने


“
किशोर खनाल
भरतपुर । नारायणी सामुदायिक अस्पताल भरतपुरले ११ वर्ष पूरा गरेको अवसरमा आफ्नो सेवा तथा भौतिक पूर्वाधारलाई थप प्रभावकारी बनाउने भएको छ ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले पत्रकार सम्मेलन गरी ६६ कठ्ठा जग्गामा अत्याधुनिक अस्पताल बनाउन लागिएको जानकारी दिएको छ । ‘नारायणी सामुदायिकले भरतपुर ९ मा ६६ कठ्ठा जग्गा खरिद गरेको छ, त्यहाँ छिटै अत्याधुनिक अस्पताल बनाउने योजना अगाडि बढेको छ’ नारायणी सामुदायिकका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले भने । उनले नारायणीलाई विशेष गरी क्यान्सर अस्पतालको रुपमा विकास गर्न लागिएको बताए ।
‘वर्सेनि क्यान्सरका ४० हजार बिरामी थपिएका छन्, यसको उपचार अब नेपालका केही क्यान्सर अस्पतालले मात्र धान्न सक्दैन । त्यसैले नारायणी सामुदायिकलाई क्यान्सर अस्पतालको रुपमा विकास गर्न लागिएको हो’ डा श्रेष्ठले भने, ‘मुटु रोग र मृगौला रोगीको पनि उपचार गर्ने खालको अस्पताल बनाउने योजना पनि छ ।’
११ वर्षअघि ५० शैंयाको क्षमतामा सेवा प्रारम्भ गरेको यस अस्पतालले अहिले आफ्नै भवनमा १ सय शैंयाको क्षमता पु¥याएको छ ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले आज बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भोलि बिहीबार ओपीडी सेवा निःशुल्क गरेको छ । १२ औं वर्ष प्रवेश गरेको अवसरमा भोलि बिहीबार अन्य उपचारमा ५० प्रतिशत छुट पनि नारायणी सामुदायिकले उपलव्ध गराएको छ । वार्षिकोत्सवको अवसरमा पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई मेडिसिनबाहेक अन्य उपचारमा २५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले बताए ।
कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले जिल्लामा संचालित अन्य निजी अस्पतालहरुको तुलनामा ओपीडी शुल्क निकै कम रहेको दाबी गरे । ‘नेपाल सरकारको मापदण्डअनुसार विपन्न वर्गलाई निःशुल्क शैयाको व्यवस्था पनि रहेको उनले बताए । हाल यो अस्पतालमा ३ वटा मेजर शल्यक्रिया कक्ष, २ वटा माइनर शल्यक्रिया, १० शैंयाको आईसियू, ११ शैंयाको पोष्ट अपरेटिभ वार्ड, १० शैंयाको एनआईसियू, ११ शैंयाको ईमरजेन्सी वार्ड, १० शैंयाको गाईने वार्ड, इएनटी, कार्डियाक वार्ड, डिलक्स क्याबिनहरु संचालनमा छन् ।
अस्पतालको वार्षिक तथ्यांक अनुसार ७५ देखि ९० हजार बिरामीले सेवा लिने गरेका छन् । दैनिक १७ वटा मेजर शल्यक्रिया हुने गरेको छ । कार्यरत अधिकांश चिकित्सकहरु विशेषज्ञ हुनाले दिनप्रतिदिन जिल्लाभित्रका मात्र नभई अन्य जिल्लाका बिरामी समेतको चाप बढ्दै गएको अस्पतालका कर्मचारीहरु बताउछन् । ‘मृगौला बिरामीको संख्या दिन प्रति दिन बढ्दो छ’ डा. श्रेष्ठले भने, ‘त्यही भएर यो वर्षभित्र अस्पतालमा डायलसिस सेवाको पनि प्रारम्भ गर्ने योजनामा छाँै ।’
अस्पतालले हाल शैक्षिक कार्यक्रम तर्फ स्टाफ नर्स, एचए, बिएन, विएस्सी नर्सिङ ल्याब टेक्निसियन, सिएमए तथा एएनएमको अध्यापन समेत गराउँदै आएको छ । नेपाल पोलिटेक्निक ईन्ष्टिच्यूट तथा एनपिआई नारायणी सामुदायिक हस्पिटलका संस्थापक कार्यकारी निर्देशक तथा वर्तमान सञ्चालक समितिका सदस्य चुडामणी खनालले नारायणी सामुदायिकले चाँडै आइएसओको सर्टिफिकेट पाउने दावी गरेका थिए ।
“
