अाजदेखि रिङरोडमा दिउँसो ट्रक र ट्रिपर चलाउन राेक

काठमाडौं । सरकारले काठमाडौंको चक्रपथमा ट्रक, ट्रिपर र मिनीट्रक प्रवेशमा कडाइ गरेको छ । काठमाडौंको बढ्दो ट्राफिक जाम व्यवस्थापनका लागि यो नियम लागु गरिएको हो । यातायात व्यवस्था विभागमा मंगलबार बिहान ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नेपाल ट्रक व्यवसायी महासंघका पदाधिकारी सम्मिलित बैठकमा यस्तो सहमति जुटेको हो ।

“बुधबारबाट चक्रपथभित्र ट्रक, ट्रिपर र मिनि ट्रक चल्न पाउनेछैनन् । तिनीहरुका लागि निश्चित समय तोकिएको छ,” यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने, “बिहान साढे ६ देखि साढे ८ र बेलुका साढे ३ देखि साढे ६ बजेसम्म बाहेक ठूला सवारी चक्रपथमा चल्न पाउनेछैनन् ।”

पूर्वबाट आउनेमा पनि कडाइ

पूर्वबाट राजधानी भित्रिने ट्रक, ट्रिपर र मिनि ट्रकलाई पनि बनेपामा नै रोक्ने व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिए ।

“पूर्वबाट आउने त्यस्ता सवारीसाधनलाई बनेपामा नै रोक्ने व्यवस्था ट्राफिक प्रहरीले मिलाउनेछ,” पाण्डेले भने, “बनेपाभन्दा यताका सवारीसाधनलाई भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले चेक गर्ने व्यवस्था मिलाइएको छ ।”

यस्ता प्रकारका मालवाहक सवारीसाधनको आवागमनमा कडाइ गरिएपछि काठमाडौंको ट्राफिक जाम र सडकको दूरावस्थामा सुधार आउने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । उनले भने, “यो नियम अटेर गरी प्रहरीको आँखा छलेर चलाउने सवारीलाई २ हजारदेखि ५ हजारसम्म जरिवाना गरिनेछ ।”

यसअघि बिहान ७ बजेअघि र बेलुका ८ बजेपछिको समयबाहेक चक्रपथभित्र ट्रक, ट्रिपर र मिनि ट्रक चलाउन नपाइने नियम रहिआएको छ ।

सरकारको यस्तो निर्णयमा ट्रक व्यवसायीहरु पनि सकारात्मक रहेको नेपाल ट्रक व्यववसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । श्रेष्ठले बाह्रखरीसँग भने, “यो नियमको कार्यान्वनपछि कोटेश्वरको जाम व्यवस्थापन हुनेमा हामी सकारात्मक छौं ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *