बलात्कारमा संलग्न दोषीलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ, फागुन २९ । पुल्चोक इञ्जीनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यही फागुन १६ गते पर्सामा बालिकामाथि भएको बलात्कारमा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न माग गर्दै आज विरोध प्रदर्शन गरेको छ ।

युनियनले पीडितलाई उपचारका साथै आवश्यक संरक्षणको व्यवस्था गर्न आग्रह गर्दै उक्त क्याम्पसका विद्यार्थीले यौनशोषण रोक्न खबरदारी तथा धर्ना दिएका हुन् ।

करिब १० बजेदेखि शुरु गरिएको धर्ना एक घण्टापछि विद्यार्थीले त्यस आसपास क्षेत्रमा पदयात्रा गरी महिलाहिंसा विरुद्ध लेखिएका प्लेकार्डलगायत विभिन्न सन्देशमूलक सामग्रीसहित प्रचार गरेका थिए ।

स्ववियु सभापति रोशन थापामगरले पछिल्लो समय महिलामाथि बलात्कार, कुटपिटजस्ता अनेकौं हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो सामाजिक विकृति विरुद्ध समाजका सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले कैलालीमा हालै बोक्सीको आरोपमा बालिका कुटपिट गर्ने दोषीलाई समेत कडा कारबाहीको माग गर्दै समाजलाई दुरगामी प्रभाव पार्ने घटनालाई कसैले पनि राजनीतिक हस्तक्षेप गर्ननहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *