प्रधानमन्त्रीलाई २०८ मतसहितको दुई तिहाई समर्थन, विपक्षमा ६० मत

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई सांसदको विश्वासको मत पाएका छन् । ओलीले २०८ मत पाएका छन् भने विपक्षमा ६० मत खसेको छ ।

कांग्रेसले मात्र ओलीलाई मत दिएनन् । नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् ।

प्रधानमन्त्रीको पक्षमा वाम गठबन्धनका एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, जनमोर्चा र स्वतन्त्र सांसद छक्कबहादुर लामाले मत दिए ।

संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । फागुन ३ गते ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिपक्षमा बस्नु बाध्यता : प्रधानमन्त्री

यसअघि प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्नु बाध्यता भएको बताए ।

‘लोकतन्त्र मास्ला भन्ने कसैलाई विश्वास छैन, प्रतिपक्षको भूमिका निर्बाह गर्दा, कति गाह्रो हुँदो रहेछ,’ ओलीले भने, ‘लोकतन्त्र मासिन्छ भन्ने कुराको चिन्ता कसैले नराखे हुन्छ ।’ लोकतन्त्रका लागि आधा शताब्दीदेखि लडेर आएको भन्दै ओलीले निश्चिन्त रहन आग्रह गरे ।

‘यही रोष्टमबाट धेरैपल्ट भनेको छु, संविधान अपरिवर्तनीय दस्तावेज होइन, औचित्यको आधारमा संशोधन हुन्छ’ ओलीले भने, ‘प्रतिपक्षले खबरदारी गरोस् ।’

साथै उनले आफू सबैको प्रधानमन्त्री भएको बताए ।

‘म प्रधानमन्त्री एमालेको होइन, नेपालको प्रधानमन्त्री हो, त्यस हिसाबले काम गर्छु,’ ओलीले आइतवार संसदको बैठकमा भने, ‘आयुको सीमा हुन्छ, सामर्थको सीमा हुन्छ, ज्ञानको सीमा हुन्छ, म त्यो सीमा अवधिभित्र छु । तर इमानमा सीमा छैन्, सम्पूर्ण इमानका साथ काम गर्छु ।’साथै उनले काम गर्नकै लागि घोषणापत्रमा राखिएको बताए ।

‘अघि यहाँ एकजनाले भन्नुभो, हामी पढेर कण्ठ गरेर आउँछौ र पटक-पटक सवाल उठाउँछौँ, अत्यन्त खुसी लाग्यो, धन्यवाद !’ ओलीले भने, ‘त्यो घोषणापत्र बिहानबिहान पाठ गरेर हामीले पारि तरौँला भन्या होइन, देश बनाउनका लागि घोषणा गर्‍या हो, हामी पारि तर्ने होइन यो देश वारि नै बनाउने भन्या हो ।’

त्यसअघि कांग्रेस सांसद गगन थापाले विगतमा संविधान संशोधनप्रति कठोर भाव व्यक्त गर्ने ओलीले अहिले दुईतिहाइ पुर्‍याउन संशोधनमा सहमति जनाउन लागेको आरोप लगाएका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *