राजपा सरकारमा जाने संकेत, राष्ट्रपतिमा भण्डारीलाई सघाउने

काठमाडौँ, फागुन २५ । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।

राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।

सत्ता नेतृत्वकर्ता एमाले र नेकपा (माओवादी केन्द्र) सँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ ।

महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए । राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । उनले राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न र सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले अर्को मधेशवादी दल संघीयस समाजवादी फोरमलाई सरकारमा ल्याउन संविधान संशोधन गर्ने वाचा गरिसकेका छन् ।

राष्ट्रपति निर्वाचन लगत्तै फोरम सहित सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *