अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन, काठमाडाैँमा हुने

काठमाडौँ, फागुन २५ । फागुन २६ र २७ गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ ।

नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा हुनलागेको सो सम्मेलनमा शाकाहारी परिकारको महोत्सवसमेत हुने संघका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिएका छन् ।

तीसभन्दा बढी देशबाट सहभागी हुन आउने सम्मेलन नेपालमै पहिलोपटक गर्न लागिएको हो । सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र जनावरपालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

उद्योगधन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पुर्याएका छन् । नेपालका चार सय भन्दा बढी प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक तवरले बहस र व्याख्या गरिने संघका महासचिव सुरेश शर्माले बताए ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायत असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ । सम्मेलनको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नेछिन् ।

कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *