एमाले र माओवादी केन्द्रबाट एक जना थारु सभासदलाई मन्त्री बनाउन आग्रह

काठमाडौं, फागुन १४ ।  थारु युवा सभा केन्द्रिय समितिले वर्तमान सरकारमा थारु समूदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मन्त्रिमण्डल विस्तारको पूर्व सन्ध्यामा आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो चेतावनी दिएको हो । समितिका अध्यक्ष कानूनलाल चौधरीले राज्यले थारु समूदायलाई उपेक्षा गरिरहेको इतिहास स्मरण गराए ।

उनले प्रधानमन्त्री ओलीले आज वा भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्न लागेको आफूहरुको जानकारीमा भएकोले अब हुने विस्तारमा थारु समूदायलाई समेट्नेगरि एक जना फुल मन्त्री बनाउनुपर्ने धारणा राखे । यदि वाम गठबबन्धनको नेतृत्वमा बनेको वर्तमान सरकारले थारु समूदायलाई सम्बोधन गर्नेगरि एक जना पनि फुल मन्त्री नबनाए आफूहरुको भावना र सिँगो समावेशिताको भावनामाथि चोट पुग्ने उनको गुनासो थियो ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य एवम् थारु अभियन्ता भगवती चौधरीले अब हुने मन्त्रिमण्डल विस्तारमा एमाले र माओवादी केन्द्रबाट कम्तिमा एक जना थारु सभासदलाई मन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छिन् । नेतृ चौधरीले थारुहरु यो देशको भूमीपुत्र भएको उल्लेख गर्दै भनिन्, ‘थारुहरु सोझो हुन्छन्, आफ्नो अधिकार माँग्न अघि बढ्नपनि लजाउँछन्, स्वाभिमानी हुन्छन् । यही कारणले हरेक चीजमा पछाडि परिरहेका छन् । अब त्यस्तो अवस्था रहेन, मुलुक संघीयतामा गैसकेको छ । सबैको समावेशिता अनुसार अधिकार सुनिश्चित हुनुपर्छ ।

 

त्यस्तै थारु अभियन्ता डा. सुरेन्द्र चौधरीले सरकारमा थारु समूदायको सहभागिता सम्मानजनक रुपमा हुनुपर्ने बताएका छन् । चौधरीले भने, ‘संविधान बनाउन, गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थारु समूदायलाई वर्तमान वाम गठबन्धनको सरकारमा सम्मानजनक रुपमा सहभागी गराउनुपर्छ, यसको लागि म यही मञ्चबाट सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’ उनले सहायक वा राज्यमन्त्री दिए त्यसमा सहभागी नहुन थारु सांसदहरुलाई समेत आग्रह गरे । चौधरीले आफूहरुको मौनतालाई कमजोरीको रुपमा नलिन पनि सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *