असारे विकासप्रति जनताको असन्तुष्टि


किशोर खनाल, भरतपुर । झमझम असारे झरी परिरहेको छ । यही समयमा कतै सडक कालोपत्रे भइरहेका छन् । कतै ग्राबेलिङको काम भइरहेको छ । असार लागेदेखि नै धमाधम सडक निर्माणको काम तीव्र भइरहेका छन् । आर्थिक वर्ष सकिनै लाग्यो, सडकमा परेका बजेट सक्न हारगुहार छ ।
शुक्रबार भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा गरेको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले असारे विकासप्रति व्यापक असन्तुष्टि जनाए । भरतपुर १४ नं वडा शान्तिपुरका निवृत्त शिक्षक हरिप्रसाद आचार्यले असारेमासको झरीमा हतारहतार सडक निर्माणको काम भइरहेको बताए । उनले भने, ‘असारे मासको झरीमा सडक निर्माण गरेर कमसल काम किन भइरहेको छ ?’ उनले समयमै काम सम्पन्न नगरी बेपत्ता हुने ठेकेदारमाथि के कारबाही हुन्छ ?
सार्वजनिक सुनुवाईमा सहभागी भएका सुन्दर संगम क्लबका अध्यक्ष लक्षुराम विकले असारमा बजेट सक्नकै लागि यस्तो झरीमा धमाधम कालोपत्रे गर्ने काम किन भइरहेको छ भनी प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाईमा अधिकांश सहभागीले असारे विकासप्रति असन्तुष्टि जनाएका थिए ।
सहभागीहरुले कतै साँघुरो, कतै भत्केको त कतै ठूलठूला खाल्डाखुल्डी रहेको सडककै गुनासो गरेका थिए । सहभागी कोपिला पराजुलीले पकौडीदेखि जिम्मलचोकसम्मको बाटो पिच हुन नसकेको गुनासो गरिन् । सहभागी शिवप्रसाद तिवारी, पुष्पलता अधिकारी, सीता पुन, हरिकृष्ण गुरुङ, तीर्थराज घिमिरे, कर्णबहादुर गौतमलगायतले सडकको गुनासो गरेका थिए ।
कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशी र वरिष्ठ इन्जिनियर भरतकुमार आचार्य, जनस्वास्थ्यका प्रतिनिधि इन्द्रमणि भण्डारीले जवाफ दिएका थिए ।
कार्यकारी अधिकृत जोशीले उपभोक्ता समिति असारमै बजेट माग्न आउने र त्यतिबेला बजेट पनि भइरहने हुनाले सजिलै पास हुँदा असारको झरीमा समेत सडक निर्माणको काम भइरहेको बताए । उनले भने, ‘तपाइँहरु नै असारमा नै बजेट माग्न आउनुहुन्छ, नपाए राजनीतिक दलको दबाब दिएर भए पनि बजेट लानुहुन्छ । अनि असारे विकासप्रति तपाइँहरु नै असन्तुष्टि जनाउनुहुन्छ किन ?’
कार्यकारी अधिकृत जोशीले असारमा बजेट माग्न जाने, कार्तिकमा किन नजाने ? भदौमा किन नजाने ? भनी सहभागीलाई उल्टै प्रश्न गरेका थिए । उनले भने, ‘म त असारमा बजेट दिन असमर्थ छु । साउनदेखि मंसिरभित्र विकासे बजेटको सम्झौता गर्नुपर्छ । म त पुसमा सम्झौता नै गर्दिनँ ।’
अधिकृत जोशीले अब आउने महानगरका मेयरलगायत जनप्रतिनिधिले असारे विकासलाई रोक्ने विश्वास गरेका थिए । सडक निर्माणमा भएका कमसल सामग्री प्रयोगमा पनि कार्यकारी अधिकृतले उपभोक्ता नै जागरुक हुनपर्ने बताए । उनले भने, ‘घरअगाडिको बाटो बन्दैछ भने त्यहाँका कस्तो सामग्री प्रयोग भएको छ, त्यो हेर्ने जिम्मेवारी तपाइँको पनि हो । कतै सार्वजनिक जग्गा अतिक्रमण भएको छ भने त्यो हेर्ने दायित्व त्यहाँका स्थानीयको पनि रहन्छ ।’
कार्यकारी अधिकृतले जनप्रतिनिधि आइसकेपछि धेरै समस्याहरु हल हुँदै जाने बताए । जनप्रतिनिधिलाई आफ्ना समस्याहरुको चाँडै गुनासो गरेर हल गर्नतर्फ लाग्न पनि कार्यकारी अधिकृतले सुझाव दिएका थिए ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यले जेठ असारमा मात्र उपभोक्ताको घुइँचो लाग्ने नहुनेमा जोड दिए । सहभागीहरुको प्रश्नको उत्तर दिँदै इन्जिनियर आचार्यले भने, ‘आगामी १० महिना हामी कोही पनि नसुतौँ, वर्ष २०७४÷७५ को बजेट आउँदो वैशाख ३१ भित्रै सकौँ ।’
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रतिनिधि इन्द्रमणि भण्डारीले निःशुल्क औषधि नपाइएको गुनासोको उत्तर दिँदै भने, ‘चितवन जिल्लामा ७ करोडको औषधि चाहिन्छ तर एक करोडको बजेटमात्र आउँछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *