गृहिणी महिलालाई आत्मनिर्भर बनाउन च्याउ खेती तालिम

“
धरान, माघ २८ । ग्रामिण महिलाहरूलाई उद्यमशील बनाउन धरानमा दुई दिने च्याउ खेती तालिम प्रदान गरिएको छ । जनप्रेमी क्लबको आयोजना र धरान उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा सो तालिम आयोजना गरिएको हो ।
धरान उपमहानगरपालिका वडा न. १६ का ४० जना महिलाले कार्यक्रममा सहभागिता जनाएको तालिमका सहजकर्ता तीर्थ बहादुर कार्कीले जानकारी दिए ।
सहभागीहरुलाई व्यवसायिक खेतीको महत्वबारे जानकारी दिंदै कृषि फर्म तरहराका रोग बिशेषज्ञ नविन ढंगालले ‘महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको र यसले आयआर्जनका काममा पनि सहयोग गर्ने बताए ।
सुनसरी जिल्लाका विभिन्न बजारमा च्याउको माग धेरै भए पनि त्यसअनुसारको उत्पादन हुन नसकेका कारण च्याउ खेती बृद्धि गर्न समेत तालिमको आयोजना गरिएको जनप्रेमी क्लबकी जयन्ती हुमागाईले बताईन् ।
तालिममा निरन्तर कृषि क्षेत्रमा काम गरेको भए पनि कृषि क्षेत्र त्यसमा पनि बिशेषगरी च्याउ खेतीबाट कसरी फाइदा लिन सकिन्छ, बालबच्चाहरुलाई पालन पोषण गर्न तथा घरायसी रुपमा आत्मनिर्भर बन्न सकिने कुराहरु आफुले सिकेको तालिममा सहभागी पार्वती बस्नेत बताउँछिन् । आफूहरूले कृषि क्षेत्रबाट आयआर्जन गर्न नसकेको र च्याउ खेतीबाट आम्दानी हुन्छ भन्ने कुरा बल्ल थाहा भएको उनले बताइन् ।
महिला उधमशीलताका लागि धरान १६ स्थित चेतना एग्रिकल्चर प्रा लि.मा सो तालिम आयोजना गरिएको थियो ।
“








