‘संघीयता हिराको सिक्रीले बाँधेको भालुजस्तो’

पोखरा, २२ माघ । संघीयताप्रति असहमति जनाउँदै आएको राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले नेपालको संघीयता ‘हिराको सिक्रीले बाँधिएको भालुजस्तो’ भएको टिप्पणि गरेका छन् ।

बाग्लुङबाट निर्वाचित सांसद् थापाले प्रदेश ४ को पोखरामा बसेको पहिलो प्रदेशसभा बैठकमा मन्तव्य राख्ने क्रममा यस्तो बताएका हुन् ।

‘संघीयता जहिलेसुकै हाम्रो असहमति रहेको विषय हो,’ थापाले भने, ‘आज संघीयता हिराको सिक्रीले बाँधिएको भालुजस्तो भएको छ, यसले नेपाली जनतालाई असाध्यै अप्ठ्यारो परिस्थिति सिर्जना गर्नेछ ।’

जनताको शत्रु राजनीतिक भ्रष्टाचार भएको भन्दै उनले प्रदेशसभालाई उत्पीडित जनताको पक्षमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपालमा दक्षिण र पश्चिमको प्रभाव पर्ने गरेको भन्दै उनले त्यस्तो प्रभाव देखिन नहुने बताए ।

बैठकमा  नयाँ शक्ति पार्टीका सांसद् हरिशरण आचार्यले रातारात प्रदेशसभा हल बनाउँदाको खर्च सार्वजनिक गरेर सुशासनको सन्देश दिन प्रस्ताव गरे ।

भ्रष्टाचार अहिलेको मुख्य समस्या रहेको भन्दै उनले संघीयताको सफलताका लागि पारदर्शिता जरुरी भएको बताए । ‘प्रदेशमा सम्भावना नै  सम्भावना भए पनि कार्यान्वयन चुनौतीपूर्ण छ,’ आचार्यले भने, ‘रातारात हतार-हतारमा सभाहल निर्माण गर्दा लागेको खर्च सार्वजनक गरेर सुशासनको सन्देश दिन सक्छौँ ।’

विगतमा पनि विकास र समृद्धिका प्रतिबद्धता गरिए पनि प्रतिबद्धता पूरा गरेर देखाउनेहरुको कमीले गर्दा मुलुकको यो दुर्दशा भएको उनले बताए ।

‘समृद्धिको लागि दक्षिण वा उत्तर फर्केको दर्शनभन्दा फरक दर्शन जरुरी छ,’ आचार्यले भने । नयाँ शक्तिले सुशासन र पारदर्शितालाई राजनीतिक एजेण्डा बनाएको छ ।

प्रदेशसभाको पहिलो बैठकमा मन्तव्य राख्दै एमालेका पृथ्वी सुव्वा गुरुङले पर्यटकीय सम्भावना बोकेको प्रदेश नम्बर ४ लाई समृद्ध बनाउने बताए । मुस्ताङको युरेनियमदेखि जलस्रोतको विकासमार्फत प्रदेशलाई समृद्ध बनाउने उनको भनाइ छ ।

सांसद गुरुङले हिमालदेखि तराईसम्म फैलिएको प्रदेशमा स्वर्गीय हर्क गुरुङले दिएको सुभावअनुसार समावेशी विकास गर्ने पनि बताए । औद्योगिकरूपमा कमजोर रहेको ४ नम्बर प्रदेशलाई ५ वर्षमा ३ नम्बर प्रदेशभन्दा पनि समृद्ध र शिक्षित बनाउने उनको प्रतिबद्धता छ ।

नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले विविदतापूर्वक प्रदेशको विकासका लागि नेपाली कांग्रेसको पूर्ण समर्थन रहने बताए । उनले कालीगण्डकी–मस्र्याङ्दी करिडोरमा जलविद्युत्को विकास र अन्नपूर्ण पदमार्गमार्फत पर्यटनको विकास गर्न सकिने बताए ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले संघीयताको व्यवस्थित ढंगले कार्यान्वयन गर्ने महत्वपूर्ण अवसर आएकोले यसलाई सफल बनाउनुपर्ने बताए । उनले प्रदेशसभाको अधिकार कटौती गर्ने आवाजविरुद्ध संघर्ष गरेर प्रदेशलाई अधिकार सम्पन्न गर्न सकिने बताए ।

४ नम्बर प्रदेशमा धेरै अवसर रहेको भन्दै उनले पर्यटन, जलस्रोत, कृषि र उद्योगको नेतृत्व गर्न सक्ने गरी योजना निर्माण गर्नुपर्ने बताए ।

 

जेष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश सभाको पहिलो बैठकमा नेकपा एमालेका किरण गुरुङले पनि प्रदेशको समृद्धिका लागि सबै मिलेर लाग्नु पर्ने बताए । नेपाल एकीकरणका अग्रणी पृथ्वीनारयाण शाहको जन्म भएको प्रदेशबाट समृद्ध नेपालको अभियान शुरु हुने उनले बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =