कक्षा ११ : ढाड भाँच्ने शुल्क

किशोर खनाल, भरतपुर । कक्षा ११ को भर्ना तथा मासिक शुल्कको हकमा कलेजपिच्छे नै मनोमानी छ । अब कक्षा ११ लाई कलेज भन्न मिल्दैन, तर पनि कतिले कलेज भनेर आफूखुसी भर्ना र मासिक शुल्क लिएर अभिभावकको ढाड सेकेका छन् । कक्षा ११ को भर्ना शुल्क र मासिक शुल्कमा कसैले अंकुश लगाएको छैन । त्यसैले विद्यालय पिच्छे नै भर्ना र मासिक शुल्क फरकफरक छ । जिल्ला शिक्षा कार्यालयले कक्षा ११ को शुल्कमा अंकुश लगाउने अधिकार नभएको जनाएको छ भने हिसानले समेत शुल्कमा अंकुश लगाउन नमिल्ने बताइरहेको छ ।

अभिभावक र विज्ञहरु कक्षा ११ को शुल्क महँगो भनिरहने र सञ्चालकहरु सेवा सुविधा र शिक्षाको गुणस्तरको आधारमा शुल्क मध्यम रहेको बताउने काम यति बेला भइरहेको छ । चितवनमा संस्थागत रूपमा कक्षा ११ सञ्चालन गर्नेहरुको शुल्कभन्दा सामुदायिकहरुले सञ्चालन गरेको कक्षा ११ को शुल्कमा आधाभन्दा पनि कम छ । चितवनका सहायक जिल्ला शिक्षा अधिकारी ज्ञानहरि पौडेलले जिल्ला शिक्षा कार्यालयले कक्षा ११ को हकमा लिइने शुल्कमा अंकुश लगाउने अधिकार नभएको बताए । उनले भने, ‘कक्षा १० सम्म शुल्का अंकुश लगाउन सक्ने अधिकार छ, ११ को हकमा छैन । कक्षा ११ को शुल्क निर्देशिका हामीसँग छैन, १० सम्मको छ । कक्षा ११ मा जतिसुकै शुल्क लिए पनि हामी केही गर्न सक्दैनौँ ।’

उनले कक्षा ११ को शुल्कमा शिक्षा विभागले र राष्ट्रिय परीक्षा बोर्डले अंकुश लगाउन सक्ने बताए । उनले भने, ‘११ र १२ लाई जिल्ला शिक्षा कार्यालयले हेर्ने भनिए पनि मन्त्रालयबाट ऐन नियमहरू केही आउन नसक्दा कक्षा ११ को शुल्कमा केही गर्न सकिँदैन ।’ हिसानका सहकोषाध्यक्ष दीपक राउतले कक्षा ११ को मासिक तथा भर्ना शुल्क हिसानले तोक्न नसक्ने बताए । ‘शुल्क निर्धारणको काम जिल्ला शिक्षा कार्यालयले गर्नुपर्ने हो, हिसानले शुल्क तोक्न मिल्दैन ।’ शिक्षा मन्त्रालय, विभाग, जिशिका, हिसान कुनै पनि निकायले कक्षा ११ को मासिक शुल्क र भर्ना शुल्कमा अंकुश नलगाइँदा सञ्चालकबाट मनोमानी बढ्दै गएको हो ।

महँगो विज्ञापन, ठुला तथा आकर्षक भवन र पर्याप्त सेवासुविधाको कारणले अभिभावकलाई विद्यार्थीको पढाइमा मोटो रकम खर्चन बाध्य पारिएको छ । हिसान चितवनका अध्यक्ष भुपेन्द्र धितालले चितवन जिल्लामा साइन्समा कक्षा ११ को भर्ना र मासिक शुल्कमा करिबकरिब एकरुपता भएको बताए । उनले भने, ‘साइन्सको हकमा एकरुपता छ । म्यानेज्मेन्टको हकमा एकरुपता छैन । यसमा पहल भएर पनि एकरुपता गर्न सकिएन ।’

उनले कक्षा ११ मा भर्ना तथा मासिक शुल्कमा गत वर्षको भन्दा एक रुपैयाँ पनि बढाउन नमिल्ने बताए । शिक्षा नियमावलीमा सेवा सुविधाको आधारमा न्यूनतम मासिक शुल्क लिनुपर्ने र तीन महिनाको मासिक शुल्कमा नबढ्ने गरी भर्ना शुल्क लिनुपर्ने प्रावधान छ । तर यो नियम नियमावलीमा मात्र सीमित छ । कार्यान्वयनमा आएको छैन । सनराइज स्कुलका प्रिन्सिपल टेकबहादुर श्रेष्ठले स्वस्थ प्रतिस्पर्धा नभएर नै शुल्कमा एकरुपता नआएको बताए । उनले भने, ‘यहाँ अस्वस्थ प्रतिस्पर्धा फस्टाएको छ । त्यसैले भर्ना र मासिक शुल्कमा एकरुपता नभएको हो ।’

वाल्मीकि शिक्षा सदनका प्रिन्सिपल देशवन्धु अधिकारीले गत सालको शुल्कमा एक रुपैयाँ पनि नबढाइएको बताए । अरोमा कलेजका प्रिन्सिपल शेरबहादुर केसीले जिल्ला हिसानको धारणाअनुसार नै शुल्क निर्धारण गरेको जानकारी दिए । चितवनमा विद्यालयपिच्छे नै कक्षा ११ को भर्ना तथा मासिक शुल्क फरकफरक छ । कक्षा १० सम्म त श्रेणीअनुसार भर्ना तथा मासिक शुल्क तोकिएको छ । तर ११ को हकमा फरकफरक शुल्क हुँदा अभिभावक अन्यौलमा परेका छन् भने विद्यालयहरुको मनोमानी बढ्दो छ । चितवनमा कक्षा ११ को साइन्सको भर्ना शुल्क २५ हजारदेखि ३० हजारसम्म छ । मासिक शुल्क २५ सयदेखि तीन हजारसम्म छ । यो शुल्कको तुलनामा सामुदायिकतर्फ आधा कम छ । चितवन माविमा साइन्सको मासिक शुल्क जम्मा १४ सय छ । भर्ना शुल्क पनि १४ हजारभन्दा बढी छैन । तर संस्थागत विद्यालयतर्फको कक्षा ११ को भर्ना र मासिक शुल्कमा यसको दोव्बर छ ।

संस्थागततर्फ म्यानेजमेन्टमा १० हजारदेखि २० हजारसम्मा भर्ना शुल्क छ भने मासिक शुल्क १५ सयदेखि ३ हजारसम्म छ । ‘विद्यालय तहमा शुल्क निर्धारणका लागि नियम छ, त्यही नियम कक्षा ११ र १२ को हकमा पनि भयो भने मनोमानी बढ्ने थिएन’ अभिभावक चिरञ्जीवी देवकोटाको भनाइ छ । उनले भने, ‘अभिभावकको ढाड भाँच्ने गरी शुल्क लिने परिपाटीलाई कसले अंकुश लगाउने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *