महिला शसक्तिकरणलाई उठाउन तीन महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं, माघ ८ । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि अप्रिल ७ तारिखदेखि सगरमाथाको आरोहण गर्न लागेका हुन् ।

आरोहणको नेतृत्व गरेकी लाक्पा याङजी शेर्पाले पर्यटन क्षेत्रको प्रबद्र्धनका साथै पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ सगरमाथा आरोहण गर्न लागेको जानकारी दिईन् । त्यस्तै आरोहण दलका सदस्यहरु याङडी शेर्पा, र पाशाङ ल्हामु शेर्पाले महिलाहरुको शसक्तिकरणको विषयलाई आफुहरुले प्राथमिकता दिएको जानकारी दिए ।

उनीहरुले आफुहरुको आरोहणकाक्रममा र आरोहणपछि फर्किसकेपछि बैदेशिक रोजगारीबाट फर्किएका पीडित महिलाहरु, दलित महिलाहरु र एकल महिलाहरुलाई सहयोग गर्ने उदेश्य रहेको पनि बताए । साथै त्यस्ता महिलाहरुलाई पर्यटन क्षेत्रमा आकर्षित गराई उनीहरुको आयआर्जन वृद्धि गराउँदै यसै क्षेत्रबाट आत्मनिर्भर गराउन लागि परेको पनि जनाए ।

आरोहणकाक्रममा महिला पर्वतारोहीहरुले पर्यटन पत्रकार संघ (जाट–नेपाल)को लोगो अंकित झण्डा सगरमाथा सम्म पुर्याउनेछन् । साथै प्रबद्र्धनका कार्यमा सहयोग जाट–नेपालले सहयोग गर्ने छ र उक्त द्धिपक्षिय सम्झौतामा जाट नेपालका महासचिव हरिशरण न्यौपाने र एक्पिडिसनका टिम लिडर लाक्पा याङजी शेर्पाले समझादारी पत्रमा हस्ताक्षर सम्पन्न गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

मौसमले साथ दिएमा मे १८ तारिखमा समिटमा पुग्ने उनीहरुको अनुमान छ । एसेन्ट हिमालयन ट्रेक एण्ड एक्पिडिसन कम्पनीमार्फत उनीहरु आरोहणमा जान लागेका हुन् । एभरेष्ट हार्डवेयरले आरोहणकाक्रममा आवश्यक सबै सामानहरु उपलब्ध गराउने बताईएको छ । आरोहणकाक्रममा प्रतिव्यक्ति ३७ लाख ३७ हजार ५ सय रुपैंया र तीन जनाको गरी कुल १ करोड १२ लाख १२ हजार ५ सय रुपैंया खर्च हुने देखिएको बताईएको छ ।

उनीहरुलाई आरोहणकाक्रममा नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ(एनएमए), ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल(टान), नेपाल नेशनल माउन्टेन गाइड एसोसियसन(एनएनएमजीए), नेपाल माउन्टेनेरिङ इन्ष्ट्रक्टर एसोसियसन लगायत संस्थाहरुले सहयोग गर्दैछन् । यस आरोहणकाक्रममा एक्सोडस ट्रेकिङ कम्पनी, एसियन अल्पाईन ट्रेक्स एण्ड एक्पिडिसन, भर्जिन नेपाल ट्रेक्स एण्ड एक्पिडिसन, शेर्पा ब्रदर ट्रेक्स एण्ड एक्पिडिसन, ग्रामर पब्लिक स्कूल लगायतले पनि सहयोग गरेको छ । जुन २ तारिखसम्ममा हामी सगरमाथा आरोहण सम्पन्न गरी काठमाडौ फर्किने उनीहरुको कार्यक्रम रहेको छ ।

३ आरोहीहरुको विवरण यसप्रकार छः–

लाक्पा याङ्जी शेर्पा
लाक्पा याङ्जी शेर्पाको ट्रेकिङ क्षेत्रमा १० वर्षको अनुभव रहेको छ । यसका साथै पर्वतारोहणका लागि आवश्यक सम्पूर्ण तालिमहरु लिईसकेको छिन् । शेर्पाले राम्दुङ पीक(५९३० मिटर), पिसाङ पीक (६०९१ मीटर), आईसल्याण्ड पीक (६१८९ मीटर),चुलु फार इष्ट पीक (६०५९ मीटर) का हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।

याङ्डी शेर्पा
याङ्डी शेर्पाको ट्रेकिङ क्षेत्रमा ५ वर्षको अनुभव रहेको छ । यसका साथै पर्वतारोहणका लागि आवश्यक सम्पूर्ण तालिमहरु लिईसकेको छिन् । उनले मेरा पीक(६४७६ मीटर), आईसल्याण्ड पीक (६१८९ मीटर),राम्दुङ पीक(५९३० मिटर), लबुचे पीक(६११९ मीटर) का हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।

पाशाङ ल्हामु शेर्पा
पाशाङ ल्हामु शेर्पाको ट्रेकिङ क्षेत्रमा १३ वर्षको अनुभव रहेको छ । यसका साथै पर्वतारोहणका लागि आवश्यक सम्पूर्ण तालिमहरु लिईसकेकी छिन् । उनले राम्दुङ पीक(५९३० मिटर), आईसल्याण्ड पीक (६१८९ मीटर) र मेरा पीक(६४७६ मीटर) का हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =