स्थानीय तहको चुनावमा कुन दल बन्ला चौथो शक्ति ?

असार १९, काठमाडौं । दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो दल बन्ने दिशामा अग्रसर हुँदा कांग्रेस दोस्रोमै सीमित हुनुपर्ने देखिएको छ । माओवादीको तेस्रो स्थान सुरक्षित भइसकेको अवस्थामा अब स्थानीय तहमा चौथो शक्ति कुन दल होला भनेर अनुमान गर्न कठिन छ । यो प्रश्न राप्रपा चौथो शक्ति नरहने संकेत देखिएपछि उठेको हो । सोमबार बिहान ३३४ स्थानीय तहमध्ये करीब दुई तिहाईको परिणाम आउँदा चौथो स्थानका लागि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बिजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र उम्मेदवारी दिएका राजपा कार्यकर्ताहरु चार स्थानमा अग्रस्थानमा छन् ।

अहिलेसम्म संघीय फोरम ६ स्थानीय तह जितेर चौथो स्थानमा छ । फोरमले कपिलबस्तुको मायादेवी गाउँपालिका, रुपन्देहीका रोहिणी, मर्चवारी र गैडहवा गाउँपालिका, बाँकेका नरैनापुर गाउँपालिका, सुनसरीको भोक्राहा गाउँपालिका जितेको छ । रुपन्देहीका ३ स्थानीय तहमा फोरमले अग्रता लिइरहेको छ । एउटामा प्रतिस्पर्धा गरिरहेको छ । बाँकेको एउटा स्थानीय तहमा फोरम प्रतिस्पर्धामा छ । त्यस्तै, सुनसरीमा पनि एउटा स्थानीय तहमा फोरमले अझै अपेक्षा गरेको छ ।

उता फोरम लोकतान्त्रिकले ४ स्थानीय तह जितेर पाँचौ स्थानमा छ । गच्छदारको गृहजिल्ला सुनसरीमा बर्जु गाउँपालिका र दुहवी नगरपालिका जितेको छ भने नवलपरासीको सरावल र कैलालीको जानकी गाउँपालिका जितेको छ । फोरम लोकतान्त्रिक कैलालीको एउटा स्थानीय तहमा अग्रता लिइरहेका छ । त्यस्तै, सुनसरी र मोरङका दुई स्थानीय तहमा अग्रता लिइरहेको छ । अग्रता लिएका ठाउँमा जित्न सकेमा उपेन्द्रलाई गच्छदारले टक्कर दिन सक्छन् । राजपाले चुनावमा भाग नलिए पनि राजपाका स्वतन्त्र उम्मेदवारहरु रुपन्देही र कपिलबस्तुका केही स्थानीय तहमा प्रतिस्पर्धामा अग्रस्थानमा छन् । तर, राजपा चौथो स्थानमा आउने सम्भावना देखिन्न ।

अशोक राईसँगको एकता औचित्यहीन

संघीय समाजवादी फोरमले यसपटक अझ बढी परिणामको अपेक्षा गरेको थियो । तर, पूर्वी पहाडमा फोरमको लज्जास्पद प्रदर्शन हुन पुग्यो । यो चुनावी परिणामले अशोक राईको संघीय समाजवादीसँगको एकीकरणले उपेन्द्रलाई कुनै फाइदा देखिएन । अशोक राई, रकम चेम्जोङ, हेमराज राई, अजम्बर काङमाङ, आङकाजी शेर्पा, रणध्वज कन्दङ्वा जस्ता ‘हेभी वेट’ नेताहरुको जिल्लामा संघीय फोरमले कुनै पनि स्थानीय तह जित्न सकेन । आदिवासी जनजाति बहुल्य ती जिल्लामा एमालेले अधिक तह जित्यो ।

भोजपुरको टेम्के मैयुम गाउँपालिकामा केन्द्रीय नेता रामसिंह राईलाई जिताउन संघीयले कांग्रेससँग तालमेल गरे पनि सकेन । त्यस्तै, धनकुटामा कांग्रेससँग तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको फोरमले एउटा वडा अध्यक्षमा सिमित भयो । चर्का कुरा गर्ने आङकाजीको जिल्ला सोलुखुम्बुमा फोरमले कुनै पनि स्थानीय तहमा जमानत समेत जोगाउन सकेन । खोटाङमा एउटा वडा अध्यक्षमात्र जितेको छ । पूर्व पहाडमा अशोक राईहरुको प्रभाव समाप्त भएको यो चुनावले देखाएको छ ।

अशोक राईसँगको पार्टी एकता उपेन्द्रका लागि चुनावी गणितका हिसाबले फाइदाजनक नरहेको पहिलो चरणको चुनावमा पनि देखिएको थियो । पहिचानको राजनीतिक नाराले काठमाडौं उपत्यकाका नेवार मतदातामा कुनै असर गरेको देखिएन । त्यस्तै, तामाङ र गुरुङ बाहुल्य रहेका ३ र ४ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले कतै पनि जित्न सकेन ।

बाबुराम भट्टराईको नयाँ शक्तिसँग मिलेर एउटै चुनाव चिन्हमा लडेपनि उपेन्द्रलाई कपिलबस्तुको एउटा गाउँपालिका बाहेक अन्य बाबुरामको भोटले कतै पनि जिताउन सकेको देखिएन । अब संघीय फोरमले २ नम्बर प्रदेशको नतिजामा धेरै अपेक्षा गरेको छ । मधेस आन्दोलनको मुख्य केन्द्र भएको र फोरमको संगठन पनि राम्रो भएको प्रदेश २ नम्बर नै हो । पछिल्लो समय फोरममा धेरै मान्छे प्रवेश गरिरहेकाले पनि फोरमले अहिले चौथो स्थान कायम राख्दै तेस्रो चरणमा राम्रो प्रदर्शन गर्ने रणनीतिमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *