लौ सुन्नुस् रौनियारको राम कहानी

खगेन्द्र अधिकारी । ‘हजुर पहिले पनि एक नम्बरमै हुँदा पनि सहयोग भएन, चित्त बुझाँए । यसपल्ट चाहिँ खाली हात फर्कन नपरोस्, मलाई दासले टिक्न दिँदैन, पावरलेस भएर बस्नुभन्दा राजीनामा दिन्छु । पार्टी र प्रतिष्ठानको हितमा काम गर्न जस्तो सुकै सम्झौता गर्न तयार छु’ यस्तै रुवाई गर्दै नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला कहाँ दुई महिनासम्म धाए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकूलपति डा. राजकुमार रौनियार ।
दुई महिनासम्म दिनरात, घामपानी केही नभनी बालुवाटार, सिंहदरबार, बुढानिलकण्ठ गर्दा १४ करोड बुझाएर पाएको पदबाट एकैपटक अरबौं कमाउने नियतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई डुवाउने षड्यन्त्रमा अनेक हतकण्डा अपनाईरहेका छन् उनी ।
सरकारले प्रतिष्ठानका लागि चालु खर्च र पुजिगत खर्च अन्र्तगत बर्सेनि करोडौं अनुदान दिएपनि प्रतिष्ठानका उपकूलपति र डाइरेक्टरले अस्पतालको स्वास्थ्य सेवा सुधार्नुको सट्टा सरकारको पैसालाई व्यक्तिगत आम्दानी बनाएर मनपरी गर्दै आएका छन् । सरकारले स्वास्थ्य सेवा सुधार्न र प्रतिष्ठानमा निर्माण हुने भौतिक संरचनाका लागि विनियोजन गरेको रकममा प्रतिष्ठानका उपकूलपति प्रा.डा. राजकुमार रौनियारको हालिमुहाली छ । भने, उनलाई प्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएका छन् रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, भर्खरै नियुक्त भएका अस्पताल निर्देशक डा. गौरी शङ्कर शाह । पछिल्लो जानकारी अनुसार डा. गौरीशंकर शाहले सरकारले अस्पताल निर्देशक नियुक्त गर्दा दिएको पत्र अहिलेसम्म प्रतिष्ठानको प्रशासनलाई बुझाएका छैनन् । उनी अस्पताललाई पत्र नै नबुझाई हाजिरी पकाउँदै छन् ।

‘सरकारले दिने अनुदान, विद्यार्थीको शुल्क तथा अस्पताल सेवाबाट आउने आम्दानी समेत प्रस्ट नहुँदा प्रतिष्ठानमा आएका पदाधिकारीलाई प्रतिष्ठान लुटि खाने भाँडो भएको छ’

अस्तव्यस्त स्वास्थ्य सेवा
प्रतिष्ठानले पछिल्ला तीन वर्षमा जति सेवा सुविधा विस्तार ग¥यो त्यही विस्तारित सेवालाई निरन्तरता दिन र नयाँ सेवा सुचारु गर्न उपकूलपति असफल भएका छन् ।
अहिले कमजोर व्यवस्थापनका कारण प्रतिष्ठानले दिँदै आएको स्वास्थ्य सेवा गिर्दो छ । एक वर्ष अघिसम्म इमरजेन्सी सेवालाई मुलुककै व्यवस्थित र उच्चस्तरीय भनिन्थ्यो । अहिले एउटा शौचालय समेत व्यवस्थित गर्न सकेको छैन । बिरामीलाई बेडको अभाव छ, भुईमा राखेर उपचार गरिन्छ ।
प्रतिष्ठानको उपकूलपति भएर आएको एक महिना भईसक्दा पनि डा. राजकुमार रौनियारलाई राजनीतिक दलहरूको सम्मान खाँदैमा फुर्सद छैन । उनले प्रतिष्ठानको इमरजेन्सी वृद्धि गर्ने उपकूलपति हुनु अघि नै घोषणा गरे पनि अहिलेसम्म कुनै काम अघि बढाउन सकेनन् ।  
आइसियू र एनअआइसियू कमाउने भाँडो
प्रतिष्ठानमा १२ ओटा आइसियू कक्ष छन् । आइसियू कक्ष विस्तार नगर्दा पूर्वाञ्चलका गम्भीर प्रकृतिका बिरामीलाई ठुलो मर्का परेको छ । उपकुलपति डा. रौनियार आइसियू र एनआइसियू कक्ष विस्तार गर्नुको सट्टा गम्भीर आइसियू एनआइसियूमा आउने बिरामीलाई विराटनगरका निजी अस्पतालहरुमा पठाउँदै कमिसन खाने धन्धामा लागेका छन् । ६ ओटा एनआइसियूमा सबै वेड राम्ररी सञ्चालन हुँदैनन् । डायलाईसिस कक्षका ६ ओटा बेडमा बिरामीको भिड थामिन सक्नुको छ । अन्य तिर सेवा विस्तार गरेर आम्दानी बढाइन्छ, तर, प्रतिष्ठानमा आम्दानी घटाइन्छ ।
गुणस्तरहीन खाना
प्रतिष्ठानले वार्डमा भर्ना भएका बिरामीलाई खाना प्रदान गर्ने गर्दछ । उक्त खाना स्वस्थकर र स्तरीय नभएको भन्दै बारम्बार गुनासो आएपनि प्रतिष्ठानले सुधार्न चाहेको छैन । यसरी बिरामीलाई खाना उपलब्ध गराउँदा प्रतिष्ठानले शुल्क भने लिन्छ ।
असुरक्षित होस्टल
प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीका लागि प्रतिष्ठान हाताभित्रै होष्टलमा बस्ने सुविधा छ । तर, होष्टलको सुरक्षाका विषयमा प्रतिष्ठान गम्भीर छैन । खासगरी महिला होष्टलमा बाहिरबाट उछ्रङ्खल व्यक्तिहरूले महिला विद्यार्थीलाई गलत नजरले जिस्क्याउने गर्नाले महिला विद्यार्थीहरू आजित छन् ।
जीर्ण भए भवनहरू
प्रतिष्ठानले कार्यरत चिकित्सक तथा कर्मचारीका लागि आवासको सुविधा दिएको छ । तर, उचित मर्मत संहार नपुग्दा धेरै आवास भवनहरू जिर्ण बनेका छन् । धेरैको छानाबाट वर्षायाममा तपतप पानी चुहिन्छ । प्रतिष्ठानमा निर्माण भएका अधिकांश संरचना पुराना र कमसल सामग्रीबाट तयार गरिएका छन् ।
भौतिक सम्पत्ति के कहाँ छ ?
प्रतिष्ठान हाताभित्र केही व्यापारीलाई सेटिङमा अस्पताल फार्मेसी देखि ब्यूटी पार्लर, कुरियर्स सेवा, स्टेशनरी, किराना पसल र होटेल समेत सञ्चालन गर्न दिइएको छ । भवन र सटरबाट वार्षिक लाखौँ रुपैंया आम्दानी हुने गरे पनि प्रतिष्ठानले कौडीको भाउमा दिएको छ । प्रतिष्ठान हाताभित्रका भौतिक सम्पत्ति के कस्तो अवस्थामा छ प्रतिष्ठानको कुनै विभागलाई थाहा छैन ।
३५ करोड खै ?
प्रतिष्ठानका निवर्तमान उपकूलपति डा. वीपी दासले आफ्नो कार्यकाल पुरा गरेर फिर्ता हुँदा प्रतिष्ठानको पोल्टामा करिब ३५ करोड बढी आम्दानी दिएको दाबी गरेका थिए । तर, अहिले प्रतिष्ठानमा ‘सुको पैसा छैन’ भन्दै उपकूलपति डा. रौनियार मन्त्रालयसँग हार गुहार गर्न व्यस्त छन् । प्रतिष्ठान स्रोतका अनुसार डा. रौनियारले प्रतिष्ठानको पैसा विभिन्न राजनीतिक दलहरूलाई चुनावी खर्च भन्दै वितरण गरेका छन् ।
सरकारलाई बजेट माग्दै कमिसन खाँदै
सरकारले प्रतिष्ठान व्यवस्थापनका लागि बजेट दिँदैन । यही कुराको फाइदा उठाउँदै डा. रौनियार प्रतिष्ठानमा कसरी नयाँ उपकरण भित्र्याउने, कसरी विल्डिङ बनाउने र कसरी व्यापारी ठेकेदारबाट कमिसन खाने भन्ने ध्याउन्नमा छन् । यसका लागि उनले आफ्नै मातहतका केही व्यापारी र ठेकेदारलाई अघि सारेका छन् । उनले कानुनी सल्लाहकार भन्दै धनकुटाका देवेन्द्र कार्कीलाई नियुक्त गरेका छन् । उनी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका निकटका व्यक्ति हुन् । यस्तै गरी विराटनगरका इन्जिनियर विष्णु तिवारीलाई पनि कन्सल्टेन्ट भनेर नियुक्त गरेका छन् । यिनले प्रतिष्ठानमा निर्माण हुने विभिन्न भवनहरुको ठेक्का पट्टा लगाउने तथा कमिसनको डील गर्ने गर्दछन् ।
सेटिङ नमिलेर अरबौंको ठेक्का अलपत्र
प्रतिष्ठानले यसै आर्थिक वर्षमा निर्माण कार्य सुरु गर्ने गरी जेठ १७ गते २ सय बेड क्षमताको कोर्डियोलोजी सेन्टरको बोलपत्र सार्वजनिक ग¥यो । तर, पुनः असार १६ गते अर्को सूचना प्रकाशित गरी विविध कारणले बोलपत्र रद्द गरिएको जनायो । तर, वास्तविकता १ अर्ब ६२ करोडको लागतमा निर्माण हुने कार्डियोलोजी सेन्टरमा ठेकेदार र कन्सल्टेन्सीसँग कमिसनको कुरा मिलेन । त्यसपछि उपकूलपतिले टेण्डर रद्द गरे । स्रोतका अनुसार रौनियारले केही ठेकेदारलाई १५ प्रतिशत दिए काम हुने नत्र नहुने भन्दै वार्गेनिङ गरेका छन् । ‘हामीले ८ प्रतिशत सम्म दिने कुरा गरेकै हो, उहाँले १५ प्रतिशत भए काम गरौँ नत्र हुँदैन भन्नु भयो, हामीले सक्दैनौं भनेर हात झिक्यौं ।’ काठमाडौँका एक ‘क’ वर्गका एक ठेकेदारले नाम नबताउने सर्तमा भने ।
डा. रौनियारको वार्गेनिङले प्रतिष्ठानमा आउन लागेको कार्डियोलोजी सेन्टर अलपत्र परेको छ नै, सरकारले त्यसकै लागि भनेर यस आर्थिक वर्षमा छुट्याएको १७ लाख बजेट पनि फिर्ता जाने अवस्थामा छ । कार्डियोलोजी सेन्टरका लागि सरकारसँग कुनै बजेट नभईकन डा. रौनियारले अर्थ मन्त्रालयका केही सहसचिव तहका कर्मचारीलाई प्रभावमा पारेर पैसा निकासा गर्ने दाउ गरे पनि फेल खाएका छन् ।
बजेट छैनः अर्थ मन्त्रालय
सरकारले लागत स्वीकृत नै नगरेको कार्डियोलोजी सेन्टरलाई यस वर्ष उनले ६७ करोड माग गरे पनि अर्थ मन्त्रालयले दिन नसक्ने भएको छ । मन्त्रालयका एक सहसचिवले सरकारबाट स्वीकृत नै नगराई एकै पटक फायल ल्याएर बजेट माग गर्नेलाई ‘सुको’ बजेट दिन नसक्ने बताए । ‘६५–६७ करोड बजेट चाहियो भनेर स्वास्थ्यबाट फाइल आएको छ, तर, यो वर्ष निर्वाचनमा अधिकाश बजेट खर्च भएकोले वीपी प्रतिष्ठानलाई बजेट दिन सक्ने अवस्था छैन ।’ मन्त्रालयका एक सहसचिवले बताए ।
यस योजनामा परामर्शदाता केज कन्सल्टेन्सी नियुक्ति देखि गलत तरिकाले निकालिएको लागतसम्मको छानबिन नहुने हो भने यसैबाट डा. रौनियारले आफू उपकुलपति नियुक्त हुँदा काँग्रेस नेता कृष्ण सिटौलालाई बुझाएको ११ करोड, गगन थापालाई बुझाएको ३ करोड र प्रचण्डलाई बुझाएको २ करोड एकै पटक उठाउने योजना बनाएका छन् ।


बिना पैसा ४० करोडको टेण्डर
प्रतिष्ठानसँग यस आर्थिक वर्षमा विभिन्न मेडिकल उपकरण खरिद गर्न रु १३ करोड बजेट छ । तर, निश्चित व्यापारी र मेडिकल माफियासँग साठगाठ गरेर डा. रौनियारले आफू नियुक्ति भएको ४ महिना भित्र ४० करोडको उपकरण खरिद गर्ने टेण्डर गरिसकेका छन् । उक्त टेण्डरमा डा. रौनियारले २० प्रतिशत कमिसन पाउने सर्त छ । ‘के गर्ने काम गर्नै प¥यो । कमिसन दिएन भने अर्कोले फुत्काउँछ, बरु रेट बढायो टेण्डर पा¥यो । हाम्रो एक पैसा जाने हैन क्यारे ।’ एक मेडिकल उपकरण व्यापारीले भने ।
काठमाडौँका एक ठुला मेडिकल उपकरण आयातकर्ताले डा. रौनियार प्रतिष्ठानमा हुँन्जेल प्रतिष्ठानमा पाइलै नटेक्ने कसम खाएका छन् । ‘म सिधा हिसाबले काम गर्ने मान्छे हुँ, मलाई वीपी नहुँदा पनि केही हुन्न तर, रौनियार रहुन्जेल प्रतिष्ठान टेक्दिन’ ती व्यापारी भन्छन् ।
रजिष्ट्रार नाम मात्रका
डा. रौनियार उपकूलपति हुने बित्तिकै सबैभन्दा बढी पिडा प्रतिष्ठानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठलाई परेको छ । उनलाई उपकूलपतिले कुनै कामै नदिई ‘भित्ते रजिष्ट्रार’ बनाएका छन् । उनी अहिले प्रतिष्ठानमा अफिस जाने, हाजिर गर्ने  काम मात्र गर्छन् । रजिष्ट्रार उपकुलपति र निर्देशकले कुन काममा कति कमिसन खाए भनेर हिसाब गर्ने र  प्रतिष्ठानका शिक्षक, कर्मचारी माझ गुनासो पोख्ने मात्र गर्छन् । रजिष्ट्रारको सबै अधिकार उपकुलपति आफैले राखेका छन् । एमाले निकट रजिष्ट्रार यति बेला पूर्वाञ्चलका एमाले नेताहरूलाई हार गुहार गर्दै सर्वोच्चमा पठाईदिन अनुरोध गर्दै बसेका छन् ।
वरिष्ठ चिकित्सक असन्तुष्ठ
उपकुलपति डा. रौनियारको कार्यकालको ४ महिना भित्रै प्रतिष्ठानभित्र र धरानका राजनैतिक दल र नागरिक समाज भित्र असन्तुष्टीले ‘भुसको आगो’को रूप लिएको छ । स्थानीय निकायको निर्वाचन सकिएपछि डा. रौनियारको कमिसन तन्त्र र अब्यबस्थाको विरुद्ध प्रतिष्ठान भित्रका वरिष्ठ चिकित्सकहरु तथा एमाले र माओवादी निकट व्यक्तिहरूले आन्दोलन नै गर्ने तयारीमा छन् ।
काँग्रेसलाई २० लाख अरूलाई ५० हजार
स्थानीय निकायको निर्वाचनमा उपकूलपति डा. रौनियारले दुहवी नगरपालिकाको मेयरमा उठेका आफ्ना दाइ नेपाली काँग्रेसका उम्मेदवार गौरीशंकर रौनियारलाई पैसाको खोलो बगाए । आफूलाई उपकूलपति बनाउन कांग्रेसीहरुसँग राम्रै लविङ गरेको गुन तिर्न डा. रौनियारले दाजुलाई जिताउन ५० लाख बढी खर्चगरेको बुझिएको छ । तर, विजय गच्छदारको गढ मानिने दुहवीमा गौरीशंकर रौनियार पराजित भइसकेका छन् ।
डा. रौनियारले स्थानीय राजनीतिमा एमाले र माओवादीको पत्तासाफ गर्ने रणनीति स्वरूप धरानमा नेपाली काँग्रेसलाई समेत पैसाको खोलो बगाए । रौनियारले काँग्रेस धरानलाई रु २० लाख सहयोग गरेको स्रोतको दाबी छ । काँग्रेसलाई पैसाको खोलो बगाउँदा एमाले र माओवादीलाई ५० हजार मात्र सहयोग गरे । अहिले एमाले माओवादीहरू रौनियारका गलत क्रियाकलापका विरुद्ध मोर्चाबन्दी भएका छन् ।
कहिलेसम्म प्रतिष्ठानलाई लुट्ने ?
वीपी प्रतिष्ठानलाई दक्षिण एसियाकै सेतो हात्ती भनिन्छ । चिकित्सक, विद्यार्थी कर्मचारी तथा तिनका परिवार गरी झन्डै १० हजार बढी प्रतिष्ठान भित्र छन् ।  यत्रो ठुलो सञ्जाल रहेको प्रतिष्ठानका निश्चित आम्दानी के कति हुन्छ महालेखा परिक्षकलाई समेत थाहा छैन । नेपाल भारत साझेदारी परियोजना अन्तर्गत सञ्चालित प्रतिष्ठानमा विभिन्न देशबाट समेत विभिन्न रिसर्च र प्रोजेक्ट सञ्चालित छन् । ती प्रोजेक्टबाट आएको आम्दानी, सरकारले दिने अनुदान, विद्यार्थीको शुल्क तथा अस्पताल सेवाबाट आउने आम्दानी समेत प्रस्ट नहुँदा प्रतिष्ठानमा आएका पदाधिकारीलाई प्रतिष्ठान लुटि खाने भाँडो भएको छ । यो प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्न सकिएन भने, अबको केही वर्षपछि प्रतिष्ठान कहिल्लै उठ्न नसक्ने गरी थला पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *