गण्डकी धौलागिरीमा सार्वजनिक यातायात ठप्प

पोखरा, पुस २७ । ट्याक्सीहरुले मिटर नचलाई आफुखुशी भाडा उठाएर यात्रुहरुलाई ठगी गरेको आरोपमा प्रहरीले मंगलवार केही ट्याक्सीहरुलाई नियन्त्रणमा लिएपछि त्यसको विरोधमा यातायात व्यवसायी र मजदुर संगठनहरुले बिहिवार गण्डकी अञ्चलको सार्वजनिक यातायात ठप्प पारेका छन् ।

यातायात व्यवसायी र मजदुर संगठनहरुले ट्याक्सीमा मिटर नचलाएको बहानामा आफ्ना यातयात मजदुरहरुलाई प्रशासनबाट धरपकड गरी पक्राउ गर्नु मानवअधिकार बिपरित काम भएको भन्दै बिहीबार सम्पूर्ण सार्वजनिक सवारी साधनहरु नचलाउने निर्णय गरेका हुन् ।

यात्रुहरुसँग आफुखुशी भाडा असुल्दै आएका केही ट्याक्सीलाई प्रहरीले ठगी गरेको भन्दै नियन्त्रणमा लिएपछि उनीहरुको ठगीलाई समर्थन गर्दै पोखरामा रहेका सार्वजनिक यातायतसंग आबद्ध अन्य यातायात व्यवसायीले गाडी नचलाउदा यात्रुलाई सास्ती खेप्नु परेको छ ।

बढी भाडा असुलेको र मिटरमा नचलाएका ट्याक्सीका चालकलाई कास्की प्रहरीले पक्राउ गरेको विरोधमा यातायात व्यवसायी आन्दोलनमा उत्रँदा यात्रुले सास्ती खेप्नु परेको हो ।

मंगलवार पोखराका विभिन्न स्थानबाट सादा पोषाकमा खटिएका प्रहरीले यात्रु ठग्ने ट्याक्सी चालकलाई पक्राउ गरी कारवाही अघि बढाएपछि त्यसका विरुद्ध ट्याक्सी व्यवसायीलाई समर्थन गर्दै विहिवार गण्डकी अञ्चलभर सार्वजनिक सवारी ठप्प पारिएका हुन् ।

ट्याक्सी ब्यवसायी माथि प्रहरी प्रशासनले गरेको गिरफ्तारीको बिरोधमा गण्डकी धौगागिरीमा रहेका यातायात व्यवसायीहरुले समर्थन जनाएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र बहादुर केसीले जानकारी दिए ।

प्रशासनले समस्या समाधान गर्नतर्फ उन्मुख नभई मजदुरमाथि हातपात गर्ने, धम्क्याउने र एकलौटी ढंगले अगाडी वढेपछि व्यवसायीहरुले सवारी साधनहरु सञ्चालन गर्न सक्ने वातावरण नभएका कारण आफ्ना सवारीहरु सञ्चालन गर्न रोकेको केसीले बताए ।

ट्याक्सी व्यवसायीहरुले पोखरा भित्र १८ किलो मिटर क्षेत्रमा मात्र मिटर चलाउने गरी सहमत हुँदा प्रशासनले सम्पूर्ण पोखरा भ्यालीमा मिटरमा ट्याक्सी सञ्चालन गर्नुपर्ने एकलौटी  दवावका कारण ट्याक्सीमा मिटर सञ्चालन हुन नसकेको ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणी तिवारीले बताए ।

मिटरमा ट्याक्सी सञ्चालन नहुँदा यात्रुहरु शोषणमा परेको यथार्थ भएतापनि प्रशासनले सहज बातावरण बनाउनुको साटो उल्टै धरपकट गर्नु न्यायोचित नभएको तिवारी बताउँछन् ।

‘तोकिएभन्दा बढी भाडा लिएर उपभोक्ता ठगिएको गुनासो आएपछि मंगलबार केही टयाक्सी नियन्त्रणमा लिइएको हौ,’ कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले भने, ‘नियन्त्रणमा लिएका ट्याक्सीलाई बुधवार नै यातायत ब्यवसस्था कार्यलय पठाएर जरिवाना तिराएर छाडिएको छ ।’

प्रहरी प्रमुख सिंहले ट्याक्सी चालकहरुले मिटरमा टयाक्सी चलाउन चाहेको बताए पनि समितिले त्यसमा अबरोध गरेको बताए ।

बुधवार लामो समय यातायात अवरुद्ध भएपछि एसपी सिंहले अवरोध गर्ने टयाक्सी हटाउन डोजरको प्रयोग गर्ने बताएपछि चालकले टयाक्सी हटाएका थिए । टयाक्सी हटाउन दुई डोजर र ठूलो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =