राष्ट्रपति ट्रम्पले चीन र जापानसँग फोनवार्ता गर्ने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीन र जापानका नेताहरुसँग फोनवार्ता गर्नुहुने भएको छ । उहाँले आइतबार गर्न लाग्नुभएको फोनवार्ताको विषय हालैका दिनमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी अशान्ति रहने छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो विषयमा आज जानकारी दिएको छ । उहाँले चीनसँग विशेषगरी उत्तर कोरियाका विषयमा नै फोनमा कुराकानी गर्नुहुने बताइएको छ ।

उत्तर कोरियाको एक अन्तर्राष्ट्रिय सहयोगीका रुपमा चीन रहेकोले उसका कारण सो वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग फोनवार्ता गर्नुहुने बताइएको छ ।


अमेरिकी समय अनुसार आइतबार साँझ ८ बजे उहाँले जापनी प्रधानमन्त्री आबे र ८: ४५ मा चिनियाँ राष्ट्रपति चिनफिङसँग वार्ता गर्नुहुने ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बतानुभएको थियो ।

उहाँले यसै हप्ता कोरियाको भ्रमण गर्नुभएको छ । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको र वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पु¥याएको उहाँको धारणा थियो । उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले केही दिनअघि दिनुभएको सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम कोरियाली प्रायद्वीपका लागि मात्र नभएर विश्वकै लागि पनि शान्ति भंग गर्ने खतरा हो भन्नुभएको थियो । आफू राष्ट्रपतिमा निर्वाचित भए लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा रहने धारणा राख्नुभएको थियो । सोही बमोजिम नै पछिल्ला महिनाहरुमा उहाँले अमेरिकी सरकारको विदेश नीति विशेषगरी उत्तर कोरियाको लागि कस्तो हुने भन्ने बारेमा पनि समय समयमा छलफल एवम् परामर्श गरिरहनुभएको छ ।

केही दिनमात्र अघि पनि उत्तर कोरियाले अमेरिकाका विरुद्धमा राजधानी प्योङयाङ्मा जुलुस प्रदर्शन गरी अमेरिकाको कडा आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको बारेमा निकै चासो लिनुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । विश्व समुदाय र संयुक्त राष्ट्रसंघले समेत हतियारको होडबाजीका रुपमा आणविक परीक्षणजस्ता क्रियाकलापहरु गरेर परिस्थितिलाई उत्तेजक बनाउने काम नगर्न गरिएका बारम्बारका अनुरोधहरुका बाबजुद पनि उत्तर कोरियाले भने आणविक परीक्षणलाई निरन्तरता दिँदै आएको छ । रासस/ एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *