नेपालगन्ज : ‘क्रस भोट’ को कथा

असार १८, नेपालगन्ज । ‘काग्रेस कसैसँग हार्दैन तर पार्टी भित्र अन्तरघात भयो भने काग्रेसले हार्नेछ’, शनिबार राती डा. नितेश कुमार कनोडियाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भनाइलाई उद्धृत गर्दै सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखे । डा. नितेश नेपाली काग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार डा. सुरेश कनोडियाका छोरा मात्रै होइनन्, उनी काग्रेसका सक्रिय कार्यकर्ता र निर्वाचनमा प्रचार अभियन्ता पनि हुन् ।

नेपालगन्जमा स्थानीय तहको निर्वाचनको मत परिणामहरु धमाधम आउदैछन् । नेपालगन्जमा वडा नं. १ र ६ मा एमाले, वडा नं. २ र २२ मा काग्रेस, वडा नं. ३ र ७ मा माओवादी केन्द्र, वडा नं. ४, ५, र ८ मा राप्रपा, २३ मा संघीय समाजवादी फोरम विजयी भएका छन् । वडा विजेताको हिसाबले काग्रेस, एमाले र राप्रपा बराबर भएपछि प्रमुख र उपप्रमुखमा राप्रपा र कांग्रेस अगाडी रहेका छन् । राप्रपाका डा. धवल समशेर राणा प्रमुख पदमा अन्य भन्दा धेरै अगाडी पुगिसकेका छन् ।

राप्रपाले नेपालगन्जमा वडा नजितेका स्थानमा पनि प्रमुख पदमा भने सबैभन्दा बढी मत ल्याउन सफल भएको छ । अर्थात्, क्रस भोट धेरै भएको पाइन्छ । वडामा काग्रेस, एमाले, माओवादीलाई भोट दिएका मतदाताले प्रमुख पदमा भने राप्रपालाई मतदान गरेको हालसम्मको परिणामले देखाउछ । राप्रपाले वडा नजित्दा पनि प्रमुख तथा उपप्रमुख पदमा उल्लेख्य मत ल्याउनुले पनि त्यसलाई पुष्टि गर्दछ ।
नेकपा एमालेका प्रमोद रिजालले नेपालगन्ज–१ धम्बोझीमा ८ सय १८ ल्याउदै विजय हासिल गरे । उनले वडामा आफ्नो पार्टीका सबै सदस्य भन्दा बढी मत ल्याएका थिए । उक्त वडामा पराजित भएका एमालेका सदस्य सबैभन्दा कम ६ सय २५ मत प्राप्त गरेका छन् । तर, त्यँहा नेपालगन्जका लागि एमालेका प्रमुख पदका उम्मेदवार सम्शुद्दिन सिद्दिकीले एमालेका सदस्यले वडाबाट पाएको सबैभन्दा कम मत समेत पाउन सकेनन् । धम्बोझी १ मा उनले ४ सय ४० मत मात्र पाए । उक्त मत नेपालगन्ज–१ मा एमालेका सदस्य उम्मेदवारले पाएको सबैभन्दा कम भन्दा पनि १ सय ८० ले कम हो ।
नेपाली काग्रेसको प्रभाव क्षेत्र हो नेपालगन्ज–२ । त्यँहा काग्रेसबाट वडा अध्यक्षका उम्मेदवार सुनिल सिंह हमालले ४ सय ६६ मत प्राप्त गरे । त्यँहा काग्रेसबाट पराजित सदस्यले पनि ४ सय ४४ मत प्राप्त गरेका छन् । तर, नेपालगन्ज–२ बाट कांग्रेसका प्रमुख पदका उम्मेदवार डा. सुरेश कनोडियाले जम्मा ३ सय ८९ मत मात्र प्राप्त गर्न सके । जुन वडा अध्यक्षको मत भन्दा ७७ ले कम हो ।
नेपालगन्जको वडा नं. ३ बाट माओवादी केन्द्रका उम्मेदवार विजयी भए । अध्यक्ष पदमा विजयी अयुव सिद्दिकीले ५ सय २४ मत प्राप्त गरे । उक्त वडाबाट माओवादीबाट नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार दामोदर आचार्यले ४ सय ८२ मत मात्र प्राप्त गरे । जुन वडाबाट जितेका अध्यक्षको भन्दा ४२ ले कम हो । वडा नं. ३ बजार क्षेत्र रहेकाले आचार्यको पनि पकड रहेको मानिन्छ । तर, वडा अध्यक्ष जित्दा पनि प्रमुख पदमा भने माओवादीले सन्तोषजनक मत ल्याउन सकेनन् ।
वडा नं. ३ मा २ सय ५३ मत मात्र ल्याएर राप्रपा वडा अध्यक्ष पदमा पराजित भयो । तर, त्यसको ठिक विपरित राप्रपाका लागि नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार डा. धवल शमशेर राणाले वडा नं. ३ बाट आफ्नो पार्टीबाट पराजित वडा अध्यक्षले भन्दा २ सय १७ मत बढी प्राप्त गरे । डा. धवलले वडा नं. ३ बाट कुल ४ सय ७० मत प्राप्त गर्न सफल भएका थिए ।
नेपालगन्ज–१ मा राप्रपाले कुनै पनि पदमा विजय हासिल गर्न सकेन । त्यहा राप्रपाबाट वडा अध्यक्ष पदका उम्मेदवारले ५ सय १७ मत प्राप्त गरे । तर, नेपालगन्ज–१ जित्न नसकेको राप्रपाले नेपालगन्ज प्रमुखका लागि भने ९ सय ३३ मत प्राप्त गर्यो । जुन वडामा विजयी नेकपा एमाले र नेपाली काग्रेसले प्राप्त गरेको भन्दा बढी हो । त्यहा एमालेले ४ सय ४० र कांग्रेसले ४ सय ३७ मत प्राप्त गरेको छ । दुवैले नेपालगन्ज प्रमुखका लागि प्राप्त गरेको मत जोड्दा पनि राप्रपाको जति पुग्न सक्दैन । नेपालगन्ज–२ मा पनि राप्रपाले जित्न सकेन । त्यँहा राप्रपाका वडा अध्यक्षले ३ सय ७४ मत प्राप्त गरे भने त्यहाँबाट डा. राणाले भने ६ सय ४६ मत प्राप्त गरे । जुन वडा अध्यक्षले पाएको भन्दा २ सय ७२ मतले बढी हो । अर्थात् ‘क्रस भोट’ ।
वडा नं. ४ र ५ मा भने राप्रपाले विजय हात पार्यो । वडा नं. ४ मा राप्रपाका सफिक नद्दाफ विजयी भए । उनले ६ सय ९७ मत प्राप्त गरे । वडा नं. ५ मा वडा अध्यक्ष विजयी राप्रपाका उम्मेदवार कैफुलवरा अन्सारी विजयी भए उनले २ सय ८८ मत प्राप्त गरे । तर, डा. राणाले दुवै वडामा आफ्नो पार्टीबाट विजयी वडाध्यक्ष भन्दा क्रमशः ३ सय २० र १ सय १७ मत बढी ल्याए । वडा नं. ४ बाट राणाले १ हजार १७ र वडा नं. ५ बाट ४ सय ५ मत प्राप्त गरे । वडा नं. ६ मा अध्यक्ष एमालेले जितेको छ । त्यँहा एमालेका समिर प्रताप सिंह ४ सय ४६ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवारले ३ सय ५४ मत प्राप्त गरे । वडा नं. ६ मा वडा अध्यक्ष बाहेकका सबै पदमा राप्रपा नै विजयी भएको छ । वडा नं. ६ मा डा. राणाले ६ सय ८१ मत प्राप्त गरे । उक्त मत उक्त वडामा प्राप्त उम्मेदवारहरु भन्दा बढी हो ।
वडा नं. ७ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडा नं. ७ का सबै पदमा माओवादी विजयी भएको हो । त्यहा माओवादीका वडा अध्यक्ष उम्मेदवार जुम्मन खाले २ सय ६० मत प्राप्त गरे । उक्त वडामा नेपालगन्जका लागि प्रमुख पदमा सबैभन्दा बढी राप्रपाका उम्मेदवार डा. राणाले ३ सय ९८ मत प्राप्त गरे ।माथि मत परिणाम हेर्दा राप्रपाले जितेका र हारेका सबै वडाहरुबाट नेपालगन्जका लागि प्रमुख पदाका उम्मेदवारका लागि भने अरु उम्मेदवार भन्दा बढी मत पाउन सफल भएको छ । सबै वडाहरुबाट नेपाली काग्रेस र नेकपा एमालेका धेरै मत डा. धवल समशेर राणाका लागि गएको तथ्यांकबाट देखिन्छ ।

‘काग्रेस बाकेले निर्वाचन परिणामलाई कसरी हेरिरहेको छ ? संगठन कति राम्रोसग गरेको रहेछ भन्ने प्रमाण यो भन्दा के हुन्छ । अब पनि २/४ जनाको घेराभित्र पार्टीलाई चलाउने कि असफल भएँ भनेर राजिनामा दिने ?’, काग्रेसका सक्रिय कार्यकर्ता गोपाल अधिकारीले शनिबार राती नै आफ्नो फेसबुक स्टाटस मार्फत प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *