भरतपुर महानगरको नगर सभा पुस २१ मा, प्रचण्डले उद्घाटन गर्ने

भरतपुर, १९ पुस । भरतपुर महानगरपालिकाको नगरसभाको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २१ देखि २३ गतेसम्म हुने नगरसभाको लगभग तयारी पूरा भएको छ । कात्तिकमै गर्ने भनिएको नगरसभा प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण पर धकेलिएको थियो ।

पुस २१ गते महानगरको नगरसभाको उद्घाटन हुनेछ । ‘२१ गते दिउँसो १ बजे भरतपुर महानगरपालिकाको नगरसभाको उद्घाटन हुनेछ’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन्, ‘नगरसभाको तयारी अन्तिम चरणमा पुगेको छ । अब केही बैठकहरु बाँकी छन् ।’ उनले नगरसभाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने बताइन् ।

महानगरको नगरसभाको २१ गते उद्घाटन सत्र हुनेछ भने २२ गते नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुनेछ । २३ गते झण्डै ३ अर्बको बजेट पारित हुनेछ । नगरसभाले भरतपुरको रणनीतिक गुरुयोजनाहरु पारित गर्नेछ ।

नगरसभाले सबैभन्दा बढी रिङरोडलाई प्राथमिकता दिनेछ । सहरी विकास मन्त्रालयबाट उपलव्ध गराइने बजेटबाट रिङरोड निर्माण कार्य थालिने मेयर रेणु दाहालले बताइन् । महानगरले तयार पारेको रिङरोड पुलचोकबाट नारायणी तिरैतिर गोलाघाटसम्म पुग्छ र यता गोन्द्राङबाट जंगलको किनारैकिनार पटिहानी जगतपुर हुँदै गोलाघाटमै गएर ठोक्किन्छ । ‘भरतपुर महानगरको समन्वयमा सहरी विकास मन्त्रालयले तीन वर्ष्भित्र रिङरोडको निर्माण कार्य सक्नेछ’ मेयर दाहालले भनिन्, ‘रिङरोडको शिलान्यास गर्ने तयारीमा महानगरपालिका जुटेको छ ।’

त्यस्तै महानगरले नगरसभाबाट नारायणगढमा–१ र भरतपुरमा १ गरी दुई आकाशेपुल बनाउने नीति तथा कार्यक्रम पारित गर्ने भएको छ । महानगरपालिकाभित्र एउटा सिटी हल र राप्ती नारायणी नदीको तटबन्ध गर्ने कामलाई पनि भरतपुर महानगरको नगरसभाले पारित गर्ने भएको छ ।

मेयर दाहालले सिटी हल कहाँ बनाउने भन्ने विषय छलफलमै रहेको जानकारी दिइन् । शारदानगरको चित्रवन रंगशालालाई पनि नगरसभाले सम्बोधन गर्ने भएको छ । रंगशाला निर्माणलाई चरणबद्ध तरिकाले सम्पन्न गर्ने नीति पनि नगरसभाबाट पास हुनेछ । कालोपत्रे सडकलाई पनि प्रमुख प्राथमिकता दिएर अभियानको रुपमा अगाडि बढाइने महानगरपालिकाले जनाएको छ ।

पर्यटकीय गन्तव्यहरुको पहिचान र विकासलाई पनि नगरसभाले सम्बोधन गर्ने भएको छ । कृषिमा आधुनिकीकरण, उत्पादनमूलक औद्योगिक विकास र खेल क्षेत्रको प्रवद्र्धकमा पनि नगरसभाले बजेट पार्नेछ । वन्यजन्तुको आक्रमणबाट बस्तीलाई जोगाउन वालसहितको मेस जाली राख्ने कामलाई पनि नगरसभाले बजेट छुट्याउनेछ ।

‘कुन शीर्षकमा कति बजेट भनेर छुट्याइएको छैन, हामी छलफलमै छौँ । कस्ता योजनाहरु पारित गर्ने भन्ने कुरालाई प्राथमिकता दिएका हौँ । पहिलो योजनाहरु पेस गर्ने हो, बजेट पार्ने भन्ने कुरा दोस्रो हो’ मेयर दाहालले भनिन् ।

यसपटकको नगरसभाले ऐलानी जग्गा, प्रतिजग्गा र सार्वजनिक जग्गाहरुको संरक्षणलाई प्राथमिकता दिनेछ । ‘महानगरका योजनाहरु धेरै छन्, यसको लागि केन्द्रसँग सर्कुलर गरेर बजेट ल्याउने कामहरु हुन्छन्’ मेयर दाहालले भनिन् ।

लायन्सचोकको सब्जीमण्डीलाई स्थानान्तरण गरेर त्यहाँ बहुतले सुपर मार्केट बनाउने कामलाई पनि अहिलेको नगरसभाले पारित गर्नेछ । त्यहाँको सव्जीमण्डीलाई भरतपुर–२ क्षेत्रपुरमा सारिएको छ । अण्डरग्राउण्ड पार्किङसहितको भवन बन्ने भरतपुर महानगरले जनाएको छ । अहिले बहुतले भवनको सहरी विकास मन्त्रालयले डीपीआर तयार पार्ने काम गरिरहेको छ । महानगरलाई हरियाली र सरसफाइ बनाइराख्न नगर सभाले थप योजनाहरु पारित गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *