कहिले जनता प्रति जवाफदेही बन्ने ?

अस्ट्रेलियाको बहालवाला प्रधानमन्त्री माल्कम टर्नबुलले (अन्जानवस) लाईफ ज्याकेट (पहेलो भेष्ट) नलगाई आफ्नै बोट चलाएर पानीमाथि सयर गरेछन् । यही अभियोगमा निउ साउथ वेल्स मरिटायिमले २५० डलर जरिवाना गरेको समाचार आफ्नै अनलाइनमा पढ्दै गर्दा मलाई तत्कालीन गृहमन्त्री बामदेव गौतमले रत्नपार्क नजिक बिच सडकमा बाटो काटेको दृश्य झल्झल्ती याद आयो ।

सन् २०१४ तीरको कुरा हो । तत्कालीन सरकारका गृहमन्त्री जस्तो गरिमामय पदमा रहेका मन्त्रीले जेब्राक्रस र आकासेपुल छाडेर अत्यन्त व्यस्त सडकमा डिभाईडरको डोरी नै नाघेर दिउसै बाटो काटेको यो दृश्य देशभर भाईरल भयो । क्षणभरमै गृहमन्त्री गौतम दुनियाभर आलोचित भए । सामाजिक सञ्जालमा उनलाई (कुकुर) सँग तुलना गर्नेहरुको सङ्ख्या समेत बढ्न थाल्यो । कतिले जनावरले समेत जेब्राक्रसबाट बाटो काटिरहेको देखाउँदै महिनौसम्म सामाजिक सञ्जालमा गौतमलाई जिस्क्याईरहे ।

आज ४ वर्षपछि बामदेब गौतमको प्रसङ्ग उठाउनुको कारण कुनै बेइज्यती गर्न हैन की, हाम्रो समाज, हाम्रो कानुन, हाम्रो सिस्टम हामीले कत्तिको बलियो बनाउन सकेका छौँ । हामी नियम कानुन पालना गर्न कत्तिको जिम्मेवार रहेछौं भनेर प्रस्ट पार्नका लागि हो ।

हामीलाई थाहा छ, हामी भर्खरै विकासको पथमा लम्किरहेका छौँ । हामीमा विद्यमान धेरै नियम कानुन विश्वका विकसित देशहरूको भन्दा कम छैन । हामीले २००७ साल यता बनाएका संविधान, नियम कानुनहरू विश्वका उत्कृष्ट भनिएका संविधान र नियम कानुनबाटै प्रभावित भएर बनाएका हौँ । २०४६ सालको बहुदलिय प्रजातन्त्र त्यसपछि २०७० सालमा जनताद्वारा नै लेखिएको भनिएको संविधानलाई हामीले विश्वकै उत्कृष्ट संविधान भनेर व्याख्या समेत गरिसकेका छौँ । तर, पनि विश्वका उत्कृष्ट संविधान र नियमहरुलाई पालना गर्न हामी किन चुकिरहेका छौँ ! हामी किन देश र जनता प्रति जवाफदेहि बन्न सकिरहेका छैनौँ ! मुख्य विषय यही हो ।

हाम्रो देशका शासन र त्यो शासन व्यवस्थाका शासकमा देश र जनताप्रतिको जवाफदेहिता हुँदो हो त आज यहाँ पाइलापाइलामा कानुनको धज्जी उडाउनेहरु हुने थिएनन् । जेब्रा क्रसबाट बाटो काट्ने कुरा माइनर हो, दिउसै मान्छे मार्ने काम हुँदैनथ्यो । देशकै सर्वोच्च न्यायालयले अपराधी घोषित गरेर सजाय तोकेका व्यक्ति न्यायालयकै अगाडी खुलेआम छाती खुलाएर हिँड्ने हिम्मत गर्दैनथे । सार्वजनिक स्थानमा महिलालाई आँखैले बलात्कार गर्नेहरु एकान्तमा सामूहिक बलात्कार गर्ने दृष्ठता गर्दैनथे ।

आज मेरो देशमा कानुन बनाउनका लागि कानुन तोड्नेहरु नै सत्तामा गएका छन् । आज मेरो जन्मभूमीमा न्यायको पर्खाईमा नन्दप्रसाद अधिकारीको सब अस्पतालको शवगृहमा वर्षौदेखि कठ्याङ्ग्रीएर बसिरहनु परिरहेको छ । आज शान्तिका दुत गौतम बुद्धको घरमा १० वर्षको जनयुद्धका नाममा हज्जारौं वेपत्ता हुनु परेको छ ।
आज मेरो न्यायालयमा न्यायमुर्तिकै अगाडी न्यायको मोलतोल भइरहेको छ । सत्तामा गएका जनताका नायकहरु खलनायक भएका छन् । नाफाखोर, कामचोर, बलात्कारी, ब्यभिचारी, भ्रष्टाचारी सम्मानित भएका छन् । अहिले मेरो देश भताभुङगेको राज्य जस्तो ‘चोरलाई चौतारो साधुलाई शुली’ जस्तो भएको छ ।

एउटा संसारकै सर्वसम्पन्न देशका प्रधानमन्त्रीले सानो गल्ती गर्दा उसलाई एउटा सामान्य कर्मचारीले कारबाही गर्ने हिम्मत राखिरहँदा हामी जनयुद्धका नाममा हज्जारौं मान्छे मारेर सत्तामा गएकालाई ‘फुलमाला’ पहिराउन सरिक हुन्छौं । विकसित देशमा जनता सर्वशक्तिमान हुन्छन्, हाम्रोमा नेता शक्तिमान भए अनि हामी त्यही शक्तिको पूजा गर्न उद्दत रहन्छौं । सत्ता र शक्तिमा रहेकाले कानुन र नियमकानुनको धज्जी उडाईरहँदा हामी त्यसलाई नै नियमकानुन मानेर ‘जयजयकार’ गर्छौ । समस्या यहाँ नै हो ।

जवसम्म नियम कानुन पालना गर्ने गराउनेले आफ्नो कर्तव्य पालन गर्दैन, जतिसुकै उत्कृष्ट कानुन बनाएपनि त्यो ‘कोराकागज’ मात्र हो । राज्यको नीति निर्माण गर्नेले जनताप्रति जवाफदेहि भएर काम गर्ने हो भने, बेलायत जस्तो संविधान विहिन भएर पनि विश्वकै उत्कृष्ट देश बनाउन सकिन्छ ।

समाज परिवर्तन गराउन र देश बनाउन कुनै कठोर कानुन चाहिँदैन । हामीमा नैतिकता र इमान्दारिता भयो भने काफी छ । समाजमा वर्गिय, क्षेत्रीय, जातीय, लिंगिय विभेद बढ्नुमा नैतिकता र इमान्दारिताको अभाव नै हो । सत्तामा रहेकाले सडकमा रहेकालाई ‘भुसुना’ गन्ने परिपाटी जवसम्म हटाउँन सकिन्न तबसम्म जस्तो सुकै कानुन र व्यवस्था असफल हुन्छ ।

अस्ट्रेलियाको बहालवाला प्रधानमन्त्रीले जनताका अगाडी कसैको करबलले माफी मागेका पक्कै हैनन् । नत उनलाई कुनै शक्तिले माफी माग्न नै दबाब दिएको थियो । उनले माफी जनताका लागी मागेका हुन् । जसले कानुन बनाउँछ त्यसैले कानुनको वर्खिलाफ गर्दा त्यसले समग्र राष्ट्रकै न्याय व्यवस्थामा असर पर्ने थियो । जनतामा सकारात्मक सोचको विकास गरी न्याय र कानुन सबैलाई बराबरी हो भन्ने मूल्य र मान्यता स्थापित गर्नपनि उनको कदम उदाहरणीय बनेको छ । हाम्रा देशका शासक अाफैं नियम बनाउँछन्, अनी अाफुलार्इ अफ्टेराे भए अाफैं भत्काउँछन् ।  शासकले नै नियम नमानेपछि जनताले किन मान्ने ?

हाम्रा देशका शासकले पनि यस्तो नैतिकता र इमान्दारिता कहिले देखाउने हुन् ? हेर्न बाँकी छ । २१ औँ शताब्दीमा हामीले अझैपनि राज्य चलाउनेलाई नै जेब्रा क्रसबाट बाटो काट्न सिकाईरहने हो भने, त्यस्ता शासकबाट जनताले समुचित राज्य व्यवस्था पाउने आशा गर्न सकिन्न ।
सबैलाई चेतना भयाः

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *