पहाड पुर्याईन थाले तराईका छाडा गाईबस्तु


“
धनगढी, पुस १५ । राजमार्ग तथा बजारमा जताततै भेटिने छाडा पशुचौपाया नियन्त्रणका लागि कैलालीमा नौलो प्रयास । कैलालीको लम्कीचुहा नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापन गर्नेलाई पारिश्रमिक समेत दिने प्रबन्ध गरेपछि नियन्त्रण कार्य प्रभावकारी देखिएको छ ।
लम्कीचुहा नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्ग खण्ड तथा मुख्य बजार क्षेत्रमा केही महिनाअघिसम्म सयौं छाडा पशुचौपायका कारण यातायात सञ्चालनमा निकै कठिनाई हुनुका साथै सडक दुर्घटनाको प्रमुख कारणका रूपमा रहेको थियो ।
लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले छाडा रूपमा छोडिएका गाईगोरु अर्को जिल्लामा लैजाने व्यक्तिलाई पारिश्रमिकको व्यवस्था गरिएको बताए । नगर प्रमुख बजगाईंका अनुसार नगरपालिकाले एउटा गाईंको एक हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरेको छ ।
‘यो नीति बनाएपछि अहिले लम्कीचुहा नगरपालिका क्षेत्रमा छाडा पशुचौपाया देखिन छोडेका छन्’ नगरप्रमुख बजगाईंले भने– ‘अहिलेसम्म हामीले एक हजार ४३ छाडा गाई नियन्त्रण गरिसकेका छौं ।’लम्कीचुहा नगरपालिकामा रहेका छाडा पशुचौपायाहरू अछाम, सुर्खेत, दैलेख, कालिकोट लगायतका पहाडी जिल्लामा पुर्याइएका छन् ।
एक हजार रुपैयाँ पारिश्रमिक दिएर छाडा पशुचौपाया हटाउने योजना अन्तर्गत अहिलेसम्म नगरपालिकाले दश लाख ४३ हजार रुपैयाँ खर्च गरिसकेको छ । ‘पहिले मान्छे खोजेर रकम दिएर लम्कीचुहा क्षेत्रबाट गाईगोरु लैजान भन्थ्यौ, अहिले पहाडी जिल्लाका विभिन्न स्थानीय तहबाट जनतालाई चाहिएकोले गाई पठाइदिने आसयको पत्र आउन थालेका छन्’ नगरप्रमुख बजगाईंले भने ।
शुरुमा कालिकोटका जसिराम सिम्खडाले ‘गाईको संरक्षण गर्छु’ भनेर एक सय ७६ गाई लगेको जनाइएको छ । अहिले अरूहरू थुप्रैले पनि गाई लगिरहेका छन् । छाडा गाईगोरुलाई एक हजार रुपैयाँ लिएर लैजाने व्यक्तिले पहाडी क्षेत्रमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।
लम्कीचुहाबाट छाडा गाईगोरु लैजाने व्यक्तिले कर्णाली नदीमा डुंगाबाट तारेर पहाडी जिल्लाहरूतर्फ लैजाने गरेका छन् ।
‘स्थानीय तह चुनावताका छाडा पशुचौपाया नियन्त्रण गर्ने प्रतिवद्धता गरेको थियौंं, चुनावपछि विपक्षी र सर्वसाधारणले मेरो घर र नगरपालिका कार्यालयमा आएर गाईगोरु छोड्न थालेपछि अनेक उपाय खोज्ने क्रममा एक गाईंको एक हजार रुपैयाँ पारिश्रमिक दिएर गाईगोरु बाहिर पठाउने योजना बनाए’ नगरप्रमुख बजगाईले छाडा गाईगोरु नियन्त्रणको अनुभव सुनाने– ‘यसले छाडा पशुचौपाया नियन्त्रणमा निकै सघाउ पुगेको छ ।’
“
