वीपीका चिकित्सकद्धारा ओखलढुंगाको ग्रामिण भेगमा निशुल्क स्वास्थ्य शिविर

धरान, पुस १५ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको एक टोली ओखलढुंगाको ग्रामीण क्षेत्रमा दुईदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी वितरण समेत गरिएको थियो ।

सामाजिक उत्तरदायीत्वका निम्ति चिकित्सक (पीएसआरएन) विद्यार्थी च्याप्टरको आयोजनामा भएको सो शिविरमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका झण्डै ८ सय जना भन्दा बढी विरामीले विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

विशेषज्ञ स्वास्थ्य सेवा लिन गाउँबाट टाढा सदरमुकाम पुग्नुपर्ने वा सेवा लिनुपरे धरान, काठमाडौं झर्नुपर्ने बाध्यता रहेका ग्रामिण समुदायको घर आँगनमै उनिहरु पुगेका हुन् । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाको गुरुकुल संस्कृत मावि भवन र सुनको गाउँपालिकाको कुशादेवी माविको भवनमा गएको पुष ८ र ९ गते शिविर सञ्चालन गरिएको थियो । शिविर आयोजना गर्न गाउँपालिका कार्यालय एवं स्थानिय बासिन्दाले सकृय भई सहयोग गरेका थिए । दुवै शिविरमा गरी आठ सय बढी स्थानियका स्वास्थ्य परिक्षणका साथै उपलव्ध औषधि निशुल्क वितरण गरिएको संस्थाका गतिविधि संयोजक हरिशचन्द्र विष्टले बताए ।

संस्थाका अध्यक्ष संजय बरालका अनुसार सरकारी, गैरसरकारी संस्थाले थुप्रै रोगहरुको सहुलियतपूर्ण उपचारको व्यवस्था गरेको छ तर त्यसबारे जनता अनभिज्ञ छन् । शिविरमा आउने समुदायलाई स्वास्थ्य उपचारमा सरकारी सुविधा विषयका साथै स्वास्थ्य सम्बन्धी समस्याहरुको संचेतना समेत गराउने कार्य गरियो । शिविरमा भेटिएका अत्यन्त गरिब बिरामीका लागि वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा निशुल्क उपचारको व्यवस्था पनि गरिएको उनले बताए । चेकजाँच र उपचार गर्ने सुविधा नभएको अवस्थामा रोग पालेर बसेका विरामीका लागि शिविर धेरै प्रभावकारी भएको स्थानिय समुदायले बताएको उनले उल्लेख गरे ।

शिविरमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. मनोज साहका अनुसार स्वास्थ्य संस्थाको पहुँच देखी बञ्चित धेरै ग्रामिण महिलाहरुमा स्त्री रोगका समस्याहरु देखिए । उनले भने ‘यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, आङ् खस्ने समस्याहरु उल्लेखनिय रुपमा थिए ।’ शिविरमा यस्ता रोगहरुको उपचारका साथै यसबाट बच्ने संचेतना गराइएको उनले बताए । बालरोग विशेषज्ञका अनुसार चिसोको कारण रुघाखोकी, ज्वरोले ग्रसित बालबालिकाहरुको धेरै उपस्थिति धेरै पाइएको थियो । साथै सरसफाईमा पर्याप्त ध्यान नपुगेर होला छाला सम्बन्धी रोगहरु पनि निकै आएका थिए ।

जनरल फिजिसियन सन्तोष बास्तोलाले भने ‘विशेष गरि बिरामीहरु घुँडा दुख्ने, ढाड दुख्ने र अन्य नसा सम्बन्धी समस्या लिएर शिविरमा आएका थिए ।’ उनका अनुसार नेपालका ग्रामिण भेगमा अझै पनि चिकित्सकहरुको उपस्थि न्यून छ । एक त स्वास्थ्य सम्बन्धी चेतनाको स्तर नै कम छ र गाउँका कतिपय स्थानबाट दक्ष चिकित्सक सम्मको पहुँच नपुगेको अवस्था छ । यस्तो परिस्थतिमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि औषधी वितरण गर्नाले गाउँगाउँका विरामीले सुलभ स्वास्थ्य सेवाको अवसर पाए । शिविरमा जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र छाला तथा यौनरोग विशेषज्ञ, स्वास्थ्यकर्मी सहित १५ जनाको टोली संलग्न थियो । सबैका लागि स्वास्थ्य भन्ने सन्देश सहित शिविर आयोजना गरिएको संयो।जक विष्टले बताए ।

पीएसआरएन संस्था धरानमा सन् २००७ मा स्थापित भएको हो । संस्थाले स्थापना कालदेखि समाजप्रति उत्तरदायि हुँदै पूर्व नेपालका थुप्रै जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिविरका साथै स्वास्थ्य सम्बन्धि संचेतना बढाउने रेडियो कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साथै संस्थाले विद्यालयहरुमा स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम र महिला स्वास्थ्य सम्बन्धी तालिम, सडक नाटकहरु, प्राथमिक उपचार तालिम, स्वास्थ्य शिविरहरु गर्दै आईरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *