घरेलु तथा साना उद्योगमा ४५ करोड भन्दा बढी लगानी


“
सन्देश पौडेल, लमजुङ । लमजुङमा घरेलु तथा साना उद्योगको लागि मात्रै रु ४५ करोड भन्दा बढी लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा सञ्चालित उत्पादन मूलक, सिलार्इकटार्इ, कृषि औजार, पर्यटन, र अलैँची उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ । जिल्लामा दुई दर्जन व्यावसायिक अलैँची र पर्यटन उद्योग सञ्चालनमा छन् ।
घरेलु तथा साना उद्योगहरुमा झन्डै सात हजारले रोजगारी पाएको समितिका प्रमुख लक्ष्मीप्रसाद दाहालले बताउनुभयो । जिल्लाका विभिन्न गाउँ तथा सदरमुकाममा समेत पर्याप्त घरेलु तथा साना उद्योग सञ्चालनमा आएको कार्यालय उहाँको भनाइ छ । घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको निर्यातमा वृद्धि भएसँगै बर्सेनि लगानी बढेको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो । परम्परागत खेतीप्रणालीमा निर्भर जिल्ला लमजुङमा पछिल्ला वर्षमा घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगको सङ्ख्या दुईहजार २६२ पुगेको छ ।
पर्यटकलाई थप आकर्षण गर्न ताल प्रवद्र्धन
यसैगरी बर्सेनि हजारौँ पर्यटक आउने लमजुङमा पर्यटकलाई थप आकर्षण गर्न तालको प्रवद्र्धन गरिएको छ । सदरमुकाम बेसीसहर– २, भकुन्डे तालफाँटमा रहेको ताल मर्मत गरी पर्यटक प्रवद्र्धन गर्न थालिएको हो । तालको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगिसकेको थियो । पछिल्लो समय स्थानीयवासीले मर्मत गरी आकर्षक बनाएका छन् । सुन्दर फाँटको बीचमा रहेको ताल र तालको बीचमा रहेको तालबराह मन्दिर निकै आकर्षक भएको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।
“तालको बीचमा मन्दिर निर्माण गरिएको छ, मन्दिरले पोखराको विन्ध्यावासीनीको झल्को दिन्छ ।” थापाले भन्नुभयो । उहाँले तालको प्रचारप्रसार गरी पर्यटक आकर्षण तर्फ लागिपरेको बताउनुभयो । तालसँगै यस क्षेत्रबाट प्राकृतिक दृष्यावलोकन समेत गर्न सकिने सोही वडाका अध्यक्ष गणेश कँडेल बताउनुहुन्छ । उहाँले तालको प्रवद्र्धनको लागि सस्थागत रुपमा लागि परेको बताउनुभयो ।
“आँखा अगाडि अन्नपूर्ण र मनास्लु हिमशृङ्खला, सूर्र्योदय र सूर्यास्तको दृष्यले मन लोभ्याउछ” कँडेलले भन्नुभयो “यसलाई प्रचारप्रसार गर्न सकियो भने पर्यटकको ओइरो लाग्ने अनुमान छ ।” तालसँगको सम्बन्ध धिताल वंशसँग जोडिएको बताइन्छ । धि नामले प्रख्यात धिताल गोपाल वंशदेखि नै तालमा आधिपत्य जमाएर बसेको किम्बदन्ती छ ।
पौराणिक ग्रन्थ गीताअनुसार कृष्णका चेलामध्यको एक धि नाम गरेको गोठालो सानैदेखि तपस्वी रहेको र उनलाई तालको संरक्षणको जिम्मा दिइएको बूढापाका बताउँछन् ।
खडेरी परेका बेला सो तालमा पूजा गरेपछि आकाशबाट पानी पर्ने जनविश्वास छ । “लामो समयसम्म खडेरी पर्दा स्थानीयवासी भेला भएर पूजा गर्ने चलन छ” स्थानीय नवीन धिताल भन्नुहुन्छ “तालमा पूजा गरेपछि सानो–ठूलो पानी परेकै हुन्छ ।” ५२ रोपनी जग्गामा फैलिएको यो तालको क्षेत्रफल पछिल्लो समय घटेको छ रासस
“
