वाम गठबन्धन भत्काउने काँग्रेसको प्रयास, प्रचण्डलाई प्रधानमन्त्री पदको ‘ललिपप’

पुस १, काठमाडौं । नेपाली काँग्रेसले वाम गठबन्धन भत्काउन चलखेल सुरु गरेको छ । गठबन्धन तोड्ने प्रयासस्वरुप काँग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो समर्थनमा प्रधानमन्त्री बनाउने सार्वजनिक प्रस्ताव गरेको छ ।

चुनाव सकिएसँगै दलहरुले सरकार निर्माणका लागि हिसाबकिताब शुरु गरेका छन् । माओवादी केन्द्र र एमालेको वामगठबन्धनले चुनावबाट नै बहुमत प्राप्त गरेका कारण सरकार उसैले बनाउने लगभग निश्चित छ । वाम गठबन्धनले सरकार बनाउँदा काँग्रेस करिब पाँच वर्ष सत्ता बाहिर बस्नुपर्ने अवस्था छ । त्यसकारण काँग्रेस पनि सरकारमा पुग्न सक्ने गरीे जोड घटाउमा देखिन्छ ।

राजनीतिमा हरेक सम्भावना खुल्ला हुने भएकाले सरकार निर्माणको विकल्पका बारेमा पनि बहसहरु शुरु भएका छन् । सरकारको नेतृत्व लिन काँग्रेसले पनि भित्रभित्रै आफ्नो हिसाबकिताब गरी तारतम्य मिलाईरहेको छ । काँग्रेसलाई सत्तामा पुग्न अरु विकल्प भन्दा एमाले– माओवादी गठबन्धन भत्काउन सके नै सुविधाजनक रुपमा सरकारमा पुग्न सक्ने देखिन्छ । त्यसैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर सरकार बनाउन सक्ने अवस्थामा काँग्रेस पुगेको छ ।

शुक्रबार मात्रै एक कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री एवं काँग्रेस नेता महेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका थिए ।

‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरू संस्थागत हुन्छन् । उहाँबाट मात्रै यी उपलब्धिहरू रक्षा हुन सक्छन्’, मन्त्री यादवले भने, ‘उहाँ (प्रचण्ड) आफै प्रधानमन्त्रीका रूपमा अघि बढ्नुपर्छ । हाम्रो पूर्ण समर्थन रहन्छ ।’ यो कुरा यादले मात्र होइन, काँग्रेसका अन्य नेताहरु पनि सार्वजनिक रुपमा भन्दै आइरहेका छन् ।

उसले मधेशवादी तथा अन्य साना दललाई मिलाउने र त्यसबाट पनि नपुगे वामगठबन्धन नै भत्काएर काँग्रेससहितको सरकार बनाउने खेल शुरु गरेको हो । ‘सरकार बनाउनका लागि काँग्रेसले पनि एकपटक प्रयास गर्ने हो’, कांग्रेस निकट एक नेताले भने, ‘वामगठबन्धनले नै सरकार बनाउनुपर्छ भन्ने छैन । काँग्रेसले पनि अन्तिम समयसम्म प्रयास गर्छ । त्यसका लागि दलहरुकाबीचमा अनौपचारिक छलफलहरु भइरहेका छन् ।’

काँग्रेस स्रोतकाअनुसार मधेशवादी दलसँग विजयकुमार गच्छदारले कुराकानी गरिरहेका छन् । १० वर्षसम्म लगातार मधेशी राजनीतिक नेताहरुसँग निकट रहेर काम गरेका गच्छदारलाई मधेशवादी दलका नेताहरुसँग कुराकानी गर्न सजिलो भएको हुनाले उनले आफ्नो तरिकाले कुराकानी अगाडि बढाएका छन् ।

मधेशवादी दल वामगठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनसँग नजिक रहेको छ । र, मधेशवादी दललाई जति फाइदा लोकतान्त्रिक गठबन्धनसँग हुन्छ त्यति फाइदा वामगठबन्धनसँग नहुने मधेसवादी दलका नेताहरु बताउँछन् । राजपा नेपालका एक नेताले भने– ‘वामगठबन्धनसँग सरकारमा गएमा मधेशवादी दलले तीन मन्त्रालय मात्र पाउने र लोकतान्त्रिक गठबन्धनमा मिल्दा पाँचदेखि छ वटा मन्त्रालय पाउन सकिने सम्भावना छ ।’

यता, भारतले पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण नहोस् भनि चाहेको देखिन्छ । वामगठबन्धनलाई भत्काएर माओवादी केन्द्र, काँग्रेस र मधेसवादी दल मिलाएर सरकार गठन गर्ने प्रयासहरु भइरहेको स्रोतको भनाइ छ ।

एमालेका कतिपय शीर्ष नेताहरुले दिएको अभिव्यक्तिका कारण पनि माओवादीका अध्यक्ष प्रचण्ड झस्केका छन् । शुक्रबार प्रचण्ड र ओलीबीच भएको वार्ताले ठोस रुप लिएको छैन । ओलीको भेटपछि शनिबार लाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *