बारामा फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

मंसिर २७, बारा । बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले हवाइ फायर गरेको छ । बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दिउसो साढे ३ बजे संघीय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको थियो ।

झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न २० भन्दा बढी हवाई फायर गरेको छ ।

बाजागाजासहित झुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय कांग्रेस कार्यकर्ताले जितिसकेपछि बाजागाजा र गानाबजाना बजाएर हल्ला नगर्न आग्रह गरेपछि विवाद सुरु भएको बताइएको छ । स्थानीय पत्रकार सिकेन्द्र पासवानका अनुसार कांग्रेसका कार्यकर्ताले सामान्य रुपमा तडक भडक नगरी जुलुसमा खुसियाली मनाउन आग्रह गर्दागर्दै फोरमका कार्यकर्ता आक्रामक बनेपछी विवादले झडपको रुप लिएको हो ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजबादी फोरमका रामसहाय यादवसहितको र्‍याली निकालिएको थियो ।

यता बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछी सुरुमा लाठीचार्ज गरेको बताएका छन् । झडप नियन्त्रण गर्ने क्रममा ४ प्रहरी समेत घाइते भएका छन् । झडपमा परी घाइते हुनेमा एक प्रहरी नायव नीरीक्षक र ३ म्यादी प्रहरी रहेका छन् ।

स्थिति असामान्य बन्दै गएपछि केही अश्रुग्यास र हवाईफायरसमेत भएको स्वीकार गर्दै वैदवारले घटनास्थलमा थप प्रहरी परिचालन गरिएको बताएका छन् ।

घटना स्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरिक्षक भुवनेस्वर प्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ ।

झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर गरेको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *