बामगठबन्धन दुई तिहाई बहुमतको संघारमा : प्रचण्डसहित टोपबहादुरको मत परिणाम आउँन बाँकी

“
काठमाडौं, मंसिर २५ । हालसम्म पहिलो र दोस्रो चरणमा सम्पन्न भएका प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्राप्त मत परिणाम अनुसार वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको देखिछ । बाम गठबन्धनले प्रतिननिधिसभातर्फ १ सय ८ स्थानमा विजयी हासिल गरेको छ । एमालेले एक्लैले प्रत्यक्षतर्फ ७४ जित हासिल गरेको छ ।
मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता कायमै रहेकाले दुई तिहाई निश्चित भएको देखिन्छ । पछिल्लो परिणाम एमालेले ७ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिनेमा सुनसरी ३ मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम र काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा छन् । त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दिपकप्रकाश भट्टले अग्रता लिइरहेका छन् ।
प्रत्यक्षतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म ३१ सिट जितेर ५ ठाउँमा अग्रता लिइरहेको छ । सर्लाही ३ मा रामेश्वर राय, चितवन ३ मा प्रचण्ड, अर्घाखाँचीमा टोपवहादुर रायमाझी, धनुषा १ मा मात्रिका यादव र सिरहा २ मा सुरेशचन्द्र दासले अग्रता लिइरहेका छन् ।
०७० सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । उसले अहिलेसम्म १७ सिटमा विजय हासिल गर्दा ३ ठाउँमा अग्रता लिइरहेको छ । यी सबै ठाउँमा जित्दा पनि उसले २५ सिटभित्र सीमित हुनुपर्ने देखिएको छ ।
कांग्रेसका सिताराम मेहता सुनसरी २, प्रदिप गिरी सिरहा १ र देवेन्द्रराज कँडेलले भने नवलपरासी २ मा विजयी हासिल गरिसकेका छन् ।
त्यस्तै, संघीय समाजवादी फोरम ७ सिट जितेर चौथो स्थानमा रहेको छ । फोरमले २ ठाउँमा अग्रता लिइरहेको छ । महोत्तरी ४ मा सुरेन्द्र यादव र पर्सा ३ मा हरिनारायण रौनियारले अग्रा लिइरहेका छन् ।
राजपा नेपाल ७ स्थान जितेर पाँचौ भइरहँदा ३ ठाउँमा अग्रता लिइरहेको छ । राजपाका रेशलाल चौधरीले कैलाली १ र राकेश मिश्रले सर्लाही ४ मा अग्रता लिइरहेका छन् ।
राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् भने स्वतन्त्रबाट हुम्लामा माओवादीका पोलिटव्यूरो सदस्य छक्कवहादुर लामा बागी उम्मेदवारका रुपमा बिजयी भएका छन् । नेपाल मजदूर किसान पार्टीले भक्तपुर १ मा अग्रता लिइरहेको छ ।
“








