स्थानीय तह निर्वाचनमा मतदान गर्ने सहि तरिका ( भिडीयो सहित)

असार १३ । भोलि हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मत खेर नजाओस् भन्ने चाहनु हुन्छ भने तपाईँले भोट हाल्दा केही कुरामा ध्यान दिनु पर्ने हुन्छ । यसपटकको निर्वाचनमा मतदाताले सात वटा छाप लगाउनु पर्छ । मतपत्र लामो र ठूलो हुन्छ । त्यसैले, यस अघिका निर्वाचनमा भन्दा यसपटक मत हाल्दा अलि धेरै ध्यान दिनुपर्ने हुन्छ । आफ्नो मत बदर हुनबाट बचाउन सबैभन्दा पहिले मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन भनेर हेर्नुपर्छ । किनभने मतदान अधिकृतको हस्ताक्षर नभएको मत्रपत्र बदर हुन्छ । मतपत्रको तल्लो भागमा मतदान अधिकृतले हस्ताक्षर गर्ने ठाउँ हुन्छ त्यहीँ हेर्नुपर्छ ।

मत्रपत्र लिएपछि गोप्य मतदान गर्ने ठाउँमा गएर मत्रपत्रमा सात वटा छाप लगाउने हो । यसरी छाप लगाउँदा पहिला पाँच वटा ठाडो लहरमा प्रत्येकमा एउटा छाप लगाउनु पर्छ । पहिलो लहरमा मेयर वा गाउँपालिकाको अध्यक्षको चुनाव चिन्ह हुन्छ । यसमा आफूलाई मन परेको चुनाव चिन्हमा एउटा छाप लगाउनुपर्छ । दोस्रो लहरमा उपप्रमुख, तेस्रो लहरमा वडाध्यक्ष, चौथो लहरमा वडा महिला सदस्य र पाँचौ लहरमा दलित महिला वडा सदस्यको चुनाव चिन्ह हुन्छ । यी प्रत्येक लहरमा एउटा चिन्ह लगाउनु पर्छ । एउटै लहरमा दुई वा दुईभन्दा धेरै चिन्हमा छाप लगाएमा मत बदर हुन्छ। किनभने पहिलो लहर मेयर वा अध्यक्ष पदको लहर हो । दुईजना मेयरलाई भोट दिने कुरै भएन ।

त्यसैले पहिलो लहरमा मेयर वा अध्यक्षका लागि तल र माथि दुईवटा छाप लगाएमा मत बदर हुन्छ । दोस्रो देखि पाँचौँ सम्म पनि एउटा लहरमा एउटा मात्रै छाप लगाउनुपर्छ । छैटौं र सातौं लहरमा खुला वडा सदस्यका लागि मतदान गर्ने हो । यसमा भने जुन लहरमा लगाए पनि दुई वटा छाप लगाउन पाइन्छ । एउटै लहरमा दुईवटा छाप लगाउन पनि पाइन्छ र एकएक वटा बाँडेर दुईटै लहरमा लगाउन पनि पाइन्छ । किनभने खुलाबाट सबभन्दा धेरै मत ल्याउने दुईजना उमेद्वार विजयी हुन्छन् ।

छैँटौँ र सातौँमा तीन वटा भन्दा बढी छाप लगाएमा त्यो मत बदर हुन्छ । मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नु पर्छ । र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ । मसी लतपतिएमा मत बदर हुन्छ । कुनै एउटा लहरको मत बदर भएमा सबै मतपत्र बदर हुँदैन । जस्तै: अध्यक्षका लागि मत दिँदा विग्रियो भने त्यही मतमात्र बदर हुन्छ । उपाध्यक्ष, वडाअध्यक्ष, महिल सदस्य, दलित महिला सदस्य र दुई जना वडासदस्यका लागि हालेको मत भने सदर नै हुन्छ।

स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा छोएमा भने बदर हुन्छ । कोठा बाहिर छाप लगाएमा, दुईटा कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ । त्यसैले, आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरीपरीको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ । कहिलेकाँही मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ । त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सहि तरिकाले पट्याउनु पर्छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *