कला मन्दिरको नाट्य प्रशिक्षण सुरू

नारायणगढ । नारायणी कला मन्दिरले पहिलो पटक नाट्य प्रशिक्षण सुरू गरेको छ । सांस्कृतिक संस्थान नेपाल (राष्ट्रिय नाचघर) को आयोजनामा कला मन्दिरले नेपाली नाटकमार्फत दक्ष कलाकार उत्पादन गर्ने लक्ष्यसहित नाट्य प्रशिक्षण सुरू गरेको हो । आइतबारबाट सुरू भएको प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमको आइतबार सांस्कृतिक संस्थान नेपालका महाप्रवन्धक राजेश थापाले उद्घाटन गरे ।

उद्घाटनपश्चात संस्थानका महाप्रबन्धक थापाले नारायणी कला मन्दिर र संस्थानबीच दौँतरी सम्बन्ध रहेको बताए । पहिलो पटक कला मन्दिरसँग सहकार्य गर्ने मौका मिलेको भन्दै उनले आगामी दिनहरूमा पनि यो सहकार्यलाई निरन्तरता दिँदै जाने बताए । यसवर्ष नेपालका तीन ठाउँमा कार्यशाला गर्ने योजना भए पनि बर्दियामा विभिन्न प्राविधिक समस्याका कारण कार्यशाला गर्न नसकेको बताए । पूर्वाञ्चलको झोराहट नाट्य घरमा कार्यशाला सम्पन्न भएर पनि अहिले दैनिक नाटक मञ्चन भइरहेको जानकारी गराए । त्यसपछि चितवनमा कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । संस्थानले नेपाली कला र संस्कृति संरक्षण र सम्बद्र्धनका लागि फरक खालको कदम चालेको समेत जानकारी गराए । लोप हुँदै गएका पुराना नेपाली लोक गीतको खोजी गरी त्यसको संरक्षणको लागि फेरी रेकर्ड गराएर राख्ने योजना रहेको उनको भनाइ छ । ३० जना प्रशिक्षार्थीहरूलाई १५ दिनसम्म नरेन्द्र बरालले प्रशिक्षण दिनेछन् । प्रशिक्षक बरालले मोफसलमै पहिलो पटक सांस्कृतिक संस्थानले नाट्य प्रशिक्षण गरेको भन्दै यहाँका प्रशिक्षार्थीहरू वास्तवमै दक्ष कलाकार भएर जन्मिन सकिने विश्वास लिए ।

‘धेरै वर्ष पहिले नाटक प्रदर्शनका लागि म यहाँ आएको थिएँ,’ उनले भने, ‘आज आफैँ प्रशिक्षक भएर आउन पाउँदा अत्यन्तै खुसी लागेको छ ।’ प्रशिक्षार्थीहरूले ध्यानपूर्वक मेहेनत गरे १५ दिनभित्रै एउटा नाटक तयार पार्न सकिने उनको भनाइ छ । कार्यक्रममा बोल्दै नारायणी कला मन्दिरका पूर्वअध्यक्ष एवम् सल्लाहकार ऋद्धिचरण श्रेष्ठले कला संस्कृतिकोे संरक्षणमा नारायणी कला मन्दिरको भूमिका महत्वपूर्ण रहेको बताए । ‘किनकि यहाँबाट धेरै ख्यातिप्राप्त कलाकारहरू उत्पादन भइसकेका छन्,’ उनले भने । तर, नाटक विधामा भने कला मन्दिरले सोचेजस्तो काम गर्न नसकेको भन्दै यसपटकको १५ दिने कार्यशालाबाट नाट्य विधाले पनि निरन्तरता पाउनेमा विश्वास दिलाए । यस्तै १५ दिनको कार्यशाला गोष्ठीमार्फत दक्ष कलाकारको उत्पादन गर्न सकिने कला मन्दिरले विश्वास लिएको छ । अनौपचारिक रूपमा विभिन्न कलाकारहरू उत्पादन गरिसकेको कला मन्दिरले यस पटक भने फरक विधामा काम थालेको हो ।

चितवनमा २० जनाको कोटा निर्धारण गरिए पनि ३० जना प्रशिक्षार्थीहरूको उपस्थिति भएकोले पनि रंगमञ्चतर्फ युवाहरूको चासो धेरै भएको अनुमान लगाउन सकिने नारायणी कला मन्दिरका कार्यबहाक अध्यक्ष अमरदेव प्रधानले बताए । प्रशिक्षणपश्चात यसैलाई निरन्तरता दिँदै नियमित नाटक मञ्चन गर्ने वातावरण मिलाउने उनको भनाइ छ । कलामन्दिरले निःशुल्करूपमा तालिमको व्यवस्था गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *