विश्वकप टी–२० महिला छनोटः नेपालले थाइल्यान्डसँग अंक बाँड्यो

काठमाडौं, मंसिर ४ । थाइल्यान्डको बैंककमा जारी विश्वकप ट्वेन्टी–२० महिला छनोट क्रिकेटको पहिलो खेलमा नेपालले आयोजकसँग अंक बाँडेको छ ।

वर्षाका कारण खेल पूरा नभएर रद्द भएपछि नेपाल अंक बाँड्न बाध्य भएको हो ।

सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित् २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको थियो ।

आइवाइले अविजित २३ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सीता मगरले ११ रन खर्चेर २ तथा रुबिना क्षत्री र करुणा भण्डारीले १/१ विकेट लिए । दुई खेलाडी रनआउट भए ।

जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षतिबिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो ।

सोमबारै भएका अरु खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हरायो ।

पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । जवाफमा मलेसिया ४२ रनमै अलआउट भयो ।

त्यस्तै, युएईले चीनलाई १६ रनले हरायो । युएईले वर्षाले प्रभावित खेलमा ५ ओभरमा १ विकेटको क्षतिमा ४० रन बनाएको थियो । जवाफमा चीनले २ विकेटको क्षतिमा २४ रनमात्र बनाउन सक्यो ।

दोस्रो खेलमा नेपालले मंगलबार हङकङसँग खेल्दैछ । त्यसैगरी, मलेसियाले चीन तथा थाइल्यान्डले युएईसँग खेल्दैछ ।

एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले विश्वकप छनोट खेलिरहेका हुन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *