यूएईको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, मृत्युदण्डको सजाय सुनाइएका बमको रिहाइका लागि आग्रह
“
काठमाडौं, कात्तिक ३० । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स यूएईको ४ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किनुभएको छ । युएईका युवराज तथा सशस्त्र बलका नायव सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्म्यानको निमन्त्रणामा राष्ट्रपति भण्डारी गत सोमबार अवुधावी जानु भएको थियो ।
यूएईको भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका शासक र युवराजसँग मृत्युदण्डको सजाय सुनाइएका अमरबहादुर बमको रिहाइका लागि आग्रह गर्नु भएको छ ।
बम अन्जानमा वा परिवन्धमा परेको हुनसक्ने भन्दै उहाँले रिहाइका लागि आग्रह गर्नु भएको हो । दार्चुलाको धारी गाबिसका बम सन् २००३ मा सवारी चालकको काम ग र्न यूएई पुगेका थिए । तर, त्यहाँ पुगेको तेस्रो दिन भएको एक हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले उनलाई दोषी ठहर गरेको छ । २००७ मा मृत्युदण्डको सजाय सुनाएका उनी अहिले पनि जेलमै छन् ।
राष्ट्रपति भण्डारीले नेपाल र यूएईबीचको आपसी हित तथा पूर्वाधार एवं पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई थप सक्रिय तथा प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“