चुरोट नपिउने कर्मचारीलाई ५ दिने तलबी बिदा

एजेन्सी । चुरोट पिउने बहानामा कार्यालय समयमा पटक पटक बाहिर निस्कने कामचोर कर्मचारीलाई मध्यनजर गर्दै जापानको एक कम्पनीले गज्जबको योजना ल्याएको छ । यो योजनाबाट धूम्रपानका अम्मलीहरु फिस्स हुनेछन् भने अम्मलीहरु पटक पटक चुरोट पिउन बाहिर निस्किरहँदा उसको काम पनि आफूले गर्नुपरेर दिक्क बनेका चुरोट नपिउने कर्मचारीहरू खुसीले गद्गद् बन्नेछन् ।

जापानको एक मार्केटिङ कम्पनी पियाला यिंकमा धूम्रपान गर्ने कर्मचारीलाई कार्यालय समयमा चुरोट पिउन दिइने छुट्टीका कारण धूम्रपान नगर्ने कर्मचारीहरू निकै हैरान भएछन् । सोही कुरालाई विचार गर्दै तथा कर्मचारीलाई धूम्रपानको लत छाड्न प्रेरित गर्नका लागि त्यो कम्पनीले अनौठो नियम लागू गरेको छ । जस अनुसार अबदेखि धूम्रपान नगर्ने कर्मचारीहरुले वर्षमा ६ दिन अतिरिक्त तलबी बिदा पाउनेछन् ।

उक्त कम्पनीको कार्यालय एक भवनको २९ औँ तलामा छ । त्यसैले कार्यालय समयमा कर्मचारीहरूलाई चुरोट पिउन दिइएको ब्रेकमा कुनै कर्मचारी चुरोट पिउन भुइँतलाको धूम्रपान कक्षमा झरेर, चुरोट पिइवरी आफ्नो कार्यकक्षमा फर्किनका लागि कम्तीमा पनि १५ मिनेट लाग्दो रहेछ । यस्तोमा कुनै कर्मचारीले दिनमा चुरोट ब्रेक ४ पटक सम्म लियो भने त दिनको एक घण्टा काम नै गर्नुपरेन । यस हिसाबले वर्षमा १५ दिन हुन्छ । चुरोट पिउनेले वर्षमा १५ दिन काम नगरीकन बिताएको कुरालाई ध्यान दिँदै कम्पनीले चुरोट नपिउने कर्मचारीलाई पुरस्कार स्वरूप ५ दिने तलबी बिदा दिने निर्णय गरेको बताइएको छ ।

कम्पनीका सिइओका अनुसार यो नियम लागू भएपछि ४ जना कर्मचारीले चुरोट पिउन छाडिसकेका छन् । साँच्ची कति राम्रो नियम ? यस्तो नियम त हाम्रो देशमा पनि हुनुपर्ने, कि कसो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *