नयाँ शक्तिबाट दलमर्दन कामी

“
भरतराज शर्मा(गोपाल)
धरान,कात्तिक १८ । एक दशक अघिदेखि काठमाण्डौंमा वसेर सामाजिक र राजनीतिक क्षेत्रमा सकृय धरान–१७ का दलमर्दन कामीलाई नयाँ शक्ति पार्टीले यसपालीको निर्वाचनमा पार्टीको तर्फबाट सुनसरी १ (क) क्षेत्रबाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उम्मेदवारको घोषणा गरेको छ ।
राजनीतिक क्षेत्रबाट राज्यको नीति निर्माण तहमा पुगेर सेवाका काम गर्ने चाहना वमोजिम प्रत्यक्षतर्फ उम्मेदवार भएको उनले बताए । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पाटी नेपालबाट उनको उम्मेद्धवारी हो । उक्त पार्टीको चुनावी चिन्ह आँखा हो ।
नयाँ शक्ति पार्टीमा क्रियाशिल उनि अहिले पार्टीको १ नम्बर प्रदेशका प्रवक्ता हुन् । दलमर्दन धरानमा मोसा सिलवालका नामबाट समेत परिचित छन् । केन्द्रीय राजनीतिमा होमिए पछि काठमाण्डौंमा परिवार सहित अस्थायी बसोबास गर्दै आएका दलमर्दनले स्थानीय निर्वाचनमा धरानबाटै मतदान गरेका थिए ।
दलमर्दनलाई पार्टीले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वारमा सिफारिस गरेतपनि आफु प्रत्यक्षबाटै चुनावमा प्रतिष्पर्धा गर्न चाहेको बताए । उनले १ नम्बर प्रदेशको राजधानी धरानलाई बनाउने र धरानको समग्र विकासका लागि नयाँ शक्ति पार्टीले लिएको आर्थिक समृद्धिको नारालाई साकार पार्न आफ्नो उम्मेद्वारी रहेको दाबी गरेका छन् ।
उनले धरानका उत्पीडित जातजाति, अल्पसंख्यक धार्मिक समुदाय, सुकुम्बासी, दलित, आदिवासी जनजाति, उत्पीडनमा परेका क्षेत्री बाहुन आदिको सम्मानजनक मत पाउने विश्वास व्यक्त गरेका छन् ।
उनीसँगै नयाँ शक्ति पार्टीको प्रतिनिधिसभाका लागि पदम बहादुर राई र प्रदेश सभा (ख)बाट गोकुल थापालाई पार्टीले टिकट दिएको छ ।
“








