दायाँ–बायाँ जताततै गोविन्दकै मुहार !
“
काठामाडौं,कात्तिक ८ । के काँग्रेस पार्टीमा मान्छे सकिएकै हुन् ? वा काँग्रेसमा पैसा पेल्नेले बाहेक अरूले स्थानै नपाउने हुन् ? दाँया फर्के पनि गोविन्द पोखरेल, बाँया फर्के पनि गोविन्द पोखरेल । उनी मात्र होइन युवराज भुषाल,दीपकुमार उपाध्याय यी बाहेक काँग्रेसमा योग्य मान्छे नै छैनन् कि क्या हो ?
सचिवबाट निवृत्त भएलगतै काँग्रेस नेता रामचन्द्र पौडेलकै रुचिमा उनका सम्धीलाई मालदार ठाउँमा लगेर जागिरे बनाइयो । अहिले त्यहाँबाट तानेर ल्याइयो र पुननिर्माण प्राधिकरणमा थन्काइएको छ । उनी मात्र होइन अयोग्य र असक्षमको बिल्ला लागेको र नेपालको भन्दा बढी भारतभक्त भएको भन्दै ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको दीप कुमार उपाध्यायलाई पुनः भारतको राजदूत बनाइयो । अहिले निर्वाचनको संघारमा उनको राजीनामा स्वीकृत गरेर टिकट दिइएको छ । नेपाली काँग्रेस भित्र सम्भवतः गोविन्द पोखरेलजस्ता छविका व्यक्तिहरुकै हालिमुहाली छ । उनीहरूकै भागमा पर्ने गरेको छ, चिची पनि पापा पनि, खान पाउँने भाग्यमानी विरल्लै होलान् ।
घुम्दैँ फिर्दै फेरि
प्यूठान घर भएका पोखरेल यस अगाडि पुल्चोक क्याम्पसका प्राध्यापक थिए । ऊर्जा विषयमा उनी प्राध्यापन गराउथें । उनी तिनै भाग्य बलेका मान्छे हुन्, सबैभन्दा ठुलो प्रोजेक्टको बजेट रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा लामो समयसम्म कार्यकारी निर्देशकको पदभार सम्हाले । त्यहाँबाट उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो । यही बिचमा तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले अध्यादेश मार्फत गठन गरेको प्राधिकरणमा सिइओमा प्रा.डा. गोविन्दराज पोखरेल नियुक्त भए । त्यस पछाडिको संसद्ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ऐन पारित गरेपछि केपी ओली नेतृत्वको सरकारले पोखरेललाई हटाएर सुशील ज्ञवालीलाई सिइओ नियुक्त गर्यो । ओली सरकार ढलेपछि पुन प्रचण्डको कृपाबाट उनी प्राधिकरणमा आइपुगे । भूकम्पपीडितको विचल्ली भइरहँदा उनी पनि पुनर्निर्माणको कामलाई कम र राजनीतिक काममा बढी सक्रिय रहे । पछिल्लो चरणमा प्युठान जिल्लाबाट उम्मेदवार सिफारिस भए र राजीनामा ठोके स्वीकृत पनि भयो ।
सम्धि भुषालको ‘इन्ट्रि’
स्मरण रहोस्, यस अगाडि काँग्रेसको १३ औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यका उम्मेद्धार थिए तर भारी मतले पराजित भएका व्यक्ति हुन । यसको अर्थ पार्टी पक्तिंमा उनलाई रुचाइएको छैन । अन्ततः पुनर्निर्माणको काम सुस्त गतिमा भइरहँदा त्यो स्थान सम्हाल्न युवराज भुषाल आइपुगेका छन् । उनी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन् । अब, भुषालले पुनर्निर्माण प्राधिकरणको चौथो सिइओका रूपमा कार्यभार सम्हालेका छन् । राजनीतिका कारण सबै क्षेत्र थिलथिलो भएझैं पुननिर्माणको काम समेत थिलो भएको छ । पाँच बर्षभत्रै पुननिर्माणको सबै काम सक्ने योजनासहित पुनर्निर्माण प्राधिकरण गठन भएको थियो । तर, हालसम्म पुनर्निर्माणको कामले खासै गति लिन सकिरहेको छैन । सम्पदाहरुको पुननिर्माणले खासै उपलब्धि पाएको छैन भने निजी घर निर्माणमा पनि ठोस प्रगति भएको देखिन्न । प्राधिकरण स्रोतका अनुसार हालसम्म जम्मा ६२ हजार १ सय ८९ भूकम्प पीडितहरु नयाँ घर बनाएर बसिरहेका छन् । ७ लाख ६७ हजार ७ सय ५ परिवार भूकम्प पीडितमध्ये ६ लाख ४१ हजार ३ सय १० परिवारले अनुदान सम्झौता गरेका छन् भने ६ लाख २० हजार ६ सय ४६ परिवारले पहिलो किस्ताको रकम हात पारेका छन् ।
“