बाम तालमेल तत्कालिन लाभको लागि मात्र हो

“
चुनावी तालमेलको स्वरूप हेरेर तालमेल गर्न सकिँने बताउँने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पार्टीले आगामी हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा ‘तालमेल गर्न पनि सकिन्छ नगर्न पनि सकिन्छ’ भन्ने प्रस्ट पारेपनि तालमेलको प्रयत्न जारी नै रहेको बताउँछन् । तालमेल नै गर्नुपरेमा वामपन्थीसँगै गर्ने तर कसैसँग तालमेल नगर्दैमा आतंकित र सर्वस्व नै गयो भन्ने भावना नउब्जिएको बताउने उनै केसीसँग मकालुखबर संवाददाता लोक राज रुम्दालीले गरेको कुराकानीको सम्पादित अंश :
तालमेल तत्कालीन लाभको लागि मात्र हो
वामपन्थी दल एक हुनुले देशमा सकारात्क सन्देश त गएको छ । तर, वामपन्थीको आचरण, चालचलन, भेषभुषा र आनीबानी सन्तोषजनक छैन । २००७ सालपश्चात् देशको राष्ट्रियता, अखण्डता जोगाउनमा वामपन्थीहरुको ऐतिहासिक भूमिका रह्यो । पछिल्ला दिनहरूमा वामपन्थीहरु सत्ता प्राप्तिका लागि झन् झन् विचलन हुँदै गएको देखिन्छ । तैपनि अहिलेको परिस्थितिमा वामपन्थीहरुबीचमा चुनाव मिलेर लड्ने जुन सङ्घर्ष भएको छ,यसले सकारात्मक सन्देश नै दिएको छ । यो तालमेल त तत्कालीक लाभको लागि मात्र हो । तालमेल गरेर जाँदा बढी सफलता हासिल गर्न सकिन्छ भन्ने मात्र हो । सुरुमै प्रचण्ड र ओलीको सहकार्यमा सरकार पनि बनेको थियो । एमाले र माओवादीबीचमा भित्र के सल्लाह भएको हो, त्यो थाहा भएन । न त ओलीले नै मलाई यसबारे जानकारी गराएका छन् न त प्रचण्डले नै । मैले नि मिडियामार्फत् नै यी सबै कुरा थाहा पाएको हुँ । त्यसैले दुईबीचमा जे जस्तो सर्त भए पनि त्यतिखेरको सरकारलाई निरन्तरता दिनुपथ्र्यौ । संविधान जारी गर्दा हामीले सक्दो सहयोग गरेका नै थियौँ । त्यस कारण एमाले–माओवादी मिलेर बनेको सरकारले देशमा राम्रो सन्देश गएको थियो । त्यति बेला उनीहरू जसरी मिलेर अघि बढे त्यसरी नै भारतीय शासक तिल्मिलाए अनि सरकार भत्काइयो । नभन्दै सरकार भत्काइयो । यहीँ ठुलो गल्ती थियो दुवैलाई । दुवैले यसको बावजुद अघि बढ्न सक्नुपथ्र्यौ । तर सकेनन् ।
बाबुराम अजिब प्राणी
सबैलाई यहीँ भो आश्चर्य ! डा.बाबुरामलाई त मैले उहिल्यै देखि चिनेको व्यक्ति हुँ । उनी जुनबेला भारतमा अध्ययन गरिरहेका थिए, त्यतिबेलादेखि नै हामीसित नजिक थिए । उनको साह्रै अस्थिरता छ । ०४८ सालको संसदीय चुनावमा बाबुराम बहिष्कार गर्ने पक्षमा थिए,म भाग लिने पक्षमा थिए । तर,पछि पार्टीले बहिष्कार नीति पास गर्यो । दुई हप्ता नबित्दै उनी मसालबाट अलग हुन पुगे । अनौठो कुरा त के भयो भने पहिला चुनावमा बहिष्कार गर्ने डा. बाबुरामको नेतृत्वमा एकता केन्द्र पार्टी खोलेर को को छौँ संसद्मा भाग लिने भन्दै बाबुरामसहित टोप बहादुर रायमाझी, हरिबोल गजुरेलले जात्रा देखाए । कालान्तारमा दश वर्षे जनयुद्ध पनि भयो । नभन्दै डा. बाबुराम प्रधानमन्त्री बने । प्रधानमन्त्रीबाट बहिर्गमन भएका उनी केही समय माओवादीमा रहेपनि स्थिर भएर बस्न सकेनन् । अन्तत: निस्किएर नै छाडे । र, नयाँ पार्टी खोलेर देशको आर्थिक उन्नतितर्फ अग्रसर भए तर भनेजस्तो कहाँ सजिलो हुन्छ र ! अहिले ‘सूर्य’ चिन्ह्मै सबै जना लड्नुपर्छ भनेर गठबन्धमा गासिए । हप्ता दिन नबित्दै फेरि उनले अर्काे जात्रा देखाए । गोर्खा क्षेत्र नम्बर दुईमा टिकट नपाएर गठबन्धनबाट उछिट्टिएको हल्ला छ । के हो के के ! अहिले फेरि उनी रुखतिर चढ्न थालेका छन् रे ! भन्ने हल्ला सुन्छु । त्यसैले बाबुरामको राजनीति बुझ्न सकिँन । बाहिर पनि यस्तै हल्ला सुन्छु । जनतलाई त बाबुरामको सर्टिफिकेटको भ्रम हो मान्छेलाई । सर्टिफिकेटधारी त यहाँ कति छन् कति तर उहाँको सर्टिफिकेटको बढी चर्चा चल्यो । धेरै पढे लेखेको भनेर पनि होला ! त्यसैले देशलाई उभो नलगाउँने त यस्तै बढी पढे लेखेकाहरुले नै त हो । सबैको बुद्धि भ्रष्ट होइन तर बाबुराजस्ता केही यस्ता पनि छन् । अब, किन यसो गरे,बाबुरामलाई नै भेटेर सोध्नै पर्ला । घरी कता,घरी कता,उनी अजिब प्राणी हुन् ।
खेल्ने खेलाडी दोषी हो
अहिलेको यो चुनावी एकता मात्र हो । तर, चुनावपछि पार्टी एकता कसरी हुन्छ त्यो हेर्न बाँकी छ । अहिले अवस्थामा एमाले–माओवादीले चुनावी अभियान जसरी हुन्छ सफल पार्नु नै उचित देख्छु । सबभन्दा पहिलो कुरा त, नेपालमा राजनीति गर्ने भनेको राष्ट्रका लागि भन्दा पनि व्यक्तिको महत्वकाँक्षा र पार्टीका लागि गरिँदै आइएको छ । यस्ले राजनीति व्यवसायी बनेको छ । आफ्नो निर्णय आफैँ गर्न नसकेपछि बाहिरकालाई द्वोष दिनु वाञ्छनिय हैन । आफैँ निर्णयप्रति कमजोर भएपछि खेल्ने त खेलाइहाल्छ नि ! यो नेपालको मात्र सन्दर्भमा लागू हुने होइन, संसारभर नै हुन्छ । त्यसैले खेलाउँनेको होइन खेल्ने खेलाडी नै द्वोषि हो ।
उदाहरण हेरौँ
झन् झन् लुते भएपछि खेल खेली रहन्छ नि ! यहाँ अथाह प्राकृतिक स्रोत र साधन छ । त्यसलाई उपयोग गर्नका लागि बाह्य शक्तिका राष्ट्रहरूले चलखेल गरिनै रहन्छन् । तर, मुख्य कुरा देशका राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर चुनाव जित्ने अनि सत्तामा जाने र आफ्नो महत्वकाँक्षा पूरा गर्ने,यहीँ मौकामा त हो बाहिरकाले चौका हान्ने । जब उनीहरूले देशको स्वार्थलाई केन्द्रबिन्दु बनाएर राजनीति गरेको भए त बाहिरकाले त खेलाउँन त के छुन सम्म पनि सक्दैनन् । कयौँ उदाहरण पनि त छन् नि, नेपालमा । ०६३ साल वैशाख ८ गते संवैधानिक राजालाई राजकै ठाउँमा राख्ने । तर, राजाले सरकार सञ्चालनमा हात नहाल्ने, स्वतन्त्र हुनुपर्ने शक्ति केन्द्रहरुको सुझाव थियो । तर, राजा मानेनन् । राजालाई बाँधेको दाम्लामा ठोेकेको किलामा बस्न लगाएपनि मानेन् । ठोकेको किला र बाँधेको दाम्लामा नबसेपछि वैशाख ११ गते गणतन्त्र आयो । जब, गणतान्त्रिक संविधान जारी गर्ने बेलामा भारतबाट वरिष्ठ कर्मचारी आएपछि धम्की आयो तर राजनीतिक शक्तिहरू डगमगाएनन् । नेपाली जनताले सबै दललाई आफ्नो भए भरको साथ सहयोग दिए । त्यसपछि पश्चिमी, दक्षिणी मुलुक आफैँ लाखापाखा लागेको उदाहरण हामीमाझ छ । त्यसैले आफैँ क्षमतावान् भइयो भने कसैले छुन नसक्दो रहेछ नि ! तर, अहिले यो दृढ मक्किन पुगेको ।
लोकतान्त्रिक रोजिँदैन
चुनावी तालमेल गर्ने मिति ‘डेट अफ’ भएको छैन । तालमेल गर्न पनि सकिन्छ नगर्न पनि सकिन्छ । तर,प्रयत्न जारी नै छ । कसैसँग तालमेल नगर्दैमा आतंकित र सर्वस्व नै भयो भन्नेवाला छैनौँ । तर, कुनै पनि हालतमा काँग्रेसको लोकतान्त्रिकसँग तालमेल गरिँदैन । तालमेल गर्ने ‘अर्जेन्ट’ नै पर्यो भने एमाले–माओवादीको वामपन्थी गठबन्धनसँगै गरिन्छ । नभए एक्लै लड्छौँ । त्यसैले तालेमप्रति हामीलाई कुनै आपत्ति छैन । लड्दा खेरि जित्नै पर्छ भन्ने छैन नि ! जनताले पत्याए भने संसद्मा पनि आउछौँ, प्रदेशमा पनि आउँछौँ । जनताले पत्याएनन् भने हामी आफ्नो राजनीतिलाई अझ सशक्त ढङ्गले अघि बढाउँछौँ । हामी पार्टी एकता गर्ने पक्षमा त छँदै छैनौँ । कुरा मिल्यो भने चुनावी तालमेलसम्म गरिन्छ । स्थानीय तहमा त गणतन्त्र पक्षधर र लोकतान्त्रिक पक्षधरको पनि त तालमेल भएको देखियो नि ! तर, हामी तालमेल नै गर्नुपर्यो भने लोकतान्त्रिक हैन गणतान्त्रिकसँगै गर्र्छाै । अब,कति व्यवहारिक र सम्भव हुन्छ हेरौँ ।
समानुपातिक उम्मेदवारको निर्वाचन आयोगमै गएर नाम पेस गरेका छौँ । अब, प्रत्यक्षको पनि कतिपय उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । तर, म प्रत्यक्षबाट लड्दिन । म बाग्लुङबाट समानुपातिकतर्फबाट लड्दैछु । तर, हारिन्छ भनेर होइन । पार्टीको सिद्धान्तअनुरुप नै यी सबै काम कारबाही अघि सारिएको हो ।
पटक पटक राष्ट्रको उच्च कार्यकारी पदमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको कुनै उल्लेखनीय भूमिका नै छैन । पहिले ०५२ सालमा सरकारमा जाँदा सत्ताको दुरुपयोग गरे । पाँच/पाँच जना मण्डलेहरुलाई दुई÷दुई हजार डलर दिएर संसदभित्रको सत्ता समिकरण मिलाएर थाइल्याण्ड भ्रमणतर्फ उडाए । प्रजातन्त्रलाई दरबारमै बुझाए । अहिले फेरि भाग्यले प्रधानमन्त्री बन्ने अवसर पाए तर सुध्रिएनन् । अस्ति निर्वाचन आयोगमा निर्वाचन आचासंहितामा पहिलो हस्ताक्षर धस्काउँने उनी नै थिए । त्यसपछि अन्तिम अन्तिमतिर हाम्रो पालो थियो । आयोगको कोठाभित्र हाँस्दै हस्ताक्षर गरेर बालुवाटार फर्केका उनले तुरुन्तै आचारसंहिता उल्लंघन गरेर पञ्चेहरुलाई आफ्नो सरकारमा थपे । वीपी, गणेशमानहरुको नाम भजाएर मोटाएका उनले समाजवादको कुरा गर्छन् । देशमा भएका सम्पूर्ण उद्योगधन्दाहरु निजी बनाउँछन् । त्यस कारण देशको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य भूमिका खेलेपछि अहिलेको काँग्रेसको भूमिका केही देखिँदैन । जसको शक्ति उसको भक्ति भन्ने त उखानै साबित भएको छ । पहिलो कुरा त माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एमालेसँगको गठबन्धन भत्काएर/झुक्याएर आफू बसेको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउँदा काँग्रेसले भारतसँग नाता गसाएर उपयोग गर्यो । त्यसपछि दश महिना प्रधानमन्त्री कुर्सीमा बसे । उता,काँग्रेसको ध्याउन्न चाहिँ के थियो भने वामपन्थीहरुलाई कुर्सीका आशा देखाएर एकअर्कामा लडाइरहने । गराइपनि रहेको छ । कुनै पनि हालतमा वामपन्थीहरुबीच एकता गर्न नदिने र भारतीय विस्तारवाद भित्र्याउँने रणनीति थियो । भने, माओवादीलाई दुई/चार वर्ष आफ्नो पकडमा लिएर वामपन्थीहरुलाई लाखा पाखा लगाउने काँग्रेसले मुख्य जाल बुनेको थियो । यो सबै खेल देउवामार्फत् भारतले रचेको थियो । अहिलेको चुनावी तालमेल र पार्टी एकीकरणले भने काँग्रेस झस्किएको छ तर दुई जिब्रे प्रचण्डले कुन बेला कहाँ के गर्छन् त्यो थाहा छैन ।
‘चित्रे को हो छर्लंगै छ ’
तत्कालीन ओली सरकारमा मन्त्री बन्दा मैले त्यो मन्त्रिपरिषद्को विस्तारमाथि विरोध गरे । ४१ जनाको जम्बो मन्त्रिपरिषद् ठिक थियो भन्ने पक्षमा म थिइन । सत्ता लाभका लागि नभई पार्टीको सिद्धान्तअनुरुप नै मैले आफ्नो भूमिका निर्वाह गर्न तत्कालीन सरकारमा सहभागी बने । तर,यतिसम्म भयो कि, सहकारी मन्त्री राजधानीमा हँुदा हुँदै कार्यक्रममा प्रधानमन्त्रीलाई सहकारी उद्घाटन कार्यक्रममा बोलाइयो । चित्रेले बिताउँने भो भन्दै मबिरुद्ध खनिए । हाल देशभर ३७ हजार भन्दा बढी सहकारी सञ्चालनमा छन् । तर, अधिकांश सबै लुटधन्दाका नाममा खोलिएका छन् । त्यस्ता लुटने सहकारीको उद्घाटन गर्नु के ठिक हो त ? तिनीहरूलाई तह लगाउन सहकारी नीति पनि लागू गरे तर पछि आफ्नो जिम्मेवारीबाट हट्न नपाउँदै त्यो नीतिलाई तोडमोड पारियो ।
त्यसैले चित्र बहादुर केसी सत्तामा गएर के के गरे ? यो सबैलाई जगजाहेर नै छ । नौँ महिना सरकारमा बसेर चित्रबहादुरले आफ्नो स्वार्थका लागि के के गरे त्यो त नेपाली जनताले बुझिरहेका छन् नि ! अब, निर्वाचन सकिएपछि मुलुकमा ८ सय ८५ जना सांसदहरु बन्दैछन् । यो तर्फ पनि सचेत हुन जरुरी देखिन्छ । मुलुकले धान्नै सक्दैन । मुलुक धराशयी बन्ने देखिन्छ । अर्कातिर सङ्घीयताका नाममा देशलाई भड्खालोतर्फ लगिएको छ । जसले जुनसुकै काम गरिएपनि जनता र राष्ट्रका हितमा गरिनुपर्छ । मेरो भन्नु यति नै हो ।
“








