जर्मनीमा छात्रवृत्ति खोज्दै हुनुहुन्छ ? यसाे गर्नुहाेस्

राम्रो शैक्षिक पृष्ठभूमि र अध्ययन पहिलो प्राथमिकता हुने विद्यार्थीहरूलाई जर्मनी निश्चय पनि एउटा उर्वर भूमि हो। सस्तो र स्तरीय शिक्षा दिने विश्वका निक्कै थोरै मुलुकहरूमा जर्मनी पनि पर्छ। हरेक वर्ष नेपालबाटै DAAD (Deutscher Akademischer Austausch Dienst) छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या भन्दा आफ्नै खर्चमा जर्मनी अध्ययन गर्न आउने विद्यार्थीहरूको सङ्ख्या उच्च हुने गर्छ।

अध्ययनलाई प्राथमिकतामा राख्नुभएका अनि विभिन्न कारणहरूले नेपालबाटै छात्रवृत्ति पाएर आउन असफल हुनु भएका विद्यार्थीहरू जसले आफ्नै खर्चमा सुख दुःख गरी पढौला भन्ने सोचेर जर्मनी आउँदै हुनुहुन्छ अथवा आइसक्नु भएको छ अनि आफूलाई योग्य ठान्नु हुन्छ तर रनभुल्लमा पर्नु भएको छ भने कृपया जर्मनीमा उपलब्ध केही अन्य अवसर र सम्भावनातिर पनि एक पल्ट ध्यान दिनु होला है।

यहाँ अन्य प्रक्रियाहरू जस्तै विषय, विश्वविद्यालय अथवा उच्च शिक्षण संस्था कसरी छनोट गर्ने,अध्यन शुल्क, अध्ययनका क्रममा जागिरका सम्भावना, मासिक हुने खर्च आदी विषयमा भन्दा पनि, आफ्नै खर्चमा अध्ययन गर्छु भनेर नेपालबाट जर्मनी आउने विद्यार्थीहरूको लागि यहाँ आइसकेपछि पनि धेरै अन्य छात्रवृत्तिका सभावनाहरु हुने गर्दछन् भनेर अलिकति जानकारी भएको सूचनाहरू बाँड्न खोजेको मात्र हो। जर्मनीमा थुप्रै छात्रवृत्तिका अवसरहरू छन्, प्रयास गर्नु होला है।

जब नेपालबाट विद्यार्थी यहाँ आइसकेर नियमानुसार विश्वविद्यालय अथवा उच्च शिक्षण संस्थामा भर्ना हुन्छन् र अध्ययन सुरु गर्दछन् त्यस लगत्तै ती विद्यार्थीहरू यहाँका विभिन्न सङ्घ संस्था र संगठनहरुमा छात्रवृत्तिका निम्ति आवेदन दिन योग्य हुन्छन्। त्यस्ता सङ्घ, संस्था र संगठनहरुमा तोकिएको समयसीमा भित्र छात्रवृत्तिका निम्ति आवेदन दिनका लागि तिनका न्यूनतम आवश्यकताहरू विद्यार्थीले पुरा गरेको हुनु पर्दछ। सामान्यतया धेरै विद्यार्थीहरू सित त्यस्ता न्यूनतम आवश्यकता स्वभाविक रूपमै हुने गर्दछ । छात्रवृत्तिमा आवेदन दिएको मितिले छात्रवृत्तिको निर्णय हुन साधारणतय ५ देखि ६ महिना समय लाग्ने गर्दछ र विभिन्न चरणका ल्याकत परीक्षा (प्रारम्भिक छनौट, अन्तर्वाता र अन्य) हुने गर्दछन् । सामान्यतया वर्षमा २ पटक यस्ता छात्रवृत्तिमा आवेदन दिन सकिने भयता पनि कति पटक सम्म आवेदन दिन सकिने भन्ने कुरा, आवेदनका लागि न्यूनतम आवश्यकता , कुन कुन तह, कुन कुन विषय अध्ययन गर्नेले आवेदन दिन पाउने नपाउने, आवेदन दिन सकिने अन्तिम मिति, छात्रवृत्ति निर्णय हुन लाग्ने समय र ल्याकत परीक्षाका चरणहरू हरेक सङ्घ संस्था र सङ्गठन अनुसार बेग्ला बेग्लै पनि हुने गर्दछन् । समग्रमा व्यवहारिक भाषामा भन्नु पर्दा एउटा विद्यार्थी यदि अक्टोबर सेसनबाट सुरु हुने आफ्नो उच्च शिक्षा अध्यनका लागि सेप्टेम्बरको मध्यमा जर्मनी आएको छ र उसले तोकिएको समय सीमा भित्र तोकिएका न्यूनतम आवश्यकताहरू पुरा गरेर त्यस्ता सङ्घ संस्था र संगठनहरुमा छात्रवृत्तिको निम्ति दिएको आवेदन सफल भएको खण्डमा अर्को सेसन अर्थात् अर्को वर्षको अप्रिल सेसन देखी उसले नियमित रूपमा अध्ययन नसकिदा सम्मको लागि वार्षिक वा अर्धबार्षिक रूपमा नबिकरण गराउनु पर्ने (धेरै जसोमा) गरी छात्रवृत्ति प्राप्त गर्ने गर्दछन् ।

यी कस्ता संघ संस्था र संगठनहरु हुन ?

यी सङ्घ संस्था र सङ्गठनहरू प्राय राजनैतिक, सामाजिक र धार्मिक हुने गर्दछन्।

राजनैतिकका हकमा जर्मनीका विभिन्न राजनैतिक पार्टीहरुका भातृ सङ्गठनहरू हुने गर्दछन् जसले तिनका माउ पार्टीका मूल्य मान्यता र विचारहरू बोक्ने गर्दछन्। जस्तै जर्मन कम्युनिस्ट पार्टी डी लिन्के (द लेफ्ट) को भातृ सङ्गठन रोसा लक्सेम्बुर्ग फाउन्डेसन (Rosaluxemburg Stiftung)अनि जर्मन ग्रीन पार्टीको भातृ सङ्गठन हाइनरिक बोल फाउन्डेसन (Heinrich Boell Stiftung) ।

मैले बुझेसम्म यस्ता सङ्घ संस्था र संगठनहरुले वार्षिक रूपमा जर्मन सरकारबाट आर्थिक बजेट पाउने गर्दछन् जसको केही अंश यी सङ्घ संस्था र संगठनहरुले नियमत जर्मनीमा अध्ययन गर्दै गरेका जेहेन्दार तथा राजनैतिक र सामाजिक रूपले सक्रिय रहेका विदेशी विद्यार्थीहरूको छात्रवृत्तिमा खर्च गर्ने गर्दछन् । यसका अलवा यस्ता सङ्घ संस्था र सङ्गठनमा आबद्ध प्रबुद्ध ब्यक्तीहरुबाट पनि यिनीहरूले सहयोग प्राप्त गर्दछन् ।

सामाजिक र धार्मिकका हकमा मैले धेरै नबुझेको र एकआधको बारेमा त्यो पनि सतही जानकारी मात्र मलाई भएको हुँदा, (मेरो सतही ज्ञानको आधारमा) कसैले आफ्ना बितेका नातागोताको सम्झनामा अथवा सामाजिक दायित्वबोधका आधारमा अथवा कुनै विशेष धार्मिक सङ्गठनले स्थापित गरेका सङ्गठनहरू हुने गर्दछन् । जस्तै एउटा सामाजिक राइनेर लेमोनि फाउन्डेसन (Reiner Lemoine Stiftung)अनि एउटा धार्मिक क्याथोलिक एकाडेमिक एक्स्चेन्ज सर्भिस (Katholischer Akademischer Auslaender Dienst)।

यस सम्बन्धी जानकारी कसरी प्राप्त गर्ने ?

हरेक विश्वविद्यालय अथवा उच्च शिक्षण संस्थाहरूको आफू पढ्ने सम्बन्धित विभाग अथवा विद्यार्थी सहयोग केन्द्र (Studentwerk) अथवा इन्टरन्यासनल अफिसबाट यस्ता सङ्घ सङ्गठन र संस्था को नाम ठेगाना प्राप्त गर्न सकिन्छ। हरेक सङ्घ सङ्गठन र संस्थाको आफ्नै होम पेज हुने र प्राय सम्पूर्ण जानकारीहरू त्यही हुने हुँदा छात्रवृत्तिसग सम्बन्धित सम्पूर्ण जानकारी हासिल गर्ने सबै भन्दा सजिलो र उपर्युक्त माध्यम सम्बन्धित सङ्घ सङ्गठन र संस्था को होम पेज राम्रो सित अध्ययन गर्नु र त्यहाँ दिइएको सम्पर्क ठेगानामा सिधै सम्पर्क गर्नु नै हो । धेरै जसो सङ्घ सङ्गठन र संस्थाको होम पेजहरुमा सामान्य जानकारी जर्मन र अङ्रेजी दुवै भाषामा हुने गर्दछन् अनि विस्त्रीत जानकारीहरू प्राय जर्मन भाषामा मात्रै पनि हुन सक्छन्, जसको लागि विभिन्न भाषाअनुवाद पेजहरु सजिलाई प्रयोग गर्न सकिन्छ। एक पटक सम्पर्क गरेर आफ्ना जिज्ञासाहरु राखी सके पछि आवेदन सम्बन्धी अन्य प्रकियाहरु सम्बन्धित सङ्घ सङ्गठन र संस्थाहरूले खुसी साथ जानकारी गराइदिन्छन । प्राय सङ्घ सङ्गठन र संस्थाहरूले इन्टरनेसल स्टुडेन्टको लागि भनेर बेग्लै सम्पर्क ठेगाना पनि दिने हुँदा निर्धक्क आफ्ना जिज्ञासाहरु राखेर आवेदन दिन सकिन्छ । उदाहरणका निम्ति

Heinrich Boell Stiftung www.boell.de
Rosa Luxemburg stiftung www.rosalux.de
Konrad Adenauer Stiftung www.kas.de
Friedrich Ebert Stiftung www.fes.de
Friedrich Naumann Stiftung www.freiheit.org
Reiner Lemoine Stiftung www.reiner-lemoine-stiftung.de
Katholischer Akademischer Auslaender Dienst www.kaad.de

माथि उल्लिखित सङ्घ, सङ्गठन र संस्थाहरू सानो उदाहरण मात्रै भएको र यिनीहरू बाहेक पनि ठुलो सन्ख्यामा अन्य धेरै सङ्घ सङ्गठन र संस्थाहरूले, कम्पनीहरूले अनि राज्य सरकारहरुले पनि छात्रवृत्ति वितरण गर्ने गर्दछन् ।

छात्रवृत्तिको लागि प्राय मागिने न्यूनतम आवश्यकताहरू के के हुन ?

स्नातक र स्नाकोत्तर तह अध्ययनको छात्रवृत्तिको लागि प्राय मागिने न्यूनतम आवश्यकताहरू यस्तै प्रकारका हुने गर्छन्।
क) राम्रो अङ्क सहितको आवश्यक शैक्षिक योग्यता र शैक्षिक प्रमाणपत्रहरु
ख) जर्मन विश्व विद्यालय अथवा उच्च शिक्षण संस्थामा भर्नाको भएको प्रमाण पत्र
ग) जर्मन विश्व विद्यालय अथवा उच्च शिक्षण संस्थामा भर्ना भएको सेमेस्टरको विद्यार्थी प्रमाणपत्र
घ) आफूले नेपालमा अध्ययन गरेको शिक्षण संस्था (शिक्षण संस्था प्रमुख, बिभागिय प्रमुख ,सम्बन्धित प्राध्यपक अथवा अन्य प्राध्यापक) बाट सिफारिस पत्र
ङ) आफूले जर्मनीमा अध्ययन गर्दै गरेको शिक्षण संस्था (बिभागिय प्रमुख ,सम्बन्धित प्राध्यपक अथवा अन्य प्राध्यापक) बाट सिफारिस पत्र
च) आफूले त्यस सङ्घ संस्था र सङ्गठनमा छात्रवृत्तिको लागि आवेदन दिनु को प्रमुख कारण खुलाएर लेखिएको पत्र
छ) आफ्नो ब्याक्तिगत र शैक्षिक पृष्ठभूमि अनि अध्ययन गर्ने विषय छान्नु को कारण तथा अध्ययन पछिको सामान्य योजना सहित को पत्र
ज) जर्मन भाषाको ज्ञान भएको प्रमाणपत्र (धेरै जसो सङ्घ संस्था र सङ्गठन हरुले राम्रो जर्मन भाषा को ज्ञान भएको हुनु पर्ने भनेको हुन्छन् , त्यस कारण केही तह को जर्मन भाषा नेपाल मै अध्ययन गरी सकेको धेरै राम्रो।)
झ) विभिन्न राजनैतिक अथवा समाजिक सङ्गठनमा क्रियाशील भएर विगत अथवा वर्तमानमा लागेको तथा के कस्ता जिम्मेवारी बहन गरेको खुलाएर लेखिएको प्रमाण पत्र अथवा सिफारिस पत्र ।
बिद्याबारिधीको हकमा माथि उल्लिखित बाहेक सोधपत्रको प्रारुप अनि सोध सुपरिबेच्छकबाट सिफारिस पत्र पनि आवश्यक हुने गर्दछ ।
यहाँ राजनैतिक र सामाजिक रूपमा सकृया भन्नाले कुनै राजनैतिक बिचार बोकेको पार्टी अथवा विभिन्न विद्यार्थी सङ्गठनहरू अथवा सामाजिक संस्था क्ल्बहरु अथवा सरकारी तथा गैर सरकारी संस्थाहरू आदिमा सकृया भन्ने बुझदा गलत हुँदैन।
आवश्यक सिफारिस पत्रहरु आफू नेपाल बाट आउँदानै बनाएर ल्याएको खन्डमा समयको बचत र आवेदन प्रक्रिया पनि छिटो छरितो हुने हुन्छ । यसै गरी जर्मन र अङ्रेजी बाहेकका भाषा मा लेखिएका प्रमाणपत्र सिफारिस पत्रको अधिकारिक निकायबाट अनुवाद गराउँदा पछि समस्या पर्दैन ।

आवेदन दिन सकिने मिति

धेरै जसो विश्वविद्यालय र उच्च शैक्षिक संस्थामा वर्षको २ वटा सेसन हुने हुँदा प्रत्यक सेसनमा आवेदन दिन सकिन्छ तर बिचार पुर्‍याउन पर्ने कुरा के हो भने आवेदन पछि निर्णय हुँदा सम्म ५ देखि ६ महिना लाग्ने हुँदा विन्टर सेसनमा आवेदन दिएर सफल भएको खन्डमा समर सेसनबाट अनि समर सेसनमा आवेदन दिएर सफल हुँदा विन्टर सेसनबाट छात्रवृत्ति पाइन्छ । प्राय मार्च अप्रिल समर सेसन र सेप्टेम्बर अक्टोबर विन्टर सेसन आवेदनको अन्तिम मिति हुने गर्दछन्, यद्दपी सङ्घ संस्था र सङ्गठन अनुसार बेग्ला बेग्लै मिति पनि हुन सक्छन् ।

छनौट प्रक्रिया कस्तो हुन्छ ?

हरेक सङ्घ संस्था र सङ्गठनका आफ्ना आफ्नै छनौट प्रक्रिया र चरणहरू हुने गर्दछन् । सामान्यता आवेदन पछिको प्ररम्भिक छ्नौटमा सफल् भएका आबेदकलाई अर्को चरणको छनौट प्रक्रियामा आउनका लागि लिखित जानकारी दिने गरिन्छ । दोस्रो चरणको छनौट प्रर्कियामा आबेदकले कुनै शिक्षण संस्थाका प्राध्यापक सित अन्तर्वाता दिनु पर्ने हुन्छ अनि तिनै प्रध्यापकले अन्तर्वाता पछि गोप्य रूपमा सम्बन्धित सङ्घ संस्था र सङ्गठनलाई लेखिदिएको सिफारिस पत्रको आधारमा निर्णय हुने गर्दछ । कुनै कुनै सङ्घ संस्था र सङ्गठनका हकमा तेस्रो र चौथो छनौट चरण पनि हुने गर्दछन् जहाँ निश्चित विभिन्न शीर्षकमा आबेदक आबेदकहरु बिचको अन्तर्कृया, त्यसमा आबेदकहरुको तर्क, क्षमता अनि अन्तिम अन्तर्वातालाई आधार मानेर निर्णय गरिन्छ । छनौट प्रक्रिया जर्मन अथवा अङ्रेजी अथवा दुवै भाषामा पनि हुन सक्ने हुँदा जर्मन भाषा ज्ञान भएको खन्डमा निक्कै सजिलो हुने गर्दछ ।

छात्रवृत्तिको रकम र अवधि के कति हुन्छ ?

हरेक सङ्घ संस्था र सङ्गठनले प्रदान गर्ने छात्रवृत्तिको रकम भिन्ना भिन्नै हुने गरेता पनि प्राय जसो छात्रवृत्ति रकम ६०० देखि ८०० युरो (स्नातक र स्नातकोत्तर तहको लागि ) अनि १००० देखि १२०० युरो बिद्याबारिधी तहको लागि प्रति महिना हुने गर्दछ । सामान्य विद्यार्थीका लागि यो रकम सम्पूर्ण खर्च पुगेर पनि केही जोगिने हुन सक्छ । कुनै कुनै सङ्घ संस्था र सङ्गठनले अध्ययनका क्रममा हुन सक्ने अध्ययन भ्रमण, सेमिनारहरुमा भाग लिनका लागि पनि सहयोग गर्ने गर्दछन् यसका अलावा बिवाहित विद्यार्थीका हकमा पारिवारिक सहयोग पनि उपलब्ध हुने गर्दछ । प्रायजसो छात्रवृत्तिको अवधि स्नातक र स्नाकोत्तरका हकमा अध्ययन अवधि भर हुने गर्दछ भने बिद्याबारिधीका हकमा अधिक्तम ३ देखी ४ वर्ष सम्म हुने भनेर भनिएको लेखिएको हुन्छ जसलाई प्राय वार्षिक अथवा अर्ध वार्षिक रूपमा अध्ययन प्रगति विवरण र प्राध्याकको सिफारिस पत्रका आधारमा नबिकरण गराउनु पर्दछ।

छात्रवृत्ति प्राप्त गर्न सम्भव छ त ?

निश्चय नै सम्भव छ । एकातर्फ संसार भरीबाट अध्ययन गर्न जर्मनी आउने विद्यार्थीहरूले आवेदन दिने हुँदा प्रतिस्प्रदा पनि निक्कै हुने गर्छ भने अर्को तर्फ यस्ता सङ्घ सङ्गठन र संस्थाहरू मध्य धेरैको सम्पर्क कार्यालयहरु हाम्रा छिमेकी मुलुकहरूमा भयता पनि हाम्रो देशमा भने हाल सम्म अधिकारिक रूपमा सम्पर्क कार्यालयहरु नभएको अनि छात्रवृत्तिका लागि आवेदन दिन जर्मन विश्वविद्यालय अथवा उच्च शिक्षण संस्थमा अनिवार्य भर्ना भैसकेको हुने पर्ने हुँदा केही प्राविधिक कठिनाइ अनि अन्डा पहिले कि चल्ला पहिले भन्ने जस्ता ब्यवहारिक जटिलता अवश्य पनि रहने गर्दछ्न तर पनि केही नेपाली विद्यार्थीहरूले यस प्रकारका छात्रवृत्ति विगतमा प्राप्तगरी सकेको हुँदा असम्भव चैँ पक्कै छैन ।

अन्त्यमा

यी सङ्घ सङ्गठन र संस्थाहरूले बेला बेला नियमहरू परिवर्तन पनि गरी राखेका हुन्छन्। नहुनु मामा भन्दा कानो मामा बेस (गलत अर्थ नलागोस) भने जस्तै यस्ता अवसरहरुबाट आफूलाई सूचित गराउँदा नेपाली विद्यार्थीको जर्मनीमा उच्च शिक्षाको अभिलाषा अलिकति भए पनि सहज हुने विश्वास लिएको छु ।

माथि उल्लिखित जानकारीहरू निश्चय पनि सम्पूर्ण किमार्थ होइन,सामान्य जानकारी मात्र हो। यो नितान्त एउटा विद्यार्थी विशेषको अनुभवमा आधारित छ । केही तल माथि र केही थोरै होला थपघट गर्ने जिम्मा तपाईँ हाम्रै हो । अन्य विद्यार्थी साथीहरूलाई पनि बिल्कुल भिन्नै र बहुउपयोगी सम्भावनाहरुको जानकारी हुन सक्छ उहाहरुलाई पनि त्यस्ता विद्यार्थीलाई उपयोगी हुने सम्भावनाहरू सक्दो बढी बाडेर आगामी दिनहरूमा उच्च शिक्षा लिन जर्मनी आउन चाहनु हुने र आउनु हुने सबैलाई सहयोग गर्न अनुरोध गर्दछु । सबै नेपाली विद्यार्थीहरूलाई आफ्नै बलबुतोमा अवसर र सफलता हात लागोस्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *