‘अपराधीको सेल्टर बन्दै काठमाडौँ’

सोमबार निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद कुमार गौचनको दिन दहाडै भएको हत्याले राजधानीको सुरक्षा व्यवस्थालाई ठाडो चुनौती दिएको छ । घटनाले राजधानी जस्तो संवेदनशील क्षेत्रको सुरक्षा कति कमजोर रहेछ प्रस्ट भएको छ ।

पछिल्ला एक दशक यता राजधानीमा यस्ता आपराधिक घटनाका श्रृखला दोहोरिँदै आएको छ । चैतको अन्तिम साता राजधानीकै गौरीघाट स्थित एक फिटनेस क्लबमा रहेका गुण्डा नाइके दाबा लामामाथि गोली प्रहार भयो । त्यस अघि २०६९ जेठ १८ मा न्यायाधीश रणबहादुर बममाथी पनि घरबाट सर्वोच्च अदालत आउँदै गर्दा मोटरसाइकलमा सवार बन्दुकधारीबाट गोली हानी हत्या गरियो । २०६८ सालमा राजधानीको मुटु रत्नपार्क घण्टाघर अगाडि नै फैजान अहमदलाई भारतीय सार्प सुटर प्रयोग गरेर हत्या गरियो । लाजिम्पाट जस्तो बलियो सुरक्षा व्यवस्था भएको स्थानमा सञ्चार उद्यमी जमिम शाहको गोली हानी हत्या भयो । भने, अर्का सञ्चार उद्यमी युनुस अन्सारीलाई त भारतीय सार्पसुटर नै प्रयोग गरेर सेन्ट्रल जेलमै हत्याको प्रयास भयो ।

विगत ६ वर्षको आपराधिक इतिहास केलाउँदा राजधानीमा सङ्गठित अपराध गर्नेहरुको सञ्जाल वृद्धि हुँदै गएको छ । पेशागत व्यवसायी माथि यसरी दिन दहाडै खुल्ला सडकमा आक्रमण हुनुले राजधानीको प्रहरीको सुरक्षा व्यवस्थाको धज्जी उडाएको छ । प्रहरीले ‘चरी’ ‘घैँटे’ जस्ता एकाध समूहका नाइकेलाई इन्काउण्टर गरे पनि अझै ठुला नाईकेहरु राजनीतिक दलको झन्डा ओढेर सिंहदरबार–बालुवाटार छिर्ने गरेका छन् ।

सङ्गठित अपराध र सार्पसुटरको विगविगी

पछिल्ला दिनहरूमा राजधानीमा भएका ठुला हत्याकाण्डलाई सरसर्ती हेर्दा पेशेवर सार्पसुटरहरुको अत्याधिक प्रयोग भएको पाइन्छ । सञ्चार उद्यमी जमिन शाहको हत्या, युनुस अन्सारी माथिको आक्रमण, न्यायाधिश रणबहादुर बमको हत्या श्रृखलाको अध्ययन गर्दा सङ्गठित अपराध गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपराधीहरुको सुरक्षित सेल्टर बन्न पुगेको छ ‘काठमाडौँ’ । देशकै राजधानीमा दिन दहाडै सडकमा नागरिक माथि आततायी आक्रमण हुनु गम्भीर कुरा हो । व्यवसायी गौचन माथिको आक्रमण कुनै साना तिना अपराध गर्ने झुण्डको काम हैन । व्यस्त बजारमा दिउसै ताकेरै गोली प्रहार गर्न सक्ने सामथ्र्य पेशेवर सार्पसुटर बाहेक साना तीना अपराध गर्नेले आँट गर्ने कुरा हैन ।

यो घटनाले हाम्रो राजधानी अन्तर्राष्ट्रिय रूपमा सङ्गठित अपराध गर्नेहरुको सुरक्षित थलो बनेको आभास भएको छ । अन्तर्राष्ट्रिय आतंककारी दाउद इब्राहिमसँग धेरै नेपाली अपराधीहरुको साँठगाँठको प्रहरीले नै शङ्का गरिरहेको अवस्थामा गौचन माथिको आक्रमणमा पनि कतै अन्तर्राष्ट्रिय पेशेवर अपराधीको संलग्नता त छैन ? अनुसन्धान गर्न आवश्यक छ । गौचनको हत्या व्यावसायिक हिसाबले गरिएको आशंका पनि छ । यदि त्यस्तो हो भने, प्रहरीले ब्यवसायीकताको आडमा अपराध गर्नेलाई नाङ्गेझार पार्नु पर्दछ । कतिपय ठेकेदारले नै टेण्डर हत्याउनका लागि सङ्गठित रूपमा गुण्डाहरुको सहयोग लिने गरेका प्रशस्त उदाहरण हामीसँग छ ।

के चन्दा आतङ्क नै हो त ?

प्रहरीले गौचन माथिको आक्रमणलाई चन्दासँग पनि जोडेर लिएको छ । केही दिन अघि गौचन माथि चन्दा नदिएको विषयमा ‘थप्पड’ हानिएको भन्ने कुरा आएको छ । राजधानीमा विभिन्न समूह बनाएर उद्योगी, व्यापारी लगायत पेशागत व्यक्तिहरूसँग मोटो रकम माग्ने, ठेक्कापट्टामा हिस्सा खोज्ने, सङ्गठित रूपमा लागूपदार्थको कारोबार गर्नेहरुले यदि उनको हत्या गरेको पुष्टि हुन आएमा त्यो ब्यवसायीहरुको सुरक्षामा खतरनाक अवस्था हो । किनभने, राजधानीमा मात्रै उद्योगी, ब्यापारीहरुबाट हप्ता उठाउने समूहको सङ्ख्या दर्जनौं छ । भोलि तिनीहरुबाट गौचनकै जस्तो घटना नहोला भन्न सकिन्न । यदि चन्दा नदिएको निहुँमा शेरचनको हत्या भएको हो भने, अब राजधानीका ठुला व्यापारी, उद्योगी र ठेकेदार माथि अर्काे सृंखला नदोहोरिएला भन्न सकिन्न ।

हुन त हिजो नै प्रहरीले गौचनको हत्या आशंकामा तीन जनालाई पेस्तोलसहित पक्राउ समेत गरेको छ । उनीहरूको संलग्नता पुष्टि हुने नहुने प्रहरीको गहन अनुसन्धानले पुष्टि नै गर्ला । तर, काठमाडौँ प्रहरी प्रमुखलाई नै फोन गरेर आफूहरूले गोली हानेको ‘सगर्व’ सुनाउनु चानचुने कुरा हैन । यो प्रहरीको सुरक्षा व्यवस्था प्रति ठाडो चुनौती हो ।

राजनीतिक आवरण

२०६४ साल यता राजनीतिक आवरणमा अपराध गर्नेहरुको लर्को बढेको छ । क्षेत्रियता, जातियताका नाममा उदाएका विभिन्न सङ्गठनले उद्योगी, व्यापारी, विभिन्न पेशाकर्मीबाट चन्दा उठाउने, अपहरण गरी फिरौति लिने नदिए हत्यासम्म गर्ने केस छन् । भने, त्यस पछिका समयमा अधिकांश ठुला अपराधीहरुले आफ्नो अपराध लुकाउन राजनीतिक दलको संरक्षण लिएका छन् ।

पार्टीलाई मोटो रकम सहयोग गरेर हुन्छ वा निर्वाचनमा युवा प्रयोग गरेर उनीहरूले आफ्नो अपराध लुकाउन अनेक हतकण्डा अपनाएको कुरा हामी कसैबाट लुकेको छैन । व्यवसायी शेरचनलाई कतै यस्तै समूहले त हत्या गरेन ! यो कुरा पनि प्रहरीको विषय बन्नु पर्दछ । १० वर्षे सशस्त्र जनयुद्ध ताका यस्ता सङ्गठनले माओवादी कै नाम बेचेर अपराध गरेका छन् ।

प्रहरी किन कमजोर हुँदैछ ?

पछिल्लो समय जनताको जिउधनको सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीको कार्य क्षमता प्रति धेरै टिका टिप्पणी हुँदै आएको छ । दक्षिण एसियाकै उत्कृष्ट प्रहरीको सूचीमा रहेको नेपाल प्रहरीको कार्य क्षमतामा ह्रास आउनुको कारण के हो ? अब खोतल्ने समय आएको छ । पछिल्ला केही वर्षयता सुरक्षा संयन्त्रमा देखिएको राजनीतिक हस्तक्षेपका कारण नै प्रहरीको मनोबल गिरेको र चेन अफ कमाण्ड ध्वस्त भएको त हैन ? कतिपय प्रहरीहरुको अपराधीसँग साँठगाँठ भएको कुरा पनि बाहिर आउँछ ।

राजधानी जस्तो उच्च सुरक्षा संयन्त्र भएको स्थानमा दिउसै गोली हान्नका लागि ठुलै योजना बनाउनु पर्छ । अपराधीले नेपाल प्रहरीको कमजोर मनोबल माथि खेलेर नै यो आक्रमण त गरेन ! नत्र घटनास्थल नजिकै न्यायाधिशको घरमा रहेका नेपाल प्रहरीका सुरक्षाकर्मीहरु घटना हुने बित्तिकै घटना स्थल किन आउन सकेनन् ?

पछिल्ला दिनहरूमा जनपद प्रहरी र सशस्त्र प्रहरी विचपनि क्षेत्राधिकारका विषयमा मतभिन्नता छ । जनपद प्रहरीले यत्रो ठुलो घटना घटिरहँदा सशस्त्र प्रहरीसँग समन्वय गरेर छानबिन किन गर्न सक्दैन ?

यति बेला नेपाल प्रहरीले राजधानीका नाकाहरु र सार्वजनिक स्थलमा चेकजाँच कडाई गरे पनि त्यो कत्तिको प्रभावकारी होला ! कुनै पनि अपराधीले गोली हानी सकेपछि खुलेआम सार्वजनिक स्थलमा बन्दुक बोकेर हिँड्दैन । उ सकेसम्म सीमा कट्ने वा त्यही क्षेत्रमा केही समय लुकेर बस्ने योजना बनाउँछ । राजधानीमा अपराध बढी हुने स्थान, बसपार्क, काठमाडौँ बाहिरीने नाका जस्ता क्षेत्रमा प्रहरीले व्यापक अप्रेसन किन गर्न सक्दैन ? शेरचनको हत्यालाई सरकार सामान्यीकरण गर्न मात्र उद्यत रहन्छ भने, त्यो गलत हो । हैन भने, हत्या पश्चात् अपराधी पत्ता लगाउने कुरामा सरकारको गम्भीर बन्न जरुरी छ ।

त्रसित राजधानी बासी

शेरचनको दिन दहाडै हत्या पछि राजधानीबासी त्रसित छन् । विशेष गरी उद्योगी, व्यापारी, निर्माण व्यवसायी गौचनको घटना पुनः दोहोरिने हो की भन्नेमा त्रसित छन् । गौचनको हत्या गर्नेले केही निर्माण व्यवसायीलाई फोनै गरेर ‘देखिस् हैन’ भनेका छन् । यस्तो थ्रेडिङले अरू निर्माण व्यवसायी समेत अपराधीहरुको निशानामा छन् भन्ने देखिन्छ ।

बिहान घरबाट काममा हिँडेको नागरिक बेलुकी सुरक्षित फर्कन सक्छ की सक्दैन ! चिन्ता थपिएको छ । ५० लाख जनसङ्ख्या भएको राजधानीमा सुरक्षा निकायले दिने सुरक्षा अत्यन्त फितलो छ । यहाँ एउटै घरको कोठामा बस्नेले अर्कोलाई चिन्दैन, छिमेकीले अर्को छिमेकी चिन्दैन । राजधानीबासीमा मानवीय संवेदना हराउँदै जाँदा पनि सुरक्षा व्यवस्था कमजोर भएको हो ।

राज्यबाट जनताले सुरक्षा पाउनु पहिलो अधिकार हो । व्यवसायी शेरचनको हत्याले सरकार नागरिकको सुरक्षा प्रति कत्तिको गम्भीर छ भन्ने नैतिक प्रश्न खडा गरेको छ । राजधानीमै दिउसै गोली चल्छ भने, देशका अन्य स्थानको सुरक्षा व्यवस्था के होला ? सरकार शेरचनको हत्यामा गम्भीर हुन आवश्यक छ । एउटा व्यवसायी माथि दिन दहाडै आक्रमण हुनु भनेको देशकै सुरक्षासंयन्त्र माथिको आक्रमण हो । राजधानीको सुरक्षा व्यवस्था माथि गृह मन्त्रालय हल्का हुनुहुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *