काव्य साहित्यका सतिसाल डा. नवराज लम्साल र धरा महाकाव्य

महाकाव्य धरा मेरो देशको पाउमा मैले अर्पेको अक्षरपुजा र आस्थाको आरती हो । –डा. नवराज लम्साल                                                  

१. भावार्थ परिचय

बरिष्ठ कवि, गीतकार तथा राष्ट्रिय संचारताराका रूपमा सुपरिचित साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालको पछिल्लो (२०७३ चैत्र) मा प्रकाशित महा काव्यकृति हो, धरा । डा. लम्सालका यसअघि कर्ण (महाकाव्य), पाइलैपिच्छे सगरमाथा (कविता संग्रह), आगो छोपेर कतिन्जेल (कविता संग्रह), धुनभित्र धुन बाहिर (रेकर्डिड र मुद्रित गीत संग्रह) उडुँ उडुँ लाग्छ लगायतका विविध साहित्यिक कृतिहरू प्रकाशित छन् । डा. लम्साल, राष्ट्रिय कविता महोत्सव २०५९ (नेपाल प्रज्ञा प्रतिष्ठान) बाट प्रथम, राष्ट्रिय बालगीत सम्मेलन, २०५८ (रेडियो नेपाल) बाट प्रथम, राष्ट्रिय बक्तृत्वकला प्रतियोगिता, २०४८ (द रेयुकाई नेपाल) बाट प्रथम, धादिङ साहित्य सम्मेलन, २०४८ (धादिङ साहित्य समाज) बाट प्रथम र साहित्य विज्ञान प्रतिष्ठान नेपालबाट “राष्ट्रिय संचारतारा पुरस्कार तथा नेपालीपन सम्मान–२०७२” ग्रहण गरी समकालिन अग्रज पुस्तामा श्रद्धेय व्यक्तित्वका रूपमा रहेको सुखद् इतिहास मौजुद छ । रेडियो नेपालको

लोकप्रिय कार्यक्रम “मधुवन” मार्फत् लाखौँ श्रोताहरूका प्रिय प्रस्तोता बनेका डा. लम्सालको साहित्यकारीता पनि हजारौँ श्रष्टाहरू माझ उत्तिकै श्रद्धेय, आराध्य र ओजपूर्ण छ ।

२. श्रष्टा तेरिजको सिंहावलोकन

            सर्वप्रथम, धरा महाकाव्यको पठनबोध, विवेचना वा समिक्षा पस्किनु अघि काव्य चरित्रकार, पाउल एलूआईको काव्यचिन्तनको एक सटीक उक्ति प्रस्तुत गर्नु यहाँ सान्दर्भिक हुनेछ, “कवि जनताको माझमा नै हुनुपर्छ । जनताबाट अलग्गिएको कवि ज्यासलमा भएको, छिनो हराएको कर्मी हो । त्यस्तो कविले कविता के लेख्छ, खाली बकवास लेख्छ ।” यसको अर्थ कवि भनेको जनताको स्वप्न सखा हो । जनताको माझमा भएपछि जन–जिन्दगीले साँझबत्ति सल्काउँदा कविले चेतनाको दीप सल्काउँछ । सपनाको प्रभात उदाउँदा उज्यालोले स्वागत गर्छ । तर एउटा कवि जब जनताबाट कट्छ, ऊ टाउकोबाट छुटेको कपालजस्तै स्वयम् विनासको चक्रमा पर्छ । हातबाट छुटेको कलमले कुनै सिर्जना नगरेजस्तै जनताबाट छुटेको कविले चेतनाको कुनै उत्पादन दिन सक्दैन । एलूआईको यस भनाइलाई पुरापुर आत्मसाथ गर्ने सामथ्र्य भएका विरलै कविहरू मध्ये एकजना प्रतिनिधि पात्र हुन्, साहित्यकार तथा संचारकर्मी डा. नवराज लम्साल । जनताको माझमा बसेर जनताकै बारेमा कविता लेख्न रुचाउने स्वभाव भएर होला डा. लम्सालबारे जनस्तरमा थुप्रै टिकाटिप्पणीहरू हुने गरेका छन् । कुनै टिप्पणीहरू डा. लम्साललाई काव्यका सतिसाल बनाउने कोणबाट आएका छन् भने कुनै चाहिँ नविन कृतिको नयाँ अबगाल गर्ने कुत्सित पूर्वाग्रहको कलुषित मशाल बोकेर पनि आएका छन् । नकार र सकार दुवै प्रतिक्रियाको पानीले निथु्रक्कै भिजेपछि धरा महाकाव्यको यथार्थबारे केही खुट्याउन कलम बोकेर कस्सिएको छु । मनोचेतनाको खुराकी उत्खनन्बाट डा. लम्सालको धरा महाकाव्यमा भेटिने मुख्यमुख्य काव्यिक चरित्रहरू निम्नानुसार प्रस्तुत गर्न सकिन्छः

३. देशप्रेमको काव्यिक अनुसन्धानमा धरा  र सेतु परम्परा   

       धरा महाकाव्यमा पाइने पहिलो र खास विशेषता, देशप्रेम हो । ‘देशप्रेम’ भित्र पनि ‘देश’ भनेको ‘नेपाल’ र ‘प्रेम’ भनेको ‘पन’ अर्थात् देशप्रेम भनेको नेपालीपन अथवा नेपालप्रतिको आकर्षण, आत्मीयता वा अनुराग हो । यही देशप्रेमसँग सम्बन्धित यो महाकाव्य कसरी नेपालीपनको दीप बन्यो भन्ने बारेमा केही तथ्यगत तितीक्षा बोल्नु अघि ‘धरा’ शब्दको अर्थ केलाउनु उपयुक्त हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोशमा ‘धरा’ को अर्थ धरती, पृथ्वी, संसार, दुनियाँ, जगत, नसा, नाडी, गर्भाशय वा पाठेघर भनेर उल्लेख गरिएको छ । यसरी बहुलताका विविधार्थलाई केलाउँदा महाकाव्यको शिर्ष नाम, ‘धरा’को अर्थ कवि डा. लम्साल जन्मेको धरती अर्थात् नेपाल भन्ने हुन्छ ।

पहिलो धरा कविको जन्मभूमि– नेपाल

दोस्रो धरा कविको कर्मभूमि– नेपाल

तेस्रो धरा कविको सम्बन्धको दुनियाँ– नेपाल

चौथो धरा कविको सपनाको संसार– नेपाल र

पाँचौँ धरा कवि लम्सालको चेतनाको गर्भाशय– नेपाल हो ।

यसरी नेपाली भूमिलाई धराका रूपमा प्रस्तुत गरेर यस काव्यको शिर्ष नाम धरा राख्नु काव्यिक शिल्पमा देशप्रेमको उद्बोधन गर्नु हो । यस अर्थमा यो महाकाव्य शिर्षक सार्थक रहेको छ । हुनत कतिपय लघु समालोचकले यस महाकाव्यको नाम नेपाल राख्नु पथ्र्यो भनेर टिप्पणी गरेको हचुवा तर्क पनि सुन्न पाइयो । यो चाहिँ उखुको नाम गुलियो राख्नुपथ्र्यो भनेर गरेको तर्क समान असंगत तर्क हो ।

        राष्ट्रकवि, माधव घिमिरेद्वारा महाकाव्यका बारेमा सम्प्रेषित अभिव्यन्जनाले पनि धरा एउटा देशप्रेमको काव्य हो भन्ने कुरा पुष्टि गर्न मद्दत पु¥याएको छ । “म धरा महाकाव्यलाई काव्यको नेपाल र नेपालको काव्य भन्छु । … अहिले कविता कुराजस्तो भएको बेला कवितालाई चिन्तन र हृदयको वस्तु बनाइएको देखेर म निकै खुसी भएको छु । … धरा धरती पनि हो र पिरती पनि हो ।” राष्ट्रकविको प्रस्तुत भनाइबाट धरा महाकाव्य देश दर्शनको सजिव सेवितव्य हो भनेर बुझ्न कठिन छैन । तर कुरा यतिमा मात्र सिमित छैन । देशको बारेमा विहङ्गम काव्य बिमर्श गरेका डा. लम्सालले “देशको खोजी”, “देशाटन”, “देशको अनुहार”, “देशले के दियो ?”, “देश खोज्न कहाँ जाउँ ?” आदि शिर्षकका कविताहरू मार्फत् राष्ट्रप्रेमको माधवी महिमागान गाएका छन् ।

 देशले हिमशृङ्खला दियो, हिमाल दियो

 सर्वोच्चता दियो, सगरमाथा दियो

 संसारकै प्रथम ज्योति टल्कने चमक दियो

बहुरूपी भूमि दियो, भूमिको शिर दियो

बुद्ध दियो, ज्ञान दियो, शान्तिको स्रोत दियो ।

(देशले के दियो ?)

यसरी हिमवत्खण्डको अखण्ड भूखण्ड, वीरता र धीरता, बहुलता र सार्वभौमसत्ता, ज्ञान र विज्ञानको स्रोत र महाअतुल्य अमूल्य सृष्टिको साहचर्य सहित राष्ट्रको धमनीलाई आफ्नो काव्य नाडीमा धड्किने स्पन्दन बनाएर कविले मातृभूमिको काव्यमय जयगान गाएका छन् । धरा महाकाव्यको अर्को नाम देशप्रेम हो भन्दा कुनै भ्रान्ति हुनेछैन । सिङ्गो देश बोकेर आएको छ धरा । नेपालको समग्रता यसले चर्चेको छ । देश हुनका लागि नभइ नहुने, जनसंख्या अर्थात् जातजातिको पहिचान, भूगोल अर्थात् सर्वोच्च शिखर सगरमाथादेखि सर्वत्र गहिराई केचना कोलनसम्म, इतिहासको फेददेखि भविष्यको गर्तसम्म र सफलताको दायाँ सूत्रदेखि असफलताको बायाँ वितौजीसम्म साराका सारा पक्षहरूलाई काव्यिक उत्खनन् गरिएको छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण सबै ठाउँको धेर–थोर चर्चा भेटिन्छ यस महाकाव्यमा । सेतो सोलुदेखि मस्र्याङ्दी र मकालुसम्म, बोराङ्, भार्लाङ, सेर्तुङ र तिप्लिङदेखि रिङ्ने, अचाने र हाँसेपसलसम्म, नदीनालाको मुहानदेखि दोभानसम्म वा मैदानको दहदेखि पहाडी रहसम्म, संस्कृतिका पुरातन फाँटदेखि वर्तमानको इमान विर्तासम्म सबैसबै धरामा धरती बनेर आएको छ । डा. लम्सालको यो काव्यशिल्प चिम्लिएका नयनले पनि देख्न सकिने एउटा श्वेत काव्य परम्पराको उत्कर्षविन्दु हो र यो नेपाली काव्यपनलाई स्नेह गर्नेका लागि एउटा विरालाकोटी काव्य दृष्टान्त पनि हो । यसका साथै धरामा देशभक्तिको स्वाभिमानी आकांक्षा पनि यत्रतत्र फाँटिएको पाइन्छ ।

पूर्वप्रधानमन्त्री, केपी शर्मा ओलीका अनुसार, “साहित्यको रसास्वादन गर्न चाहने र साहित्यिक व्यक्तित्वहरूका लागि मात्र हैन, देशभक्तिपूर्ण राजनीति गर्न चाहनेका लागि समेत यो निकै उपयोगी ग्रन्थ हुनेछ ।” यसरी धरा महाकाव्यमा साहित्य र राजनीतिको मितेरी गाँस्ने काम भएको छ । देशप्रेमका सन्दर्भमा डा. लम्सालको यो महाकाव्यले सेतु परम्पराको थालनि गरेको छ । यसको अर्थ समग्र नेपाली भूगोलको काव्यिक आख्यान, इतिहास, चिन्तन, दर्शन, संस्कृति र सभ्यताको एउटा वृहत् वाग्धाराका रूपमा नेपालीपनलाई जोड्ने नविन सेतु बनेको छ यो महाकाव्य । विगतलाई भविष्यसँग जोड्नु, एक जातिलाई अनेक जातिसँग जोड्नु, इतिहासलाई वर्तमानसँग जोड्नु, राजनीतिलाई साहित्यसँग जोड्नु, अँध्यारोलाई उज्यालोसँग जोड्नु, दुःखलाई सुखसँग जोड्नु आदि अनेकानेक दृष्टान्तहरू यहाँ भेटिएका छन् । द्वन्द्ववादको एउटा नविन प्रयोगका रूपमा पनि यस काव्यको शिल्पलाई विष्लेषण गर्न सकिन्छ । प्रकृति नियाल्दा मानव जिन्दगीको उज्यालो र अँध्यारो एकसाथ जन्मिने, जिउने र मर्ने गरेको छ । प्रकृतिको यही शाश्वत परम्पराभन्दा भिन्न यसले कुनै जिकिर गरेको छैन । यस अर्थमा राष्ट्रवादको प्रकृत प्रकथन हो धरा । यथार्थमा धरा हाम्रो परम्पराभन्दा एक कदम माथि उठेको छ । महाकाव्यकै परम्परालाई हेर्दा चाहिँ यसले कुनै काव्य विद्रोह बोलेको देखिँदैन बरु काव्य परम्परालाई अझ सुदृढ बनाउने क्रममा नविनताको केही शिल्प भने पस्किने कोशिस पक्कै गरेको छ । यस अर्थमा धरा महाकाव्य मार्फत् डा. लम्साल विशेषत विशिष्ट कविहरूका बिचमा बधाइका पात्र बनेका छन् र कविको काव्य सिर्जनामाथि असिम कामनाको चाङ चुलिँदै गएको यथार्थ क्रमशः कृतार्थ बन्दै गएको छ ।

लार्के मै हुँ किसान हुँ मगर हुँ माली हुँ घर्ती म हुँ

थारू पश्चिम दाङ वा धनगढी सौका र डोट्याल हुँ

गुप्ता, यादव, झा र राजपुत हुँ डोल्पो र ताङ्वे म हुँ

मै छन्त्याल कुमाल झाँगड दुरा बोटे र भोटे म हुँ ।

(देशको अनुहार)

समकालीन अनुकरणीय ग्रन्थका अग्रज प्रकाशक तथा स्रष्टा, गणेशप्रसाद जोशीको धरा महाकाव्यका बारेमा अभिव्यक्त यो आत्मोक्ति औधी विचारणीय छ । “देशमा जति पनि जाति–जनजाति छन् ती सबै हामी नै हौँ र सबै जाति–जनजाति मिलेमा मात्र देश पूर्ण बन्नेछ भन्ने भावना व्यक्त भएको यस महाकाव्यले नेपाली साहित्यको कविता÷काव्य विधामा रुचि राख्ने पाठकहरूलाई राष्ट्रिय एकता र मिलनको विशिष्ट सन्देश दिनेछ ।” प्रकाशक जोशीको यस भनाइबाट डा. लम्सालको काव्यकारीता कति महिमामान्वित छ भन्ने कुरा आंकलन गर्न काव्यप्रेमीहरूलाई धेरै सहज भएको छ । यहाँनेर एउटा रोचक पक्ष यो छ कि देशको अनुहारमा देखिने यतिधेरै जाति र जनजातिलाई एउटै काव्यशिल्पमा उनेर यसरी महाकाव्यको रचना गरिएको संभवत यो पहिलो पटक हो । यसरी विविध पक्षबाट धरा महाकाव्यलाई नियाल्दा समग्रतामा देशको श्याम विश्लेषण सहित देशभक्तिको श्वेत महिमा गाउने कविहरूको सूचिमा डा. लम्साल शिखर सरणिमा देखापरेका छन् । यो धरा महाकाव्यको वस्तु निष्ठ उज्यालो पक्ष हो ।

४. समयबोधको सम्यक संस्तुतीमा आगत र विगतको उद्बोधन

धरा महाकाव्यमा पाइने अर्को महत्वपूर्ण विशेषता भनेको समयबोधको अभिव्यक्ति हो । इतिहास र भविष्यको सेतु बनेको यस महाकाव्यले वर्तमानलाई केन्द्रमा राखेर काव्यिक अनुष्ठान गरेको छ । २०७४ वर्षको नेपालको लिखित इतिहास व्यतित भैसक्दा पनि हामी नेपालीहरू किन समृद्धिको शिखर चढ्न सकेनौँ ? डा. लम्सालको काव्यिक जवाफ छ, हामीले समयलाई चिन्न सकेनौँ । हाम्रो सत्तामा परिवर्तन भयो तर स्वत्वमा परिवर्तन भएन । हाम्रो सिद्धान्तमा परिवर्तन भयो तर व्यवहारिक शिल्पमा परिवर्तन भएन । हाम्रो सत्ताको शिखर फेरियो तर फेरिएन स्वाभिमानको टोपी । हामीले समयलाई पर्खेर पछौटे भयौँ वा समयलाई उछिनेर हाम्रो आयुको हत्या ग¥यौँ तर हामी कहिल्यै समयको सारथी बन्न सकेनौँ वा जानेनौँ । हामी आफ्नै नदी किनारमा बसेर प्यासले छटपटाइरह्यौँ । हामी अन्नको भण्डारमा बसेर भोगको गीत गाइरह्यौँ । शोकको पिरती लाइरह्यौँ । लोकलाई लज्जित बनाइरह्यौँ । यो अरू कसैको दोष होइन केवल हामीले समयलाई नचिन्नुको परिणाम हो । हामी २० वर्षको उमेरमा भएपनि कक्षा एकमा प्रथम हुनुको गर्वले फुलेल भयौँ । पितृ भैसकेको आयातित सिद्धान्तको अन्धानुकरण गरेर हरसमय विभाजनको पिण्ड दिएर सपनाको श्राद्ध गरिरह्यौँ । लोकमा लाज पचाएर भएपनि धुकधुकी बचाएर बाँचिरह्यौँ । सयमका यी केही कठोर आयामहरूसँग साक्षात्कार गर्ने क्रममा धराका केही पङ्क्तिहरू नियालौँः

पख समयले पल्टाउँछन् यी ढुङ्गाहरू

समय अघि नै पल्टेका ढुङ्गाले माटो मार्न सक्छ

माटो निरीह छन् जनताजस्तै

कति पल्टिए परिवर्तनका ढुङ्गा

तर खै जनताको मनमा घाम लागेको !

(काठमाडौं)

काठमाडौँ शिर्षकको यस कविताले नेपाली राजनीतिको निरिह नविनता बोलेको छ । सत्ता र सिद्धान्तमा ठूलाठूला परिवर्तन भैसक्दा पनि जनताको जिजिवीसामा महान् वा म्लान कुनै पनि प्रकारको चैन देखापर्न सकेन । ऐनले मात्रै चैनको सूत्रपात आखिर नहुँदोरहेछ भन्ने कुरा यस कविताको आशयले पुष्टि गरेको छ । यसै सन्दर्भमा धरा प्रकाशनको समयका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यस महाकाव्यमाथिको सटीक टिप्पणी कवि लम्सालको महाकाव्यकारीता बुझ्न चाहने जोसुकैका लागि उल्लेख्य उपयोगी हुन सक्छ । तत्कालिन प्रधानमन्त्री, प्रचण्डको प्रस्टोक्ति छ, “अब काव्यहरू जनताको चेतना, सरोकार र जीवनवृत्तिभन्दा बाहिर जानुहुन्न भन्ने प्रगतिशील विश्वासलाई यस महाकाव्यले कलात्मक बल पु¥याएको पाएँ ।… सिमान्तकृत जनताको यो सार्थक काव्यस्वर नेतृत्वदायी राजनीति गर्नेहरू सबैले एकपटक पढ्नैपर्ने र घोत्लिएर सोच्नैपर्ने विषय हो भन्ने मेरो ठम्याइ छ ।” यस भनाइमा कवि लम्सालको महाकाव्यकारिता प्रगतिशिल विचारबाट उत्प्रेरित र निर्देशित छ भन्ने पहिलो आशय छ भने दोस्रो यस महाकाव्यले दिने सन्देश राष्ट्रको नेतृत्व गर्ने जो कोहीका लागि प्रचुर उपयोगी छ भन्ने हो । यसरी राजनेताहरूलाई मार्गनिर्देश गर्ने काव्यचेतनाको शिल्प धरा मा पाइनु सफल काव्यकारीताको सबुत प्रमाण हो ।

        गाउँ टेकेर जो जान्छ

        उही भ्रष्ट छ दुष्ट छ

        दुष्टले दुनियाँ मारे

        कुरा यति छ प्रष्ट छ ।

        (पहाड)

देश बनाउन हिँडेकाहरू भ्रष्टचारको पाउ टेकेर ठमठम हिँडेको विकृत दृष्टान्त बोलेको माथिको कविता मार्फत् कविले समकालिन समयको चरित्रचित्र प्रस्तुत गरेका छन् । यहाँनेर राजनीति र साहित्य एकअर्काका परिपुरक बन्नुपर्छ भन्ने सच्चाइलाई महाकाव्यले पुनर्पुष्टि गरेको छ । जबजब राजनीति विकृत बन्दै जान्छ तब साहित्यले खबरदारी गरेका थुप्रै प्रमाणहरू इतिहासको गर्तमा मौजुद छन् । आजको नेतृत्वले समयको आवाज सुन्न नसक्नु हाम्रो मूख्य समस्या हो । सुत्ने बेलामा सिरानीको कुरा छोडेर सपनाको कुरा गरेजस्तै लाजमर्दो कुरा भैरहेको छ हाम्रो देशमा । जनता भोक, रोग, अभाव र दवावले ग्रस्त छन् तर कतिपय शिर्षस्त नेताहरू भोकको ठाउँमा भाग्यको कुरा, रोगको ठाउँमा राहुको कुरा र अभावको ठाउँमा रवाफको कुरा गरेर हँसिमजाकमा समयको खिल्लि उडाइरहेका छन् । यसरी हाम्रो अमूल्य समयको सामथ्र्य चुरोटको ठुटोझैँ खरानी भैरहेको छ । हामी भाग्यको भरोषामा बसेर केवल बुढ्यौलीको पर्खाइमा लम्पसार छौँ । यस्तो लौकिक विडम्बनाको सामयीक यथार्थ यस महाकाव्यको आगो ओकल्ने पक्ष हो र यसले कवि लम्साललाई महाकाव्य सिर्जनाको चुनौतीपूर्ण उकालोमा सफल स्रष्टाका रूपमा सतिसाल बनाएर उभ्याएको छ ।

५. आत्मिक अभिज्ञानको सम्प्रेषण र उत्तराकाङ्क्षी आस्थाको उत्खनन

        आत्मिक पक्षको उत्खनन् गर्नु यस महाकाव्यको अर्को विशिष्ट चरित्र हो । धरा महाकाव्यमा कविले आफ्नै नाम अर्थात् “नवराज लम्साल” शिर्षकको कविता प्रस्तुत गरेर जीवन दर्शनको पहेली उजिल्याउने सत्यत्न गरेका छन् । जीवनका जटिल प्रश्नहरूको जवाफ आफैँभित्र पसेर खोजि गर्नु यस कृतिको नविन विशेषता बनेको छ । बरिष्ठ साहित्यकार तथा शिक्षाविद, महेश पौड्यालका अनुसार, “यो महाकाव्य परम्परामा एउटा प्रयोग हो । महाकाव्यमा सेल्फपोटे«ट यसअघि कतै पनि यसरी आएको देखिएको छैन । कविले आफैँलाई कविताको विषय बनाएर आफ्नो स्व, आफ्नो अहम् र आफ्नै ब्रह्मलाई नागरिक इजलासमा राखेका छन् र गम्भीर आत्मसाक्षात्कार गरेका छन् ।” यस अर्थमा यो महाकाव्य स्वत्वको विमोचन गर्ने व्यानर काव्य हो ।

        हामीले आफूलाई पानी माथिको ओभानोजस्तै हास्यरसमा डुबाउँदै लगेका छौँ र हाम्रो देश दरिद्र हुनुको कारण सधैँ अरूलाई देखाइरहेका छौँ । उत्तर आफूभित्र लुकाएर प्रश्न अरूलाई तेस्र्याइरहेका छौँ । विनासको कारण स्वयम् मानिसभित्र रहेको तथ्यलाई कथ्यजस्तै छायाँतित बनाउन खोज्दैछौँ । यी विभ्रमहरूको निराकरण नै यस महाकाव्यको नविन उर्जा हो । आफूलाई प्रश्न गर्ने सामथ्र्य नभएको मान्छे कवि हुन सक्दैन । पेट्रोलले नडड्ने वस्तु पनि कविताले डडाउन सक्छ भने मान्छेको भित्रित्वले यावत चराचर जगतका पहेली प्रश्नहरूको आत्मिक जवाफ किन नखोज्ने ? आफूभित्र नभेटेको शान्ति हामी अन्त कहाँ गएर खोज्दैछौँ यहाँ ? आफैँलाई पनि छाम्न नसकेको मान्छेले दुनियाँको नाडी छाम्नु रोगीले डाक्टरको नाडी छाम्नुजस्तै उल्टो कुरा हो कि होइन ? हो भने कसरी हो होइन भने कसरी होइन ? संसार बदल्न आफू बदलिनु पर्छ कि पर्दैन ? ज्ञानको भण्डार मान्छे आफू हो कि अरू ? अरूले नै सबैथोक गरिदिने भए मान्छेले आफ्नो धड्कन आफैँभित्र किन कैद गरेको ? सपना आफूले देख्ने बस्तु हो कि अरूले देखाइदिने ऐना हो ? यी तमाम उत्तराकांक्षी प्रश्नहरू मार्फत् आफूलाई भत्काएर एउटा नयाँ मान्छे बनाउन चाहेको कुरा पाठक इजलासमा सुनुवाइ होस् भन्ने कवि लम्सालको सुभेच्छा रहेको छ । यो यस महाकाव्यको बिलकुल पृथक हुर्मत हो ।

आफैँभित्र छ शान्ति शान्त रसको खोला स्वयं मानिस

आफैँभित्र छ प्रेम प्रेमरसमै डुब्ला स्वयं मानिस

झुल्के घाम स्वयं मुसुक्क जसको झुल्को स्वयं मानिस

हेर्दा एक अनेक दिव्य दुनियाँ देशै स्वयं मानिस ।

(नवराज लम्साल)

माथिका पङ्क्तिमा पोखिएको स्वयंताको सारजस्तै, बरिष्ठ साहित्यकार तथा संस्कृतिविद, डा. राजेन्द्र विमलले यस महाकाव्यका बारेमा केही सारभूत सत्य बोलेका छन्, “संवेदनशील बौद्धिकता र बौद्धिक संवेदनशीलताका शीर्षस्थ कवि डा. नवराज लम्सालको यो काव्य नेपाली परिवेश, चिन्तन र चित्तको प्रामाणिक ऐना हो जसमा सिङ्गो नेपाल र सबै नेपालीले आफूलाई देख्न सक्छन् ।” यस अभिव्यञ्जनाबाट धरा महाकाव्यको आत्मिक विवेकको निचोडमा पुग्न कुनै सघन कठिनाइ छैन ताकि देश देख्ने आँखाले आफूलाई देशभन्दा पृथक कहिल्यै नदेखोस् ।

६. पूर्वीय ज्ञानधाराको नया“ संस्करण र साहित्यिक सिंहावलोकन

        २६ वटा शिर्षकमा प्रस्तुत धरा महाकाव्यका विविध आयामहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा पूर्वीय ज्ञानधाराको महिमा गाइएको छ । हिन्दु, बौद्ध, किराँत आदि धर्मका अनुयायिहरूले हाम्रो ज्ञानको स्रोत नविकरण गर्न जरुरी भएको औँल्याउने गरेका छन् । यससँगै धरामा वेद, पुराण, उपनिषद, मुन्धुम, त्रिपिटक लगायतका दार्शनिक ग्रन्थहरूको प्राचीन भाष्यको प्रयोग यथेस्ट गरिएको छ । महाकाव्यले सकारात्मक संस्कारबाट आएको आध्यात्मिक दर्शनलाई विज्ञान र प्रविधिको प्रचुरतासँगै उपयोग गर्न सके जीवन सौन्दर्यको बोध अझ प्रगाढ हुने उत्तराकांक्षि आविर्भाव पनि प्रस्तुत गरेको छ । तर संस्कृत परम्पराबाट सुसंस्कृत भएको प्राचीन ज्ञानलाई आजको पुस्ताले ध्यान दिन नसकेको दुखेसो पनि यससँगै छ । हाम्रा विद्यालय र विश्वविद्यालयहरूमा पूर्वीय ज्ञान ओझेल पर्दै गएको हुनाले जीवनका अनेकानेक प्रश्नको जवाफ आयातित शिक्षाले दिन नसकेको तर्क गरिएको छ । संस्कृत परम्पराको उल्मुलन सँगै संस्कारको गला रेटिएको छ । आफ्नोपनलाई नमन गर्ने दृष्टिहरू पश्चिमा शिक्षाको धिमा उज्यालोमा तिलमिलाएका छन् । जिउनु न मर्नुको दोसाँधमा बाँच्ने गरेको वर्तमानको शैक्षिक प्रणालिले दिन नसकेको उत्तर कसले दिने हो यसको छिनोफानो गर्न अनेकानेक पहेलीहरू मुर्झाइएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका अनुसार, “नेपाली समाज अहिले नयाँ सिर्जना र नयाँ विकल्पको खोजीमा छ । कवि लम्सालले आफ्नो महाकाव्यमा आजको नेपाली समाजले खोजेको विकल्पका बारेमा चिन्तन गरेका छन्, नयाँपनको खोजि गरेका छन् । यसकारण उनको लेखनले सार्थकता पाएको छ ।” यसैगरी अर्का पूर्वप्रधानमन्त्री, लोकेन्द्र बहादुर चन्दको भनाइमा, “डा. नवराज लम्सालले धरा महाकाव्यमा पूर्वीय दर्शनका महत्वपूर्ण पक्ष वेद, पुराण, गीता, उपनिषद् आदिका रहस्यहरूको सार झिकिदिएका छन् ।” यसरी पूर्वीय ज्ञानको स्रोतको महिमा गाउनु धरा महाकाव्यको आत्मिक चरित्र बनेको छ ।

हामीले हाम्रो भन्नु अघि नै अर्काले अर्कैको बनाएकै हो त आमा ?

किन पढेनौँ विद्यापति, दङ्गीशरण, फाल्गुनन्द र चित्तधरहरू

किन सँगसँगै पढाइएन मुन्धुम, वेद, त्रिपिटक

र तिनका रहस्य विश्वविद्यालयहरूमा ?

सधैँ अनुत्तरित छन् प्रश्नहरू

छोरी छोरीकै रूपमा र ज्वाइँ ज्वाइँकै अर्थमा मात्र हो त ?

(वसन्तपुर)

हामी जे होइनौँ त्यही हुन खोजिरहेछौँ यसकारण हाम्रो हाल, बेहाल हुँदै गएको छ । आफ्नो घरको आँगनबाट अध्यन थाल्नु पर्नेमा खगोलको पल्लोछेउबाट अध्यन गर्ने गरेका छौँ । आमाको काखभन्दा पराइको लाख हामीलाई अमूल्य बन्दै गैरहेको छ । देश बनाउने पुस्ता अरबको बालुवामा चिप्लिएर भाग्य फुटाएको फुटाएकै छन् । हामी दुःखले पोलेका लाभाजस्ता ताता छाति छामेर आपसी दोषारोपणको दोहोरी खेलिरहेछौँ । जे हुन सकेको छैन त्यो हाम्रो आफ्नोपनको अभावले हो । जे भैरहेको छ त्यो शैक्षिक अन्धानुकरणको परिणती हो । दिनदिनै खाने फर्सिको तरकारीमा के पाइन्छ वा पाइँदैन अध्ययन गर्न छोडेर हामी त खगोलको लम्बाइ नाप्न कस्सिएका छौँ । यो कस्तो विडम्बना ! कोरा कल्पनाको सियोमा सपनाको धागो उनेर उध्रिएको भाग्य सिलाउने दुष्प्रयास हामी नै गरिहेछौँ । यो कस्तो नियती हो ? यी सब कुराको सार कारण भनेकै हामीले आफूलाई नचिन्नु हो । आफूलाई नचिन्नु भनेको हाम्रो ज्ञानको स्रोत नचिन्नु हो र ज्ञानको स्रोत नचिन्नु भनेको सुखको मुहान थुन्नु हो वा दुःखको उपभोक्ता बन्नु हो । यस तवरले पूर्वीय र गैरपूर्वीय दर्शनको शैक्षिक अध्यनलाई तुलना गर्दै कतै प्रत्यक्ष त कतै परोक्ष रूपमा कवि लम्सालले पूर्वीय ज्ञानको नयाँ संस्करण सहित नेपाली कला, साहित्यको सिंहावलोकन गरेका छन् । देवी देवता र चाडपर्व साझा हुने हाम्रो अनेकतामा एकताको परम्परा खण्डीत नहोस् भन्ने मनोकांक्षा पनि यस महाकाव्यको एक शिखर चासो पक्ष रहेको छ ।

७. शाश्वत प्रकृतिप्रेमको प्रवर्धन र मानवतावादको बौद्धिक संश्लेषण

धरा प्रकृतिप्रेमको अनुपम उदाहरण हो । यस अर्थमा कि यस महाकाव्यले प्रकृतिका बहुछटाहरूको काव्यिक गुणगान गाएको छ । हावा–पानी, ढुङ्गो–माटो, जीवन–मृत्यु, खगोल–भूगोल, राग–अनुराग लगायत सम्पूर्ण प्राकृतिक वस्तुजगतको सारभूत काव्यिक अभिव्यञ्जना यस कृतिमा भेट्न सकिन्छ । मानवतावादको वकालत गर्ने क्रममा प्रकृतिको वैभव कति छ भन्ने पक्षलाई उजागर गरिएको छ । यस महाकाव्यमा क्षय–अक्षय विपुलाको शाश्वतता र नश्वरताको चरित्रचित्रण सहित मान्छेको प्रवृत्तिगत प्रकृतिदेखि राजनीतिको नीतिगत प्रकृतिसम्म, विगतको प्रकृतिदेखि आगतको प्रकृतिसम्म, वर्तमानको गुमनाम प्रकृतिदेखि शैक्षिक र नैतिक प्रकृतिको अनुपम इमानसम्म, शास्त्रीय भाष्यको प्र्रकृतिदेखि लोक नेपाली भाष्यको प्रकृतिसम्म, दृश्यता सम्मिलित प्रकृतिदेखि अदृश्यता अङ्कुरीत प्रकृतिसम्म, स्वत्वबोधको प्रकृतिदेखि तत्वबोधको प्रकृतिसम्म विविध भौतिक र अभौतिक सांस्कृतिक र संस्कारगत पक्षहरूको विश्लेष्य भेटिन्छ । यसकारण धरा महाकाव्यलाई धरतीको अनेकानेक चारित्रिक वर्णनको दस्तावेजको रूपमा लिन सकिन्छ । नेपालसँग सिन्धुको सम्बन्ध, टर्की, मध्य एशिया र मानसरोबरको हिमवत्खण्डसँगको सम्बन्ध, समय चक्रको ककेसस र ककसको अन्तर्बोधको सार्वकालिक शोधसँगको प्रकृत र मानवीय सम्बन्ध कविको प्रश्नैप्रश्नको घेरामा छ । यी तमाम यक्ष प्रश्नको जवाफ प्रकृतिको चरित्रचित्रण मार्फत यस काव्य कृतिले दिन खोजेको छ ।

वर्तमानसँग जोडेर कसरी गाउँछ समय

जीवनका ऋचाऋचा र कण्डिकाहरू !…

प्रकृति इश्वर थियो र पूजा साधना

कुनै ज्ञानको स्पर्शमा हामी विमुख थियौँ र ?

सत्य हो थिएनौँ ।

(अन्तर्बोध)

उद्घृत पङ्क्तिको उक्तिगत चरित्रलाई नियाल्दा धरा विपुलाको बयान हो । यसले उठाएका मानवतावादी प्रश्नको जवाफ खोज्न सके हाम्रो सिसाजस्तो भाग्य ढुङ्गाझैँ अमर बन्ने थियो कि ? हुनत यो प्रश्नको जवाफ शरीरमा टाउकोझैँ देशको शिरमा उभिएका शिर्षहरूले दिनुपर्ने हो । यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको यो भनाइ प्रासङ्गीक हुनसक्छ, “राजनीति राजनीति मात्रै भनेर देशको भाषा, संस्कृति र भूगोल विर्सियो भने त के अर्थ राजनीति र भाषणको ? धरा महाकाव्यको सार हो यो ।… आख्यानमा बीपीले उचाइ लिएजस्तो धेरै वर्षपछि काव्य फाँटको अर्को उचाइ डा. लम्साल हुन सक्छन भनेर मलाई सुनाएका थिए । आज धरा पढेपछि त्यो भनाइ सही रहेछ भन्ने लागिरहेछ ।” यस भनाइमा दुईवटा सत्य छन् । पहिलो राजनीति गर्नेले देशको भाषा, संस्कृति र भूगोल विर्सनुहुन्न र दोस्रो डा. लम्सालको उचाइ बीपीकोजस्तै शिखरीलो छ । यस प्रसंगबाट हामी यो निष्कर्षमा पुग्न सक्छौँ कि धरा महाकाव्य एउटा सिङ्गो धरतीको बयान एउटै पुस्तकभित्र बोकेर आएको महाकाव्य हो । यसले संसारको सार खिच्ने कोशिष गरेको छ । जीवनबोधको उद्बोधन गर्नु यसको मूख्य ध्येय बनेको छ ।

नूर निष्कर्ष

        धरा महाकाव्यको नूर निष्कर्षलाई नियाल्दा देशप्रेमको अनुपम काव्यबोध यसको पहिलो उद्दीप्त उपलव्धि हो । यसले औपचारिक शिक्षामा नेपाली साहित्यका विद्यावारिधी कवि नवराज लम्साललाई काव्य साहित्यका सतिसालका रूपमा उभ्याएको छ । सतिसाल हजारौँ वृक्षको मृत्यु भैसक्दा पनि बाँचिरहने एउटा कालजयी वृक्ष हो र धरा त्यस वृक्षसँग तुलनीय छ । यस महाकाव्यले उठाएका जीवनबोधका कैयौं कठीन प्रश्नको जवाफ नेपाली समाजको भित्रित्वले आजसम्म दिन सकेको छैन र यसको उत्तर खोज्नु कविको मूख्य ध्येय रहेको छ । साहित्यकारहरू राजनीतिको मूल वैचारिक धारसँग तुलनीय हुँदैनन भन्ने एकथरी निराशावादी श्रष्टाहरूको पुरातनपन्थी विचारलाई यसै महाकाव्यमा समेटिएको देशका शिर्ष नेतृत्वहरूको साहित्य र कलाप्रतिको विचारोत्तेजक निष्कर्षले गतिलो झापड हानिदिएको छ । हाम्रो संस्कृति र संस्कारको पूर्वीय ज्ञानधारा कति महिमान्वित छ भन्ने कुरा पाठकहरूलाई बोध गराउनु यस महाकाव्यको अर्को महत्वपूर्ण उपलव्धि हो । समयबोधको सामथ्र्य, आगत र विगतको उद्बोधन, मौलिकता र नेपालीपनको प्रवर्धन यस महाकाव्यका लोभलाग्दा निष्कर्षहरू हुन् । हुनत कुनैपनि काव्यकृतिमा उचाई थप्न नसकिने शिखरहरू त हुँदैनन् र यो महाकाव्य पनि यसबाट अछुत छैन । यद्यपि गद्य कवितामाभन्दा छन्दका कवितामा डा. लम्साल अझ सबल र अब्बल छन् भन्नेहरूको तर्कको फेटा गुथेर काव्य शिल्पको सिरेटो छेक्नुपर्ने ठाउँ कमसेकम यस पङ्क्तिकारले धरा महाकाव्यभित्र कतै भेटेको छैन । आखिर उज्यालोलाई अँध्यारोले तर्साउन सक्ने कुरा पनि त भएन ! जीवनमा नै मृत्युको गीत लेख्नु परेझैँ लेख्नै परे धराका कमी कमजोरी माथि पुनः अर्को समिक्षा लेखौँला । अहिलेलाई भने जिउँदो मान्छेको मूल्य लास भएकाहरूलाई नभए पनि सास भएकाहरूको आश अझैँ बाँकि रहेको सच्चाइलाई यथार्थ ठह¥याउँदै कलम बिसाउने अनुमति माग्छु । इश्र्याको आँधि–हुरीले लर्काउन नसक्ने, आरोपको असिना–पानीले खुइल्याउन नसक्ने सतिसालझैँ ठिङ्ग उभिएका बरिष्ठ कवि तथा अग्रज संचारकर्मी डा. नवराज लम्साल प्राकृतिक धराझैँ काव्य धरा मार्फत् आम श्रष्टाहरूको आस्थाको वगैंचामा सदासदा फुलिरहुन् । तमाम श्रष्टाको धरामा सधैँ हराभराको असिम कामना सहित कृति कल्याणको कामना गर्छु । आजलाई यति । अस्तु ।

          –  समालाेचक सगोत्री आचार्य मकालु खबर डट कमका अतिथि सम्पादक हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *