मस्तिष्क स्वस्थ्य राख्ने व्यायाम यस्ता छन् र तीमध्ये उत्कृष्ट यी हुन्

काठमाडौं, असोज २० ।  व्यायाम शरीरका लागि मात्र नभई मस्तिष्कका लागि पनि उत्तिकै लाभदायक हुन्छ । शरीर स्वस्थ्य राख्न दौड, पौडी जस्ता विभिन्न प्रकारका व्यायाम छन् । तर, मस्तिष्क स्वस्थ्य राख्ने व्यायाम कस्ता छन् र तीमध्ये सर्वोत्तम कुन हो ?

अहिले भइरहेका अनुसन्धानहरूले मस्तिष्कका लागि एरोबिक व्यायाम सबैभन्दा उत्तम भएको देखाएका छन् ।

स्मरण शक्ति क्षीण हुन नदिन र अल्जाइमर्स रोगको जोखिम न्यून गर्ने सबैभन्दा सजिलो उपाय नै व्यायाम भएको चिकित्सकहरु बताउँछन् । वंशाणुगत रुपमा अल्जाइमर्सको जोखिममा रहेकाहरूलाई यसको जोखिम न्यून गर्न पनि व्यायाम उत्तिकै उपयोगी हुन्छ ।

‘अहिलेसम्म गरिएका व्यायामसम्बन्धी अध्ययन घाँटीभन्दा मुनिका  अंगहरूमा मात्र केन्द्रित थिए । तर, व्यायामको वास्तविक फाइदा लिनु छ भने मस्तिष्कसम्म पुग्नुपर्छ भनेर अहिले हामीले थाहा पाइरहेका छौं’, युनिभर्सिटी अफ विस्कोनिसन स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका असिस्टेन्ट प्रोफेसर ओजिमा ओकोन्को भन्छन् ।
केही महिनाअघि मात्र ओकोन्कोले गरेको अनुसन्धानले दैनिक शारीरिक रुपमा एक घन्टा सक्रिय रहने र व्यायाम गर्ने व्यक्तिको मस्तिष्क निस्क्रिय बस्ने वा व्यायाम नगर्नेको तुलनामा धेरै स्वस्थ रहने निष्कर्ष निकालेको थियो ।

ओकोन्कोले बाबुआमामध्ये एक जना वा दुवै जना अल्जाइमर्सका रोगी भएका ९३ जना वयस्कको अध्ययन गरेका थिए । अध्ययनले थोरै समय व्यायाम गर्नेका तुलनामा दैनिक ६८ मिनेट सामान्य शारीरिक व्यायाम गर्नेको ग्लुकोज पचाउने क्षमता राम्रो भएको देखायो । ग्लुकोज पचाउने क्षमता राम्रो हुनु मस्तिष्क स्वस्थ रहेको प्रमाण हो ।
व्यायामको मस्तिष्कमा हुने फाइदा रोग प्रतिरोधभन्दा पनि अझै गहिरो हुन्छ । ओकोन्कोको अनुसन्धानले पनि व्यायाम गर्नेको मस्तिष्कको ‘रिजनिङ’ र ‘एक्जिक्युटिभ फंक्सन’सम्बन्धी हिस्सा ठूलो हुने देखाएको छ ।

उनले गरेको अध्ययनले एरोबिक क्षमता जति बढ्दै गयो, सोही अनुपातमा मस्तिष्कको संरचना, काम र मानसिक क्षमता बढेको देखायो । कतिपयले भने व्यायामले ‘मुड’मा सुधार आएको बताएका थिए । उनको अध्ययनले व्यायाम गर्दा मस्तिष्कको क्षमतामा ह्रास आउन रोक्नुका साथै मानसिक क्षमतामा आउने परिवर्तन पनि घटाउने पत्ता लगायो । ओकोन्को शरीर र मस्तिष्क दुवैका लागि व्यायाम पूर्ण प्याकेज हो भन्छन् ।

व्यायामले मस्तिष्कको स्वास्थ्यमा अनेकौं तरिकाले फाइदा गर्छ । व्यायामले मुटुको चाल बढाउँछ, जसले शरीरसँगै मस्तिष्कमा रक्त प्रवाह बढाउँछ, फलस्वरुप मस्तिष्कले बढी अक्सिजन पाउँछ । मस्तिष्क हाम्रो शरीरमा सबैभन्दा बढी अक्सिजन खपत गर्ने अंग हो ।
व्यायाम र अन्य शारीरिक सक्रियता मस्तिष्कमा बिडिएनएफ (ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर) को मात्रा बढाउँछ । बिडिएनले मस्तिष्कका कोष मर्न दिँदैन र नयाँ कोष बन्नमा सघाउने ओकोन्कोको भनाइ छ ।
अस्ट्रेलियाको युनिभर्सिटी अफ क्यानबेरा रिसर्च इन्स्टिच्युटमा स्पोर्ट्स एन्ड एक्सरसाइजमा पिएचडी गरिरहेका जो नर्थीले गरेको अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको छ ।
नर्थीको अध्ययनमा जिमभित्र साइकल कुदाउँदा मस्तिष्कमा रगतको प्रवाह बढेर कोष वृद्धि र मस्तिष्कको कार्यक्षमता बढाउने तत्वहरू समेत पुगेको पाइएको थियो ।

नर्थी भन्छन्, ‘व्यायामले उच्च रक्तचाप र हाई ब्लड सुगर जस्ता जीवनशैलीसँग गाँसिएका रोग लाग्ने जोखिम मात्र घटाउँदैन, यी रोगले मस्तिष्कमा पार्ने प्रभावबाट पनि जोगाउँछ ।’

दौडिनु र पौडी खेल्नु जस्तै एरोबिक गर्नु पनि मस्तिष्कका लागि सर्वोत्तम व्यायाम हो । ओकोन्कोका अनुसार, यसले मस्तिष्कमा रगतको प्रवाह बढाउँछ । तर, ‘स्ट्रेन्थ ट्रेनिङ’ (शारीरिक सुगठन) ले भारोत्तोलनले जस्तै बढी रगत ‘पम्प’ गरी मस्तिष्कमा रगतको प्रवाह बढाएर मस्तिष्कलाई फाइदा पुर्‍याउन सक्छ ।

नर्थी भने दुवैको मिश्रण हुनेगरी व्यायाम गर्न सल्लाह दिन्छन् । दुवै किसिमको व्यायाम गरे मुटु, श्वासप्रश्वास र मांसपेशी समेत स्वस्थ रहने उनी बताउँछन् । यसरी व्यायाम गर्दा मोटोपन, मधुमेह र उच्च रक्तचापको जोखिम समेत घट्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *