माओवादी र एमालेको एकताबारे मेरो मत

१) यो एकता एउटै कम्युनिस्ट केन्द्र निर्माणका लागि भनिए पनि नेपालमा एउटा ‘शक्तिशाली सामाजिक लोकतान्त्रिक’ पार्टी बन्ने दिशातिर उद्देलित देखिन्छ !
यो पार्टीको आयुबारे भविष्यवाणी गरेर लोकतान्त्रिक ज्योतिषी चाहिँ बन्न सकिएन ।

२) यो एकतापछि बन्ने पार्टीले वैज्ञानिक समाजवाद निर्माणलाई होइन संविधानमा उल्लेख भए जस्तै अमुर्त समाजवादको शाब्दिक आवरणमा ‘शास्त्रीय पुँजीवाद’कै अन्तर्यको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उनन्नयनलाई आफ्नो कार्यदिशा बनाउँछ !

३) रातारात घोर दक्षिणपन्थीहरु क्रान्तिकारी कम्युनिस्ट हुने र घोर उग्रवामपन्थीहरु क्रान्तिकारी कम्युनिस्ट हुने या रातारात मण्डले राष्ट्रबादीहरु सच्चा देशभक्त हुने र लम्पसारबादीहरु देशभक्त हुने, यस्तो चमत्कार मार्क्सवादमा सम्भव छैन । यो त कृष्णजीको महाभारतमा मात्र सम्भव होला ।

४) यो एकतामा दीर्घकालीन रणनैतिक ध्येय भन्दा पनि सन्निकट निर्वाचनमा आफ्नो बर्चश्व कायमका लागि तात्कालिक वस्तुगत अन्तर्बिरोधले जन्माएको बाध्यता हाबी छ। माओवादी र काँग्रेस चुनावमा मिले एमाले पहिलो पार्टी नहुन पनि सक्ने, भए पनि लामो समयसम्म आफ्नो सरकार बनाउन नसक्ने एमालेको स्थिति बन्ने यता काँग्रेससंगको दीर्घकालीन तालमेलले माओवादीलाई आफ्नो कम्युनिस्ट परिचयमा धब्बा लाग्ने र अझ स्खलनको खतरा बढ्ने सङ्केतले यो निर्णयको तिथि नजिक्यायो । झन् २ नम्बर प्रदेशको चुनावको परिणामले त गर्नुगर्‍यो ।

५) यो एकता यति चाँडै यसरी चक्मा दिएर हुनुमा केही निर्णायक नेताहरूको क्रान्ति र आफ्नो पार्टीप्रतिको अविश्वास, १ नम्बर पार्टी बनाउने रिटायर्ड रहर, एकबारको जुनीमा प्रधानमन्त्री बन्ने सपना, सत्ता लत, सुविधा आचरणले पनि बेजोड काम गरेको देखिन्छ ।

६) यो एकताले नेपाली जनता र विश्व कम्युनिस्ट आन्दोलनको आजको अन्तर्बिरोध हल हुने भन्दा पनि नेपाली राजनीतिको सतहमा देखिएका केही तात्कालिक समस्याहरूको छिपछिपे समाधान मात्रै गर्छ ।

७) यो एकताले अलग-अलग पार्टीमा हुँदा राजनैतिक संस्कारको परिधी नाघेर एकले अर्कालाई गाली गर्ने, होच्याउने, खिसिट्युरी गर्ने अराजनैतिक संस्कृतिको आफै खण्डन चाहिँ गरेको छ ।

८) यो एकता दुई विपरीत स्कुल अझ एकले अर्कालाई निषेध गर्नेसम्म संस्कृति बनाईसकेकाहरुलाई जोड्ने शाहसिक निर्णय चाहिँ हो । तर, यसको वैचारिक धरातल असाध्यै निम्छरो देखिन्छ ।

८) अपितु, यो एकता गोबरले फलाम जोडेको जस्तो नहोस । बरु, रसायनले फलाम जोडेको जस्तै होस । शुभेच्छा नै प्रकट गरौँ ।

९) क्रान्तिकारी मार्क्सवादको रक्षा र विकास, वैज्ञानिक समाजवादको अबको बाटो र कम्युनिस्ट पार्टी निर्माणको बहस, वैचारिक अभियान अनि आवश्यक पर्दा विद्रोहको निम्ति युवाहरू तैयार हुने गजबको अवसर चाहिँ आयो ।

याे भनार्इ लेखक जागृत रायमाझीकाे फेसवुक पेजबाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *