माओवादी, एमाले र नयाँशक्ति मिल्दा काँग्रेसलाई पिरलो

असोज १८, काठमाडौँ । चुनावी तालमेल गरेर जाने सहमति गरेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि चुनावी घोषणा पत्र बनाउन कार्यदल नै गठन गरेको छ । बाम एकताको विपक्षमा उत्रिएको सत्तारुढ नेपाली काँग्रेस भने, लोकतान्त्रिक गठबन्धन निर्माण गर्न तातिएको छ । बाम पार्टी र लोकतान्त्रिक पार्टीहरू बिचको एकताले अब मुलुकमा दुईवटा शक्ति मात्र रहने छनक देखा परेको छ ।

पार्टी एकता संयोजन समितिको बुधवार बसेको बैठकले उम्मेदवार चयनका लागि पनि ३ वटै पार्टी सम्मिलित निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण समिति पनि बनाएको छ । एमाले उपाध्यक्ष बामदेव गौतमको भैंसेपार्टीस्थित निवासमा बुधवार बसेको बैठकले एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको ७ सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण कार्यदल बनाएको हो ।

लोकतान्त्रिक गठबन्धन निर्माण गर्न काँग्रेसले पहल गर्ने

यता सत्ता साझेदार एकीकृत नेकपा माओवादीले धोका दिएको भन्दै सत्तारुढ नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि पहल गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्य सम्पादन समिति बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति मुलुकको हितमा नरहेको निष्कर्ष निकाल्दै लोकतान्त्रिक गठबन्धन निर्माण गरेर अघि बढने निर्णय गरेको हो ।

आन्तरिक एकतालाई जोड दिएर लोकतान्त्रिक गठबन्धन निर्माण गरी संविधान कार्यान्वयनको राष्ट्रिय कार्यभारलाई पूरा गर्न लागि पर्ने निर्णय गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले लोकतान्त्रिक, देशभक्त शक्तिहरुबीचको गठबन्धनद्धारा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेललाई परास्त गर्न सकिने निष्कर्ष समेत निकालेको छ ।

बैठकले लोकतान्त्रिक शक्तिहरूको गठबन्धन निर्माण गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको कामलाई अघि बढाउन काँग्रेसले बिहीबार पनि केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलाएको छ ।

कार्यदललाई ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलमा एमालेका महासचिव पोखरेल, नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गङ्गा श्रेष्ठ रहेको एमाले उपाध्यक्ष गौतमले जानकारी दिए ।

त्यसै गरी चुनाव घोषणा पत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदिप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा रहेका छन् ।
पार्टी एकता संयोजन समितिले समानुपातिक तर्फको उम्मेदवारी भने आ–आफ्नै दलको तर्फबाट दिने निर्णय पनि गरेको छ । समानुपातिक तर्फको उम्मेदवारी आ–आफनै पार्टीको तर्फबाट दिने निर्णय गरिएको पनि एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।
आगामी असोज २९ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारी निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ ।
तीन पार्टीले मङ्गलवार पत्रकार सम्मेलन गरी आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति गरेका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *