ओहो ! दसैँमा बिरामीहरु अस्पतालमा,चिकित्सकहरु सडकमा

एन.एच.पौडेल

पोखरा,असोज ९ । चिकित्सक आन्दोलनका कारण पोखराका सबै अस्पताल ठप्प रहेको छ । अस्पताल सेवा अबरुद्ध भएपछि उपचार गराउन विभिन्न जिल्ला बाट आएका विरामीहरु अलपत्र परेका छन् । दैनिक हजारौँ बिरामीको उपचार गर्दै आएका पोखराका डेढ दर्जन अस्पताल बन्द हुँदा हजारौँ सर्वसाधारणहरुले कष्ट ब्यर्होन बाध्य भएका छन् ।

चिकित्सकको लापरवाहीले दैनिकजसो अस्पतालहरुमा बिरामीको मृत्यु हुन थालेपछि लापरवाही गर्ने अस्पताल र चिकित्सकलाई निरुत्साहित गर्न सरकारले नयाँ कानुन बनाएसँगै चिकित्सकहरु आन्दोलित भएपछि यहाँका अस्पतालहरुमा बिरामीको उपचार सेवा ठप्प बनेको छ । यससँगै स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका बिरामीहरु अलपत्र झैँ भएका हुन् ।

असोज २ गते मन्त्रीपरिषदको बैठकले चिकित्सकको लापरवाहीले बिरामी घाइते तथा मृत्यु भएमा क्षतिपूर्ती डाक्टरले नै बेहोर्नु पर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि मुलुकका चिकित्सकहरु आन्दोलित भएका हुन् ।

दसैँको मुखमा घण्टौं धाएर पर्वतको बिहादी देखि श्रीमतीको उपचार गराउन आएका राम प्रसाद पराजुली तीन दिन देखि मनिपाल शिक्षण अस्पतालमा छन् । तर, बिरामीको श्रीमतीको उपचार हुन सकेको छैन । आफूहरू अलपत्र झैँ परेको पराजुली बताउँछन् । ‘दसैँ मुखैमा आइसक्यो । नाज नभए नि भोलि अस्पताल खुल्ला र जँचाएर फर्काैउँला भनेर तीन दिनदेखि अस्पतालमै छु ।’ उनले भने,‘एक,दुई दिनमा फर्किइन्छ भनेर ८, १० हजार लिएर आको पैसा पनि सकिन थाल्यो । दसैँ आयो अब कति दिन कुर्न पर्ने हो ठेगान छैन ।’

दैनिकजसो एक हजारको हाराहारीमा बिरामीहरु आवतजावत गर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भीडभाड छ तर, चिकित्सहरुले आन्दोलनक नरोकेपछि सर्वसाधारणहरु निराश भएर घर फर्किने गरेका छन् । पोखराका विभिन्न अस्पतालहरुमा ओपिडी सेवाहरू बन्द गरिएपछि इमर्जेन्सी सेवामा पनि बिरामी खचाखच भरिएको छ । बिरामीहरु अस्पतालको शैय्यामा छन् तर बेहाल अवस्थामा । स्वास्थ्य परीक्षण गर्न ठुलो मात्रामा बिरामी आउने पोखराको मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा पनि सयौँ बिरामीहरु थुप्रिएका छन् । तर,उनीहरूको उपचार कहिल्ये हुन्छ अत्तोपत्तो छैन । त्यस्तै,छिमेकी जिल्ला पर्बत,बाग्लुङ,म्याग्दी, लमजुङ,तनहुँ र स्याङजा लगायतका स्थानबाट उपचार गराउन आएका बिरामी हरू अलपत्र परेका हुन् ।

उता,नेपाल चिकित्सक सङ्घ गण्डकीका अध्यक्ष डाक्टर निर्मल लामिछाने आफूहरूले सहरले नभई बाध्यताले आन्दोलन गर्नु परेको बताउँछन् । उनी भन्छन्–‘अहिले केन्द्रमा सरकारसँग वार्ता चलिरहेको छ । वार्तापछि सरकारले आफ्नो निर्णय तत्काल हामी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन्छौँ । तर, अहिले नै सरकारले त्यो निर्णण् खारेज गर्नुपर्यो ।’ उनले भने,‘केन्द्रको निर्णयअनुसार हामीले गण्डकी अस्पतालमा पनि आन्दोलन गरिरहेका छौँ । अहिले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत ज्ञापन पत्र बुझाउने र प्रशासन घेराऊ अभियान चलिरहेको छ ।’

मन्त्रीपरिषद्ले नयाँ कानुन बनाउने निर्णय गरेलगत्तै चिकित्सक सङ्घले वक्तव्य जारी गर्दै गत असोज ६ गतेदेखि आन्दोलनको कार्यकर्म घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *