एमालेले अन्य दलहरूलाई फुच्चेहरु भन्दै ठेल्न खोज्दा

असोज ६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा रहँदा उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपाका अध्यक्ष कमल थापाको बलियो साथ थियो । भने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानमन्त्री बनेर ओलीलाई साथ दिइरहेका थिए । नेमकिपाले सरकारबाहिरै बसेर भए पनि एमालेलाई साथ दिएकै थियो । ओलीको बलियो मोर्चामा साना पार्टीहरू पनि थिए । माओवादी र राप्रपासमेत ओलीको पक्षमा उभिएपछि तत्कालीन विपक्षी दल नेपाली काँग्रेस निकै कमजोर देखिएको थियो । तर, यति बेला परिस्थिति बदलिएको छ । एकताका केपी ओली र नेकपा एमालेको मोर्चामा रहेका धेरै दलहरूको साथ एमालेले गुमाएको छ । एमाले अध्यक्ष ओली एक्लिँदै र घेराबन्दीमा पर्दै गइरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले आफूलाई केपी ओलीले हेप्ने गरेको र दोस्रो दर्जाको व्यवहार गर्ने गरेको गुनासो पोख्ने गरेका छन् । केपी ओलीको व्यवहार र कार्यशैलीमाथि कमल थापा र प्रचण्डको लगभग एकै प्रकारको गुनासो छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रवारदेखि राजधानीमा सुरु भएको छ । के अब उसले माओवादी एमाले गठबन्धन टुटेको सयमदेखि अहिलेसम्मको आफ्नो भूमिकाको सिंहावलोकन गर्ला त ?

तर, एमाले अध्यक्ष ओलीले चाहिँ प्रचण्डले साथ छाड्नुमा आफ्नो व्यवहारका कारणले नभई ‘बाह्य शक्ति’ लाई दोष लगाउने गरेका छन् । ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुरुमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओलीको साथ छाडे । भने, काँग्रेसको साथ लिएर प्रचण्ड प्रधानमन्त्री बन्दासम्म कमल थापा केपी ओलीकै क्याम्पमा इमान्दारितापूर्वक उभिएका थिए ।

तर, ओलीले कमल थापाको पार्टीभित्रै चलखेल गरेर राप्रपा फुटाउन भूमिका खेलेको गुनासो गर्दै कमल थापाले यति बेला ओलीसँग चित्त दुखाएका छन् । हुन त कमल थापाले प्रचण्डको सरकारमा सहभागी हुनु गल्ती भएको निष्कर्ष निकालेका छन् । तर, यसको अर्थ उनी एमालेको कित्तामा छन् भन्ने होइन । थापाले केपी ओलीलाई राप्रपाभित्र चलखेल गरेको र आफ्ना सांसद खरिद गर्न खोजेको भन्दै गुनासो गरेका छन् ।

विशेष गरी संविधान संशोधन प्रस्ताव असफल गराउनका लागि राप्रपाका १२ सांसदलाई गोकर्ण रिसोर्टमा लुकाउने सवालमा ओलीले चलखेल गरेको कमल थापाले गुनासो गर्ने गरेको स्रोत बताउँछ । संविधान संशोधनमा एमाले र राप्रपावीच केही मतान्तर रहेको अवस्थामा त्यसरी ओलीले अर्को पार्टीभित्र चलखेल गर्नु अनैतिक कार्य हो भन्ने कमल थापाको बुझाइ छ ।

अन्ततः त्यही १२ भाइ सांसदको प्रकरण अघि बढ्दै गएर राप्रपा फुटिसकेको छ । यसमा कहीँ न कहीँ केपी ओलीको हात छ भन्ने कमल थापाले गुनासो गर्दै आएका छन् । यसमा आफूसँग तस्बिरसहितको प्रमाण रहेको थापाले आफ्ना निकटस्थहरुसँग बताउने गरेका छन् । त्यस्तै, एमालेले काठमाडौँको मेयर जित्नका लागि उपमेयरमा राप्रपालाई सघाउने गरी तालमेल गरेको थियो । तर, एमालेले राप्रपालाई घात गर्‍यो र उपमेयरमा गाईमा भोट हालेन । यसबाट पनि राप्रपाभित्र एमालेप्रति असन्तुष्टि देखा पर्‍यो ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि लामो समयदेखि एमालेलाई साथ दिँदै आएका थिए । झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा होस् या माधव नेपालले सरकार चलाउँदा होस्, जनमोर्चाले एमालेलाई अनवरत साथ दिएको थियो । ओली सरकारमा चित्रबहादुर केसीले बलियो साथ दिए । तर, स्थानीय निर्वाचनमा एमाले नेता कार्यकर्ताहरुमा ठुलो पार्टी हुनुको दम्भ यतिधेरै देखियो कि मोहनविक्रम सिंहले लामो लेख नै लेखेर एमाले धोकेबाज भएको आरोप लगाए ।

विशेष गरी बाग्लुङ र प्युठानको स्थानीय चुनावमा एमालेले आफूहरुलाई धोका दिएको जनमोर्चाका नेताहरूको गुनासो छ । जनमोर्चाका नेता चित्रबहादुर केसी पनि कमल थापाजस्तै प्रचण्ड र देउवाको क्याम्पमा त गइसकेका छैनन्, तर उनीहरू एमालेको व्यवहारबाट दिक्क छन् ।

भक्तपुरमा सामान्य प्रभाव रहेको नेपाल माजदुर किसान पार्टी र एमालेको सम्बन्ध विगतमा त्यति राम्रो थिएन । तर, पछिल्लो समयमा एमाले सरकारलाई नेमकिपाले बाहिरैबाट भए पनि साथ दिएको थियो । तर, अहिले नेमकिपाका नेताहरू एमालेसँग चिढिएका छन् । केही दिन पहिले प्रसारण भएको एउटा टिभी प्रोग्राममा नेमकिपाका प्रेम सुवालले एमाले सांसद यज्ञ सुनुवारलाई एमाले महाकाली बेच्ने राष्ट्रघाती हो भन्दै झम्टिएको दृश्यले एमाले-नेमकिपाको पछिल्लो सम्बन्धलाई स्पष्ट पार्छ ।

एमाले अध्यक्ष केपी ओलीले सुरुमा मधेस केन्द्रित दलका नेताहरूलाई भन्नुसम्म भनेर चिढ्याए । पछिल्लो समयमा उनले राजपा र सङ्घीय फोरमका नेताहरूलाई फकाउने प्रयास गरे । दोस्रो तहका नेताहरूलाई मधेसी दलका नेतासँग सम्वाद गराएर ओलीले फकाउने रणनीति भित्रभित्रै अघि बढाए । तर, त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो ।

विजय गच्छदार सुरुमा एमालेकै नजिक थिए, पछि उनी देउवाको क्याम्पतिर गए । स्थानीय चुनावमा बिराटनगरमा ओलीले उपमेयरमा गच्छदारसँग तालमेल गरेका थिए । तर, एमाले तालमेलप्रति इमान्दार रहेन भन्ने कुरा उपमेयर सुची चौधरीले पाएको मतबाटै प्रस्ट भयो । गच्छदार नै एमालेतिर कायम नरहेपछि राजपा र फोरम त झनै रहने कुरै भएन । आफैँ सत्ताबाट बहिर्गमित बनेको एमालेले सत्ताको मोह भएका गच्छदारलाई आफूसँगै राखिरहन सम्भव पनि भएन । अन्ततः ठुलो ईस्यु केही नहुँदा नहुँदै पनि एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्‍यो र मधेससँग आफ्नो दुरी अनावश्यक रूपमा बढायो ।

केपी ओली नेतृत्वको सरकारलाई एकनाथ ढकालदेखि लिएर खस नेतासम्मको साथ थियो । माधव नेपालको सरकार पालामा पनि एमालेलाई धेरैवटा साना पार्टीहरूले इमान्दारितापूर्वक साथ दिएका थिए । तर, थ्रेस होल्डको पक्षमा एमाले बलियो गरी उभियो र यसले गर्दा साना पार्टीहरू चिढिए । चिढिएमात्रै होइन, आगामी चुनावमा यही थ्रेसहोल्डकै कारण साना पार्टीहरूको अस्थित्व लोप हुने स्थिति पैदा भयो ।

एमाले नेताहरूको बुझाइ के थियो भने अब एमालेको बहुमतलाई कसैले रोक्न सक्दैन र एमालेको एकलौटी सरकार बनाउनका लागि यी साना पार्टीहरुमाथि पटाहा लगाउन जरुरी छ । ठुलो पार्टी हुनुको यही मनोविज्ञान र दम्भका कारण एमालेले साना पार्टीहरुका लागि ‘न रहे बाँस, न बज्यो बाँसुरी’ को नीति अंगीकार गर्‍यो । तर, एमालेको यो ‘मत्स्य विधिशास्त्र’ का कारण अबको चुनावमा साना दलको राष्ट्रिय अस्तित्व सङ्कटमा पर्ने भएको छ ।

राजनीतिमा बढ्दो विकृतिलाई हल गर्न थ्रेसहोल्डको व्यवस्था गरिनुलाई जायज नै मान्न सकिन्छ । तर, यो निर्णयमा एमालेको अडानको प्रतिफलचाहिँ साना दलहरूको साथ गमाउनेतर्फ मोडियो । के अब उसले माओवादी-एमाले गठबन्धन टुटेको सयमदेखि अहिलेसम्मको आफ्नो भूमिकाको सिंहावलोकन गर्ला ?

या अझै पनि आफूलाई मात्रै राष्ट्रवादी ठान्ने र अरू सबै दललाई भित्तामा पुर्‍याउने दुस्साहसवादी नीति नै कायम राख्छ ? के उसलाई अझै पनि अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने आवश्यकताको बोध भएको छैन ? पक्कै पनि यसबारे एमाले बैठकमा बहस हुने नै छ । एमालेले माओवादी, मधेसवादी लगायतका धेरै दलहरूलाई फुच्चेहरु भन्दै पर्खाल बाहिर ठेल्न खोज्यो । तर, तेस्रो चरणको चुनावसम्म आइपुग्दा अरूका लागि लगाइएको पर्खालले अन्ततः एमालेलाई नै घेराभित्र पारेको छ ।

विद्वानहरुले भन्ने गरेका छन्- तिमीले अरूलाई बाहिर पार्ने उद्देश्यले ठड्याएको पर्खालकै कारण तिमी आफैँ एक्लिन र घेरामा पर्न सक्छौ ।
स्राेत : अनलाइन खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *