सडक ढाकेर यातायात अवरुद्ध

किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिकाले असोज १ गते आइतबारबाट तीन पांग्रे सवारी साधनलाई रिंगरोडमा जोरबिजोर प्रणाली लागू गरेपछि अटो रिक्सा व्यवसायीहरुले विरोधस्वरुप आइतबार दिनभरजसो यातायात अवरुद्ध गरेका छन् ।

अटो रिक्सा सञ्चालन गर्नेहरुले आइतबार बिहान चौबीसकोठीमा सडक नै ढाकेर यातायात सञ्चालनमा अवरोध पु¥याएका थिए । दिउँसो नारायणगढको सहिदचोकमा सडक नै ढाकिने गरी अटो रिक्साहरु रोकिएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरू सञ्चालन हुन सकेनन् ।

भरतपुर महानगरपालिकाले रिङरोड (पुल्चोकदेखि केन्द्रीय बसपार्क र बसपार्कदेखि आँपटाडीसम्मको बाइपास सडक) मा अटो रिक्साहरुलाई जोर बिजोर प्रणाली बसालेको थियो । प्रणाली बसालेकै दिन आइतबारदेखि अटो व्यवसायीहरु विरोधमा उत्रेर यातायात सञ्चालनमा नै अवरुद्ध गरे ।

अटो व्यवसायीहरु विरोधमा उत्रे पनि महानगरपालिका पछि नहट्ने बताइरहेको छ । ‘सबै सरोकार पक्षसँग छलफल गरेर जोरबिजोर प्रणालीको नियम राखिएको हो’ भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले भनिन्, ‘यस विषयमा कुनै हालतमा महानगर पछि हट्दैन ।’

मेयर दाहालका अनुसार सहरलाई सुन्दर बनाउन रिंगरोडमा मात्रै अटो रिक्साहरुको जोरबिजोर प्रणाली अपनाइएको हो । उनले भनिन्, ‘व्यवसायी, प्रहरी, उवासंघ, उद्योग सङ्घ, दलहरुलगायत सम्पूर्ण सरोकार पक्षसँग छलफल गरेर यस्तो प्रणाली अपनाइएको हो ।’ उनले बेथितिलाई अन्त्य गर्न यस्तो नियम कार्यान्वयनमा ल्याएर छोड्ने बताइन् ।

‘सुरुमा नयाँ काम गर्दा अलिअलि विरोध आउँछ, तर यो विरोध बिस्तारै कम हुँदै जान्छ’ मेयर दाहालले भनिन्, ‘अलिअलि विरोध हुँदैमा महानगर पछि हट्दैन । म कार्यान्वयन गराएर छोड्छु । सबैको साथ र सहयोग चाहिन्छ ।’ वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट इजाजत लिएर सञ्चालनमा आएका तीन पाङ्ग्रे सवारी साधनलाई रिंगरोडभित्र पूर्णरुपमा निषेध गर्ने निर्णय महानगरले गरेको छ ।

‘दुलही योजनामा बाधा’
अस्तव्यस्त र कुरुप नारायणगढलाई ‘दुलही’जस्ती बनाउने कसरतमा महानगर लागेको छ । असोज १ गतेबाट महानगरपालिकाको ‘दुलही’योजना सुरु भएको छ । तर महानगरको योजनाको पहिलो दिनमै अटो रिक्सा व्यवसायीहरुले तगारो हाले । अटो रिक्सा व्यवसायीको विरोधबाट महानगर पछि नहट्ने जनाउ दिएको छ । ‘बेथिति रोक्नको लागि चरणबद्ध तरिकाले कार्बाहीको प्रक्रिया अघि बढ्न सक्छ’ मेयर दाहालले भनिन् ।

त्यस्तै, असोज १ गतेबाट कार्यान्वयनमा आउने गरी सडकभरि अव्यवस्थित तरिकाले हुने गरेको पार्किङलाई व्यवस्थित बनाउन महानगरपालिकाले विभिन्न ठाउँको खोजी गरी पार्किङ स्थल तोकेको थियो । तर पहिलो दिन व्यवस्थित पार्किङ कार्यान्वयनमा आएको देखिएन । सडकभरि अव्यवस्थित पार्किङ भएको देखियो ।

‘जुनजुन ठाउँमा पार्किङ स्थल तोकेका थियौँ, त्यसको व्यवस्थापन गर्न अझै एकदुई दिन लाग्ने भयो’ मेयर रेणु दाहालले भनिन्, ‘एकदुई दिनभित्रै उचित व्यवस्थापन भएपछि सडकमा पार्किङ हुँदैन ।’

महानगरपालिकाका उपमेयर पार्वती शाहका अनुसार पुल्चोक बजार क्षेत्रको लागि नारायणी नदी किनार, लायन्सचोक वरिपरि क्षेत्रको लागि गणेश चलचित्र हल पछाडिको खाली जमिनमा पार्किङको व्यवस्था मिलाइएको छ । उनले कुरुप नारायणगढलाई सुन्दर बनाउन महानगरले पहल थालेको बताइन् । महानगरपालिकाकी उपमेयर पार्वती शाहले चौबिसकोठीलगायतका क्षेत्रहरुको लागि चितवन मावीको जग्गा र जिल्ला प्रहरी कार्यालयअगाडिको गेष्ट हाउस चौरमा सशुल्क पार्किङको व्यवस्था मिलाइएको बताइन् ।

त्यस्तै, असोज १ गतेबाट कुनै पनि व्यवसायीले पसल अगाडिको पेटीमा सामन राख्न नपाउने नियम लागू गरे पनि यो नियम पनि कार्यान्वयनमा आएको देखिएन । केही व्यवसायीहरुले सडक अगाडि पेटीमा सामन राखेर विक्री वितरण गरेका थिए ।

नियमहरू असोज १ गतेबाट कार्यान्वयनमा आएका छन्, अहिले सूचना दिने काम भइरहेको छ । बिस्तारै अटेर गर्नेलाई कार्बाही प्रक्रिया पनि अघि बढ्छ’ मेयर दाहालले भनिन् । महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले कुनै पनि व्यापारीले पेटीमा सामन राखी व्यवसाय चलाएमा उनसको महानगरपालिकाले सामन जफतसम्म गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *