रेणु दाहाल भन्छिन्ः असम्भव भन्ने कुरा त के नै छ र ?


भरतपुर महानगरको मेयरमा निर्वाचित रेणु दाहालले आफ्नो कार्यकालको ३५ दिन पूरा गरेकी छन् । उनी महानगरपालिकाहरुमा देशकै पहिलो महिला मेयर पनि हुन् । साविक शिवनगर गाविस हाल भरतपुर महानगर वडा नम्बर १४ शिवनगरमा २०३३ असारमा जन्मिएकी रेणुले भरतपुरको महानगरको मेयरमा निर्वाचित भएपछि यो ३५ दिन कसरी बिताइन् ? यो अवधिमा उनले केके कामहरू गरिन् ? अबको समय महानगरका कस्ता गतिविधिहरूमा उनको ध्यान केन्द्रित हुन्छ ? मेयर रेणुको पहलमा साँच्चै भरतपुर महानगरले विकासमा कोल्टे फेर्ला त ? यस्तै विषयमा केन्द्रित भएर मकालु खबरका सहसम्पादक किशोर खनालले मेयर रेणु दाहालसँग गरेको कुराकानीको सक्षेप:

भरतपुर महानगरको मेयरमा निर्वाचित भएर कार्यभार लिनुभएको एक महिना नाघेको छ, यो एक महिनाको समयमा केके काम गर्नुभएको छ ?

–एक महिनाको अवधिमा केही राम्रा कामहरू भएका छन् । सोचेजस्तो दुरगामी महत्वका काम त भएका छैनन्, तर पनि राम्रा कामको सुरुवात् भएका छन् । मैले पदभार लिएकै दिन पहिलो काम भरतपुर अस्पतालमा महिला र ६० वर्ष कटेका वृद्धहरुलाई ओपीडी टिकट निःशुल्क गर्ने घोषणा गरेँ । यो कामको प्रभावकारिता देखिएको छ । जसको चौतर्फी प्रशंसा भइरहेको छ ।

त्यस्तै, महानगरलाई प्रविधियुक्त बनाउन नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बसपार्कमा फ्रि वाईफाई गरिएको छ । एक/दुई दिनमा महानगरवासीले त्यहाँ फ्रि वाईफाई चलाउन पाउनेछन् । अहिले त्यो कामको सिलसिलामा अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै, यही एक महिनाको अवधिमा हामीले अव्यवस्थित नारायणगढ र भरतपुरको पार्किङलाई व्यवस्थित बनाउन विभिन्न ठाउँमा पार्किङ स्थलहरु बनाएका छौँ, जहाँ सवारी धनीहरुले सशुल्क पार्किङ गर्नुपर्छ । यो नियम असोज १ गतेबाट लाग्छ । पसल सञ्चालकहरुले सडकको पेटीहरुमा बेच्ने सामन राख्न पाउने छैनन् । यसलाई पनि असोज १ गतेबाटै कार्यान्वयनमा ल्याइन्छ । हर्न निषेध गर्ने, करहरुको दायर बढाउनेलगायतका कामहरू पनि भएका छन् । हामीले महानगरको समग्र विकासका लागि यसबीचमा विज्ञहरुसँग छलफल तथा अन्तरक्रियाहरु गरिरहेका छौँ ।

दीर्घकालीन योजनाका काम त कुनै पनि भएनन् नि, कुनै कामको घोषणा गर्ने योजना छैन ?

–हो, यो एक महिनाको अवधिमा कुनै दीर्घकालीन योजनाका काम भएका छैनन् । थु्रपै दीर्घकालीन योजनाको कामहरू गर्न बाँकी छ । केही दीर्घकालीन योजनाको घोषणा छिटै हुने नगर सभाबाट हुन्छ । सायद दसैँपछि नगर सभा हुने तयारी भइरहेको छ । महानगरवासीको जनअपेक्षा ठुलो छ, केही जनअपेक्षाको हल नगरसभाले गर्ने भएको छ । सभाहलको कुरा छ, रिङरोडको कुरा छ, ल्याण्डफिल साइटको कुरा पनि छ । यस विषयमा नगर सभाबाट नै केही हुनेछ । महानगरको गुरुयोजना बनेपछि दीर्घकालीन कामको घोषणा हुनेछ । हामी सबैभन्दा पहिला महानगरको बृहत् गुरुयोजना निर्माण गर्ने क्रममा छौँ, केही दिन धैर्यधारण रूपमा बस्न म महानगरवासीहरुमा अनुरोध गर्दछु ।

विकासमा भन्दा बढी भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरको समय बढी स्वागत सम्मानमै बितेको छ भन्ने गुनासो छ नि ?

– चुनावको बेला हामीलाई सबैले सहयोग गरेका हुन् । आयोजकहरुले चुनावको बेला सहयोग गरियो, निर्वाचित भएपछि स्वागत पनि गर्नप¥यो भनेर बोलाउन आउँछन् । कति आयोजकहरुले धर्ना नै कस्छन् । समय छैन भन्दा पनि आयोजकहरुले आधा एक घण्टा भनेर बोलाउँछन् । हामीले हाम्रा समस्या सुनाउन बोलाएका हौँ भन्छन् । यस्तो अवस्थामा कसरी नजाने ? आयोजकहरुले बोलाउँदा कार्यक्रममा नजाँदा उनीहरूले अपमान महसुस गर्ने डर पनि छ । भोलिका दिनमा हामीलाई सबैको सहयोग चाहिएको छ । त्यसैले कति ठाउँमा नगई नहुने अवस्था आउँछ । स्वागत सम्मानको काम पनि फेरि सधैँ त हुँदैन । यो अझै केही समय जाला पनि । तर स्वागत सम्मानमा जाँदा महानगरका अरू विकासका काम पाखा परेका भने छैनन् । सबै काम भइरहेका छन् ।

तपाईँजस्ता पत्रकारहरुले स्वागत कार्यक्रममा जाने लहर बढी भयो भन्ने गुनासो गरेपछि हामीले यसलाई कटौती गरेका छौँ । तर जानैपर्ने काम हुँदा त जान पनि पर्छ । महानगरवासीको गुनासो सुन्ने अवसर पनि हामीलाई यस्ता कार्यक्रमले दिएको छ । कार्यक्रम स्वागत सम्मानकै हुँदा पनि ती कार्यक्रममा नगरवासीहरुले आफ्ना टोलछिमेकका समस्याहरू विकास निर्माणका कुराहरू नै राख्नु भएको छ । यी सुझावहरू महानगरको समग्र विकासको सारथी हुने अपेक्षा मैले गरेको छु ।

भरतपुरलाई स्मार्ट सिटीदेखि मेघा सिटीसम्म बनाउने लक्ष्य छ भनिन्छ, यो सपना हो कि सम्भावना पनि छ ?

– असम्भव भन्ने कुरा त के नै छ र ? भरतपुर सम्भावना नै सम्भावनाको सहर हो । कृषि, पर्यटन, उद्योग, मेडिकल सिटि, शैक्षिक हबसहितको स्मार्ट सिटी, मेघा सिटी, मल्टी सिटीजस्ता सिटीहरु भरतपुरलाई बनाउन सकिन्छ । केवल यसमा इच्छाशक्तिको खाँचो छ । सहयोगको खाँचो छ । हामीले चुनावको बेला पनि यस्ता सिटीहरु बनाउने योजना सारेका थियौँ । भरतपुरलाई पाँच वटा सिटी बनाउनको लागि सहरी विकास मन्त्रालयले २ अर्बको बजेट हामीलाई दिएको छ । यो बजेट पार्नु नै मेरो पहिलो उपलब्धि हो । चरणबद्ध रूपमा ४ वर्षभित्रमा यो बजेट भरतपुर महानगरलाई प्राप्त हुन्छ । यो वर्ष ३० करोड बजेट आएको छ । अहिले सपनाजस्ता लाग्ने दुरगामी योजनाहरुलाई साकार पार्न म लाग्ने छु । यसलाई सम्भावनामा परिणत गर्न मेरो भूमिका सदैव रहनेछ ।

तपाईँ गबन्धनबाट (काँग्रेस र माओवादी केन्द्र) विजयी हुनुभएको हो, तपाईँले आफ्नो पार्टी माओवादी केन्द्रलाई मात्र काखा लिएर हिँड्नु पाउनुहुँदैन । काँग्रेसको कुराहरू पनि तपाईँले सुन्नुपर्छ । यो तालमेलले काम गर्न कति सजिलो अथवा गाह्रो भएको छ ?

– हो, म गठबन्धनबाटै विजयी भएर आएको हुँ । एउटा पार्टीबाट उठेर विजयी भए पनि म अब सम्पूर्ण महानगरको साझा मेयर हुँ । कसैलाई काखा र कसैलाई पाखा म गर्नेछैन । मैले मेरो पार्टीको मात्र कुरा सुन्ने, अथवा काँग्रेसको मात्र कुरा सुन्ने अथवा एमालेलाई माइनस गरेर अगाडि बढ्नेजस्ता काम मबाट हुँदैन । यी मात्र होइन अन्य राजनीतिक दलहरू पनि छन् उनीहरू सबैलाई साझा आँखाले हेर्नेछु । विकासको हरेक कुरामा मलाई साथ र सहयोग हुने आशा पनि गरेको छु ।

महानगरमा बहुमत गठबन्धनकै छ, कार्यपालिका गठनमा पनि गठबन्धन भएको छ, एमालेलाई माइनस गरी अगाडि बढ्ने हर्कत त गर्नुहुँदैन ?

– मैले भनिसकें । म साझा मेयर हुँ । कसैलाई पनि माइनस गरेर अगाडि बढ्दिनँ । सबैलाई सँगसँगै लिएर अघि बढ्छु । तर मेरो असल कामलाई कसैले पनि तगारो नहालोस् भन्ने मैले चाहेको छु । असल काम गर्दा विरोध नहोस् भन्ने मेरा चाहना हो । एमाले, काँग्रेस अथवा अन्य दल कसैलाई पनि माइनस गरेर अघि बढ्दिनँ । सबैसँग हातेमालो गरी समन्वयात्मक भूमिका निभाउँदै अघि बढ्नेछु ।

काठमाडौँ जस्तो भद्रगोल र अव्यवस्थित महानगर हामीलाई चाहिएको छैन । सभ्य, सफा र समृद्ध महानगर हामीलाई चाहिएको छ, केके कुरामा कस्ता नीतिहरू बनाउँदै हुनुहुन्छ ?

–हो, हामी पनि हाम्रो महानगर सफा, समृद्ध र नमुना महानगर बनाउन खोज्दैछौँ । यसमा सबैको साथ र सहयोगको खाँचो छ । कुरुप र अव्यवस्थित महानगर हुनबाट रोक्न अहिल्यैदेखि हामी चनाखो भएका छौँ । प्रत्येक वडाहरुमा एउटा तरकारी बजार बनाउने योजना छ । नारायणगढ लायन्सचोकमा रहेको सव्जी मण्डीलाई अन्यन्त्र सार्ने योजना हामीले बनाएका छौँ । त्यहाँ महानगरको कम्प्लेक्स बनाउने योजना छ । सडक फराकिलो र पक्की बनाउने, पार्कहरु निर्माण गर्ने, ढलहरुलाई व्यवस्थित बनाउने योजना छ । पक्कै पनि हामी अहिल्यै सचेत भएर भरतपुर महानगरलाई काठमाडौँ जस्तो बनाउने छैनौँ ।

स्थानीय सरकार भनिएको छ, स्थानीय नीतिहरू बनाउँदा सबैको छलफलबाट बनाइनेछ । यसैका लागि पहिला महानगरको गुरुयोजना बनाउने भनेका हौँ । योजनाबद्ध दिगो विकासले नमुना महानगर बनाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।

अन्त्यमा, चुनावको बेला गरिएका प्रतिबद्धताहरु र घोषणाहरू कति समयसम्म पूरा होला ?

– हेर्नुहोस् हचुवाको भरमा चुनाव जित्नको लागि हावादारी योजना बनाएर म निर्वाचनमा होमिएको होइन, जनजिविकाको पक्षपोषण गर्दै सम्वृद्ध महानगरको परिकल्पना गर्दै दृढ इच्छाशक्तिसहित लागि परेको छु । जनताको अपेक्षा धेरै छ, चुनावको बेला धेरै प्रतिबद्धताहरु र घोषणाहरू गरिएको छ । त्यो मेरो कार्यकाल भर गर्न सक्ने खालका छन् । ती प्रतिबद्धताहरु मैले ५ वर्षभित्रमा पूरा गर्छु । अहिल्यै नै एक वर्ष यो काम गर्छु, अर्को वर्षमा यो गर्छु भन्न सकिने अवस्था छैन । तर मेरा योजनाहरू मैले मेरो कार्यकालमा सक्छु ।

महानगरवासीले अनुभव गर्ने गरी दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनाहरू तर्जुमा गरी अगाडि बढ्ने छु । यसमा सबै राजनीतिकदलहरु, नागरिक समाज, विभिन्न संघसंस्थाहरु, तपाईँ पत्रकार साथीहरू र सरोकारवाला पक्षहरू सबैको रचनात्मक सहयोग र सुझावको आवश्यक छ । सबै महानगरवासीको सहयोग चाहिन्छ । सहयोग नपाए एक जना मेयरले मात्र केही गर्न सकिने अवस्था छैन । सबैको साथ र सहयोगको खाँचो छ । यसले मात्र एउटा सम्वृद्ध महानगरको परिकल्पना गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *