कथाः हारेको जिन्दगी

सानो गाउँ गरिब परिवार सो परिवार भित्र एउटा अबोध बालकको परिवेश खुसीको लहर सायद कसमा पो नहोला र ! परिवार एउटा जमिन्दारमा आश्रित छ । संयोग भन्नु पर्दछ जमिन्दारको परिवारमा पनि एउटा नयाँ किरण झल्कन्छ त्यहाँ पनि एक सूकन्याको जन्म हुन्छ ।

आफ्नो उमेर सँगै हुर्कदै गरेका यी नादान कति बेला बाल्यकालको मायामा बाँधिन्छन् थाहै हुँदैन । सम्पन्न परिवारकी एक्ली छोरी (सूकृति) पढाइको सिलसिलामा विदेसिन्छीन् । केही समय पछि सपरिवार नै बिदेशिएपछि दुई आत्माहरु पनि स्वतः विछोडिन्छन् ।

‘माया भनेको एक चिम्टी सिन्दूरले रंगाउँदैमा

अग्नीलाई सात फेरा लगाउँदैमा पुरा हुने कुरा हैन’

उमेर सँगसगैं पढाई पुरा हुन्छ । सूकृतिको परिवारमा विवाहको प्रस्ताव आउने जाने भइरहेको छ । बाल्यकालमा लगाएको माया भुल्न पनि नसकिने सम्हाल्न पनि नसकिने । सूकृति एक्लोको कति पो जोर चल्छ र । उनी मदनसँगको प्रेमलाई मुटुभित्र सजाएर देख्नु न जान्नु मान्छेको घरमा जान्छिन् । शरीर अरूलाई दिएपनि सूकृतिले मन मदनलाई नै दिएकी छन् । श्रीमानको न्यानो अँगालोमा सूकृतिले कहिल्लै मन बुझाउन सकिन ।

दिनपछि रात रातपछि दिन यसरी नै समयचक्र लिरहँदा रहँदै गरिबीको चेपुवामा पिल्सिरहेको मदनको जिन्दगीमा मायाको साथ हो या, भगवानको कृपा उच्च शिक्षाका लागि वैदेशिक छात्रवृत्ति हात पर्छ । त्यो पनि उसैको मायालु रहेको स्थानमा । हो, मदन अब सूकृति कै देश र सहरमा उच्च शिक्षाका लागि गयो ।

समय परिवर्तनसँगै एक दिन मदन र सूकृतिको भेट हुन्छ । अकस्मात आफ्नो अगाडी मदनलाई देखेर सूकृतिको वर्षौदेखि गुम्सिएको माया पोखिएर आउँछ । तर, उनी त्यो मायालाई छताछुल्ल पार्न सक्दिनन् । किनकि उ अरूकै भइसकेकी थिई । उनको शिरमा रमेशको सिन्दूर थियो । त्यो सिन्दूर लक्ष्मण रेखा बनेर मदन र सूकृतिका माझमा आइदियो ।

वर्षौदेखिको मिलनको कल्पना गरेको मदन पनि आफ्ना अघि प्रेयसी अर्कैको सिन्दूरले सजिएर आएको देखेपछि एक छिन हत्प्रत भयो । दुवै नयनका इसाराले बोल्न थाले । दुवैका मनमा अनगिन्ती पिडा गुम्सिएका थिए । आखिर कतिसम्म धैर्य हुने ? कतिसम्म गुम्सिने ?
शून्यताको परिवेशमा दुवै आलिँगनमा समाहित भए । ‘सूकू यो कस्तो नियति, कस्तो भाग्य !’ मदनले भनिसक्दा सूकृति उ भित्र हराई सकेकि थिई । केही बेर दुवै अतीतलाई सम्झँदै हराए ।

अब एउटै सहर एउटै टोल । सूकृति र मदनले सिन्दूरको लक्ष्मण रेखालाई पार गरे । दिन प्रतिदिन उनीहरूको माया झाङ्गििदै गयो ।
सूकृति मदनको समामिप्यतामा रमाएपनि रमेशको आलिँगनमा कहिल्लै खुसी हुन सकिन । बाहिर रमेशका अघिल्तिर जतिसुकै हास्ने खोजेपनि सकिन ।

एक दिन बाध्य भएर सूकृति रमेशलाई मदनसँगको सम्बन्धका बारेमा भन्छे । ‘रमेश मलाई माफ गरिदेऊ मैले तिमीलाई तन दिए तर मन दिन सकिन ।’

तर, कसलाई मन पर्छ र यहाँ यस्तो कुरा…! त्यस पछिका दिनमा रमेश कठोर भयो । सूकृतिलाई घरमै नजर बन्धक बनाईयो ।
उता सूकृतिसँग भेट नहुँदा मदन पनि पिडामा छट्पटिन्छ । के गर्नु परदेशमा उसको पनि साथी भनेपनि प्रेमिका भनेपनि सूकृति नै हो । उसलाई थाहा छैन सूकृति रमेशकै घरमा नजरबन्दमा छे ।

घरभित्रै नजरबन्द भएपछि सूकृति बहुलाए सरी हुन्छे । उ, समाज सँग र रमेशको परिवारसँग विद्रोह गरुकी अरू केही गरु दोधारमा छे । बाबाआमाको इज्जत पनि उसको अघिल्तिर आइदिन्छ । यसरी कयौँ दिन बन्द कोठामा बसिरहँदा दिनप्रतिदिन उसको स्वभाव पनि परिवर्तित हुन्छ ।

उ गरौँ कि मरौं भन्ने दोधारमा अनायासै श्रीमानलाई पत्र कोर्दछे ।

प्रिय, रमेश,

कति दिन सम्म तड्पिएर छटपटिएर म यस धर्तीमा बाँच्न सक्छु र ?

म पनि त यो संसारमा स्वतन्त्र भई बाँच्न चाहने प्राणी न हुँ, म भित्रपनि त आकाक्षा चाहना भावना होलान् ! किन मलाई पिंजडाको सुगा बनाइएको ?

रमेश, मेरो बुझाई माया भनेको एक चिम्टी सिन्दूरले रंगाउँदैमा अग्नीलाई सात फेरा लगाउँदैमा पुरा हुने कुरा हैन । मलाई तपाईसँग कुनै प्रेमिल महसुस नै भएन । फगत म एउटा देखावटी सान र सौकतका लागि तपाईसँग एउटा सम्झौता मात्र गरेकी हुँ । यो सम्झौता गर्न मलाई बाध्य बनाइएको थियो । म हिजो पनि हजुरकी थिइन, आज पनि छैन र भोलि पनि हुन सक्दिन । जवसम्म श्रीमान् श्रीमती बिच भावनात्मक सम्बन्ध जोडिँदैन तवसम्म त्यो सम्बन्ध सम्झौता मात्र हो । तपाईसँगको मेरो सम्बन्ध पनि त्यही सिन्दूर र सात फेराको सम्झौता मात्र भयो । तपाईँ मायालाई पैसामा तौलनु हुन्छ । तपाईँले पैसाबाट शारीरिक सुख खरिद गर्नसक्नु होला मेरो मन र मस्तिस्कलाई जित्न सक्नुहुन्न ।

मलाई चाहिदैन हजुरको सान, सौकत, दौलत, बैक ब्यालेन्स अनि गाडी बगंला । मैले हजुरलाई त्यही दिन सुम्पेकी थिए जुन दिन मेरो बाबा आमाले हजुरलाई मेरो हात थमाएका थिए । मैले त्यही दिन सुम्पेकी थिए आफना लाजका गहना हजुर माझ । तर, चढाउन सकेकि थिइन मेरो मन र मुटु । यहाँ त अरुनै पहिल्लै विराजमान भइसकेको थियो ।

रमेश, जान अन्जानमा म बाट भएको गल्तीलाई क्षमा गरिदिनु होला ।

मेरो जिन्दगीको सपना त मेरो मदन हो । उ विना म कसरी खुसी रहन सक्छु ! उसलाई पाउन हजुरको अवरोधले नदिएपनि मलाई कुनै दुखः छैन । मदनलाई यो जुनीमा पाउन नसकेपनि अर्को जुनीमा अवश्य पाउने छु ।

अलविदा रमेश,

यति लेखिसकेपछि सूकृति संसारबाट बिदा हुन्छे ।

सूकृतिको आत्महत्याले रमेशमा पनि पिडा बढ्दछ । मदनलाई त थाहै छैन की उसकी मायालुले उसलाई पाउने आशामा संसार त्यागी सकेकि छ ।
एक दिन मदन बजारमा हिँड्दै गर्दा आफ्नो प्रेमिकाको पति कुनै नयाँ युवतीसँग हिँडिरहेको देख्छ । सूकृति सम्पर्कमा नआउनु, रमेशसँग नयाँ केटी देखिनु मदन सशंकित हुन्छ ।

आज धेरै दिनपछि मदनले इमेल चेक गर्यो । अनायासै सूकृतिको इमेल देख्छ । हतार हतार खोल्छ । उ खुसीले रमाउँदै इमेल पढ्न थाल्छ ।

प्रिय, मदन,
संसार यस्तै रहेछ । यहाँ माया किन्नेहरुको भिड लाग्दो रहेछ । तिमीलाई त लाग्यो होला मैले पनि माया बेचिदिए अनि सोच्यौ पनि होला तिम्रो नजरमा म धोकेबाज । तर, यर्थात त्यो थिएन ।

मदन म हिजोपनि तिम्रै थिए, आज पनि तिम्रै हुँ र भोलीपनि तिम्रै हुँनेछु ।
कसरी तिमीलाई सजाएको मुटु भित्र अरूलाई राख्न सक्थे र !

मदन ! जसलाई मुटु माझ सजाए उही नै मेरो संसार थियो । मैले त शरीरसँग पो सम्झौता गरेकी थिएँ । मेरो मुटु र मन त तिमीसँगै हरदम थियो नि हैन ! मदन तिम्रो नाम त मैले कसैले नदेख्ने ठाउँ भित्र पो सजाई राखेकी थिएँ जो तिमी बाहेक कसैले चाहेरपनि पाउन सक्दैन थियो, हेर्न सक्दैन थियो ।

मलाई थाहा छ मदन, तिमीलाई मेरो विश्वास लाग्दैन किन कि म धन दौलत भित्र रमाएकी न परें । तर, मदन मेरो लागी तिम्रो माया सबै चिज थियो । तिमी विश्वास गर या नगर तर आज तिमीनै मेरो जीवनमा छैनौ भने मेरो बाँच्नुको अर्थ के ?
त्यसैले तिमीसँग अर्को जुनीमा भेटने बाचाका साथ बिदा लिदैछु……दुखी नबन ल ! तिमीलाई जान अन्जानमा केही भने गरेकी भए मलाई माफ गरिदिनु ल !

तिमी सधैँ खुसी हुनु, एउटा राम्रो परिवार बसाउनु जहाँ केवल माया नै माया मात्र रहोस् । अलविदा मदन

उही तिम्री अभागी प्रेमीका

म्यासेज पढिरहँदै मदनको मुटु जोडले ढड्किन थालेको थियो । दुखःका अनेक हण्डर खाँदा पनि हरेस र निराश नभएको मदन सूकृतिको कदमले हतास् हुन्छ । उसको अगाडी कालो धब्बा बाहेक केही देख्दैन । संसार भासिए जस्तो भयो । उसका अघिल्तिरका घडीका सुई रोकिए । मङ्सिर महिनामा घामको न्यानो तापमा पनि उसलाई हजार भोल्टेजको ज्वारभाटा आए जस्तो भयो । भक्लक्लै बसेकै ठाउैबाट भूइमा बजारियो । कार्यालयका सहकर्मीहरु अत्तालिँदै आए । हतार हतार एम्बुलेन्समा राखियो ।

हुईहुईहुई……एम्बुलेन्सको साईरन बज्दै गर्दा मदनका अन्तरआत्माले सूकृतिको आवाज सुन्यो …‘मदन आऊ न मलाई लैजाउ, म तिमी विना अपुरो अधुरो छु’ एम्बुलेन्स अस्पतालको गेटबाट छिर्दै गर्दा मदनले पनि आँखाका कोषबाट एक थोपा आँसु बिस्तारै निकाल्दै हँसिलो मुहार बनाएर सदाका लागि आँखा चिम्लियो ।

यो कथा कसैको जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *