भारतमा राजकीय रमाइलोः प्रधानमन्त्रीले सोधिरहे, आरजु खोइ आरजु !

अगष्ट २३ मा दिल्ली उत्रनासाथ भारतीय समकक्षी नरेन्द्र मोदीको ‘चिया स्वागत’ बाट नसोचेको चर्चा र सम्मान पाएका प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने भारत यात्रा व्यक्तिगत रूपमा सोचेभन्दा बढी लाभदायी रह्यो । भर्खरै भारतीय राष्ट्रपतिको १४ औँ कार्यकाल सम्हाल्न आइपुगेका रामनाथ कोविन्दको पहिलो ‘गार्ड अफ अनर’ सम्मान पाएका देउवाको हाइहाइ मुस्किलले २४ घण्टा मात्रै टिक्यो ।

अगष्ट २४ को बिहान दिल्लीको हैदराबाद हाउसमा दुईपक्षीय विशिष्ट भेटवार्ता एवं संयुक्त सम्बोधन गर्ने क्रममा लिखित भाषणमै नभएको संविधान संशोधनको मुद्दाबारे ‘अनावश्यक’ मन्तव्य राखेपछि प्रधानमन्त्री देउवाको खेदो सुरु भैहाल्यो । ‘यो पटक संविधान संशोधन असफल भो, अर्को पटक सफल गराएरै छाड्छु’ भन्ने भावमा देउवाले बोल्नासाथै उनका दिनदशा सुरु भैहाले । सामाजिक सञ्जालदेखि नेपालमा विपक्षी दलहरुसमेत देउवाको विरोधमा एकमुख बनिहाले ।

त्यसपछि सुरु भयो—मौनव्रत । अगष्ट २४ कै साँझ मानसिंह रोडको ताजमान होटेलमा नेपाली दूतावासले एउटा भव्य स्वागत (रिसेप्सनसहित) आयोजना गर्‍यो, प्रधानमन्त्री देउवाका निम्ति ।

रिसेप्सनमा भारतीय विशिष्ट नेताहरू मुरलीमनोहर जोशी, सिताराम येचुरी, सुधिन्द्र भदौरिया, केसी त्यागीसहित र सरकारी प्रतिनिधि रूपमा जलस्रोत मन्त्री उमा भारती, प्रधानमन्त्री मोदीका सुरक्षा मामला सल्लाहकार अजित डोबल आदि समेतको उपस्थिति थियो । तर, ७ बजे राखिएको समारोहमा ८ बजेतिर प्रधानमन्त्री देउवालाई उच्च सुरक्षाका साथ रिसेप्सन हलमा ल्याइयो, राम्ररी ५ मिनेट बस्न पनि नपाई फेरि बाहिर लगियो । राष्ट्रपति भेटघाटको समय जुधेकाले त्यस्तो भएको भन्दै दूतावासका अधिकारीहरू उम्किरहेका थिए । समारोहमा गला भासिएको र कसैले बुझ्न नसकेको स्वरमा राजदूत दीपकुमार उपाध्यायले संक्षिप्त स्वागत गरेका थिए । अब प्रधानमन्त्री देउवाले बोल्ने पालो होला भनेर पालो पर्खिरहेका पाहुनाले सुन्ने गरी प्रधानमन्त्रीले राजदूतलाई भनेका थिए—भयो भयो, पर्दैन । अनि प्रधानमन्त्री समारोहबाट बाहिर निस्किहाले । न कसैलाई धन्यवाद, न हाय–हेल्लो ।

द्वैदेशीय चालु विकास र आगामी योजनाका कुरा गर्ने बेलामा ‘संविधान संशोधन गरिछाड्छु’ भनेर अनर्थ बोलेपछि चौतर्फी आलोचना बेहोर्न थालेका प्रधानमन्त्री देउवा सबैतिर मौन–मौन रहन थालेका थिए । अझ अगष्ट २५ मा हैदराबादको भ्रमणमा निस्कँदा प्रधानमन्त्री देउवा अरू प्रतिनिधिमण्डल, सल्लाहकार र मिडियासँग पुरै ‘डिस्कनेक्ट’ देखिए, एक जना मात्रै अलिकति नजिक थिए भने काँग्रेस सांसद एनपी साउदसँग मात्रै ।

तेलाङ्गना र आन्ध्र प्रदेशका गभर्नर इ.एस.एल. नरसिंम्हको राजकीय स्वागत र भोज हैदारबादको ताज फलकनूको प्यालेसमा यसरी तामझामसाथ गरियो, त्यत्तिको खातिरदारी दिल्लीमा पनि भएको थिएन । त्यो विशिष्ट भीभीआइपी होटेलमा पुगेर पनि मिडियाकर्मीले न प्रधानमन्त्रीको सम्बोधन सुन्न पाए, न संवाद गर्नै पाए । प्रधानमन्त्रीको हैदराबाद भ्रमणको पूर्व तयारीमा गएका दूतावासका काउन्सेलर कृष्णप्रसाद पन्थ यतिसम्म ‘लोयल’ देखिए कि ताज प्यालेसमा बसेका ४० भन्दा बढी विशिष्ट पाहुना (नेपाली डेलिगेसन) को कोठा–कोठामा पुगेर “के–कस्तो छ कुन्नि” भन्दाभन्दै रातको ९ बजिसकेको थियो । यो सेवाभक्तिको प्रतापले भनौं, काउन्सेलर पन्थसहित अर्का काउन्सेलर उमाकान्त आचार्य, कान्तिपुर, राससका पत्रकारहरुलाई ताज होटेलमा सुत्ने कोठा नमिलेको अन्तिम बेलामा मात्रै पत्तो भयो । त्यसपछि मध्यरातमा ताजबाट ४ किलोमिटर टाढा अर्कै कामचलाउ होटेलमा सुत्ने प्रबन्ध मिलाइएको थियो ।

“के हामी सिरियाली शरणार्थी हौँ र यो अलपत्र बेहोर्ने”,दूतावासकै कर्मचारीबीचको भनाभन, त्यो पनि मध्यरातमा निकै रमाइलो सुनिएको थियो । सूचना, प्रविधिको सहर हैदराबाद पुगेर प्रधानमन्त्री देउवाले के–के हेरे, के–के बुझे— कुनै मिडियाकर्मीले केही पत्तो पाएनन् । कारकेडको कडाइ र भीभीआइपीको लस्करमाझ प्रधानन्त्री चस्मा उचाल्दै कुदिरहेका मात्रै देखिए । बेलाबेला बोलेको सुनिन्थ्यो—“आरजु खोइ हँ, ए आरजु !”

यसभन्दा अघिका प्रधानमन्त्रीका दिल्लीबाहिरका भ्रमणहरु केही कारण र अर्थले भरिएका हुन्थे । तर, प्रधानमन्त्री देउवा भने यस पटक श्रीमती आरजुको करकाप र छत्रछायाले गर्दा धार्मिक यात्रामा निस्किएजस्तो देखियो । उनी हैदराबादबाट डेढ घण्टाको फ्लाइटमा पुगिने तिरुपती बालाजीदेखि त्यहाँबाट २ घण्टामा उडेर पुगिने बोधगया (बिहार) सम्म धर्मै गर्न पुगेका थिए । लुम्बिनीमा जन्मेका भगवान् बुद्ध बिहारको बोधगया आएर ज्ञान प्राप्त गरेको एतिहासिक थलो घुम्दा प्रधानमन्त्रीले न बुद्ध–सर्किटका बारे चर्चा गर्न चाहे, न बुद्धको जन्मबारे कुनै हकदावी सुनाउन पाए । बोधगया मन्दिरमा ३ फेरो लगाउनुपर्ने नियम भए पनि प्रधानमन्त्री श्रीमती आरजुतिर फर्केर भन्दै थिए—“एक फेरो लगाए पुग्दैन र !”

प्रधानमन्त्रीसहितको टोली बोधगयाको होटेल रोयल रेसिडेन्सीमा बसेको थियो जहाँ न इन्टरनेट थियो, न अरू सुविधा ।

यो पटक प्रधानमन्त्री भ्रमणमा अरूभन्दा पनि नेपाली दूतावासबाट अनिवार्य संलग्न हुनैपर्ने पोलिटिकल काउन्सेलरको ‘अनुपस्थिति’ खट्किएको थियो । यो हुलमुलमा मिसिदैं लामबद्ध यात्रामा निक्लन पोलिटिकल काउन्सेलर हरि ओडारी, इकोनमिक मिनिष्टर कृष्णहरि पुष्कर डा. गोविन्द केसीलाई अख्तियारमा हुँदा ‘पागल’ नामाकरण गरिदिने धुरन्धर पण्डित र अरूभन्दा पनि काठमाडौँदेखि दौडधुपमा आएका पत्रकारहरु ऋषि धमला, अनिल गिरी, मनोज बस्नेत कसरी पो छुटेछन्— धेरैले पत्तो पाउनै सकेनन् । त्यसमाथि परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी यो लावालस्करमा कहाँ हो कहाँ, ‘गुमनाम’ झैँ थिए । न कतै सल्लाह चाहियो, न सुझाव । मन्त्रीगणको हुलमुल पनि दिल्लीमैं थन्किएको रहेछ, पर्यटन मन्त्री जितेन्द्र देव मात्रै कारकेडको बिचमा भागदौड गरिरहेका भेटिन्थे ।

सधैँ झैँ यस पटक पनि पत्रकार ऋषि धमलाको स्फुर्ती र तुजुक दिल्लीमा छाइरह्यो । प्रोटोकल आवतजावतमा पनि कहिलेकाँही राजदूत दीपकुमार उपाध्यायभन्दा अघिअघि ऋषि हुन्थे, कहिले दूतावासका कर्मचारी थामथुम पारिरहेका हुन्थे—ऋषिजी यता है यता, त्यता होइन ।

ताज होटलको भेलामा नेताहरू करन सिंहदेखि सिताराम येचुरीसम्मलाई ऋषि सानो साइजको माइक मुखै छेउमा लगेर सोधिरहेका थिए—“अरे बताइये न, अब क्या होगा !”

(लेखक काफ्ले सीए संस्थासम्बद्ध रहेर लक्ष्मीनगरमा बस्छन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *