‘रेमिट्यान्सले देशको आधा अर्थतन्त्र चलायमान भएको कुरा विर्सनुहुन्न’

नेपाली काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति बेलायतको आसन्न अधिवेशनमा विनय अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि बेलायतमा रहेर नेपाली काँग्रेसमा आबद्ध अधिकारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेसँगै जनसम्पर्क समितिको महाधिवेशन चर्किएको हो ।

आउँदो सेप्टेम्बर दोस्रो हप्तामा हुन लागेको अधिवेशनमा अधिकारीले आफ्रनो उम्मेदवारी समग्र प्रवासी नेपालीहरूका लागि भएको बताएका छन् । उनले अब युवा नै अघि नसरे देश विकास असम्भव रहेको औल्याउँदै उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिएको बताए । अधिकारी युवा व्यवसायी समेत हुन् । उनी लामो समयदेखि बेलायतमा रहेर व्यवसायसँगै सामाजिक कार्यमा पनि सक्रिय छन् । उनी नेपालमा आइपरेको कुनै पनि विपत्ति र विकासका योजनामा प्रवासी नेपालीलाई एक जुट गरी सहयोग जुटाउने सन्दर्भमा सक्रिय रहने व्यक्ति हुन् । प्रस्तुत छ, अधिकारीसँग केशव सापकाेटाले गर्नुभएको कुराकानीको संक्षेपः

नेपाली जनसम्पर्क समितिको महाधिवेशनमा तपाईँको उम्मेदवारी किन ?

नेपाली जनसम्पर्क समिति भनेको बेलायतमा बसोबास गर्ने नेपालीहरू जो प्रजातन्त्र र प्रजातान्त्रिक प्रणाली प्रति अत्यन्त विश्वास गर्नुहुन्छ उहाँहरूको सङ्गठन हो । यसले महामानव वीपी कोइराला, लौह पुरुष गणेश मान जस्ता व्यक्तित्वले मार्गदर्शन गरेको प्रजातान्त्रिक विचारलाई आत्मसाथ गरेर अघि बढेको छ । अहिले बेलायतमा रहेका नेपालीहरुमा पनि प्रजातान्त्रिक पद्धति र त्यसको उपादेयताका विषयमा प्रस्ट पार्नुपर्ने अवस्था छ । यहाँका नेपालीहरू जुनसुकै वर्ग क्षेत्र र समुदाय तथा व्यवसायमा आबद्ध भए पनि हामीहरू आफ्नो देश र प्रजातन्त्रप्रति आस्थावान छौँ भन्ने कुरा बुझाउन लागि जनसम्पर्क समिति लागि परेकोले उक्त उद्देश्य प्राप्तिका लागि पनि मेरो उम्मेदवारी रहेको छ ।

तपाईहरु नेपालमा रहँदा आफ्नो पार्टी र सङ्गठन बाहेक बाहिरकालाई देखि नसहने, विदेशमा आएपछि भने, सबैका लागि सङ्गठन बनाएको भन्दै द्विअर्थी कुरा गर्दा कत्तिको विश्वास गर्ने ?

तपाईँले सोध्नु भएको प्रश्नमा मेरो असहमति छ, नेपाली काँग्रेस र प्रजातन्त्र प्रति आस्थावानहरुले कहिल्लै नेपाल र नेपाली प्रति फाटो ल्याउने कुरा गरेका छैनन् । होलान् केही व्यक्ति र केही अराजक समूहले नेपाल र नेपालीलाई विखण्डन गर्ने कूचेष्टा गरे । त्यस्ता समूह र व्यक्तिलाई नेपाली जनताले राम्ररी चिनेका छन् ।

नेपाली काँग्रेसको इतिहास हेर्नुहोस् उसले राष्ट्रिय अखण्डता, स्वाभिमान र नेपाली जनताको पक्षमा सदैव आवाज बुलन्द गरेको छ । राष्ट्रियता र प्रजातन्त्र प्रति सबै नेपाली एक नभएसम्म स्थायी शान्ति र संवृद्धि सम्भव छैन । आफ्नो मातृभूमिबाट टाढा भएपछि जुनसुकै नेपालीलाई राष्ट्र, राष्ट्रियता र नेपाली प्रतिको माया सद्भाव अचानक बढेर आउनु नौलो कुरा हैन । हामी यहाँ एउटा पार्टीको विचारधारबाट प्रभावित भए पनि समग्रमा पहिले हामी नेपाली हौँ, नेपाल र नेपालीको समग्र हित र विकासका लागि एक भएका हौँ, यही सन्देश हामीले दिन खोजेका छौँ ।

बेलायतमा विश्वमै उत्कृष्ट प्रजातान्त्रिक अभ्यास भएको मुलुक भनिए पनि नेपालीहरू प्रति केही विभेदहरु देखिनुको कारण के हो ?

पहिलो र दोस्रो विश्वयुद्धमा ब्रिटिस आर्मीबाट जो वीर गोर्खालीहरुले लड्नु भयो, उहाँहरूको हक अधिकारका विषयमा पक्कैपनि धेरै अन्याय भएकै हो । त्यसपछि पनि ब्रिटिस आर्मीमा भर्ती हुने नेपाली र यहाँका आर्मीहरुमा ठुलो असमानताको खाडल छ । यो विषयमा भूपू आर्मीहरुले उठाउनु भएको आन्दोलनमा नेपाली जनसम्पर्क समितिले सदैव साथ दिएको छ । अन्य विषयमा पनि हामीले आफ्ना तर्फबाट आवाजहरू उठाइरहेका छौँ । बेलायतमा नेपालीहरूलाई त्यत्ति विभेद छैन । बेलायत आफैँमा विश्वकै उत्कृष्ट प्रजातान्त्रिक अभ्यास भएको मुलुक भएकोले यहाँ सबैलाई समान व्यवहार गरिन्छ ।

विदेशी नागरिक र विद्यार्थीहरूले यहाँबाट पाउने सेवा र सुविधा प्राप्तिको सवालमा त्यस्तो विभेद छैन । सबैले सबैलाई समान दृष्टिकोणले हेरिन्छ ।

तपाईहरु राष्ट्र र राष्ट्रियताका सवालमा धेरै संवेदनशील भए पनि विदेशी सुखः सुविधा प्रति आकर्षित भएको आरोप किन लाग्छ ?

जुनसुकै देशका नागरिक वा युवाहरू आफ्नो परिवार र भविष्य प्रति चिन्तित हुन्छन् । नेपालीहरू पनि त्यो कुराबाट टाढा छैनन् । हामी कुनै रहरले आफ्नो घर परिवारबाट टाढिएर सुखः सुविधा भोग्न आएका हैनौं । हाम्रो देशमा अथाह सम्भावना हुँदाहुँदै पनि राजनीतिक, आर्थिक, सामाजिक भौगोलिक कारणले हामीले केही गर्न सकेनौं । यसको मुख्य कारण भनेकै हाम्रा राजनीतिक दलहरुमा जनता र देश प्रतिको जिम्मेवारी नभएकोले हो ।

१० वर्ष सशस्त्र सङ्घर्ष चल्यो त्यसले राजनीतिक व्यवस्थामा केही परिवर्तन ल्याएपनि जनताको जिवनस्तर उकास्ने कुनै परिवर्तन ल्याउन सकेन । यसले युवाहरुमा वितृष्णा बढ्यो । यही कारणले धेरै युवाहरू आफ्नो भविष्य सुनिश्चित गर्न विदेशिएका हुन् । यदि हाम्रो देशमा काम गर्ने अवसर हुँदो हो त, हामी यहाँ आएर दिनरात मेहनत गर्ने थिएनौं । तपाईँले हामीलाई यहाँको सुखः सुविधामा भुलेको आरोप लगाइरहँदा हामीले यहाँबाट पठाएको रेमिट्यान्सले देशको आधा अर्थतन्त्र चलायमान भएको कुरापनि विर्सनुहुन्न । यहाँले भनेजस्तो विदेशमा नेपालीहरू कुनै सुखः सुविधामा अल्झिएका छैनन् ।

तपाईहरुले राष्ट्र र राष्ट्रियताका सवालमा एक भएर काम गरे अनुसार नेपाल सरकारले यहाँहरुका लागि के–के गरेको छ ?

हामी प्रवासमा रहेर देश र जनताका लागि जति चिन्तित छौँ । हाम्रो निम्ति राज्य कहिल्लै कहिल्लै संवेदनशील भएको पाएका छैनौँ । प्रवासी नेपालीका हक अधिकार हामीले मागिरहँदा कतिपय कुराहरू राज्यले नै उठाउनु पर्ने हुन्छ । भूपू गोर्खाहरुकै कुरा गर्दा त्यसलाई राज्यले घनिभूत बनाएर उठाएको भए अहिलेसम्म धेरै अघि बढ्ने थियो । तर, हाम्रो देशका राजनीतिक दल र राज्यले यस्ता विषयमा कहिल्लै आवाज उठाई दिएनन् । वैदेशिक रोजगारीका सवालमा धेरै समस्या छन् । सुरक्षा, सेवा लगायतका धेरै अधिकारका विषयमा राज्यले हामीलाई केही सहयोग गरेको छैन ।

यो महाधिवेशनले उठाउने मुद्दाहरू के–के हुन्छन् ?

यो अधिवेशन करिब ८–१० वर्षपछि हुन लागेकोले पनि विशेष अधिवेशन हो । मुख्यतः नेपाली जनसम्पर्क समिति यूकेको यो महाधिवेशन एकताको महाधिवेशन पनि हो । विगतमा समितिमा धेरै विवादहरु आए, धेरै फुट भए । यसले बेलायतमा रहेका नेपालीहरूलाई नै कमजोर बनाएको महसुस गरियो । यसले हामी प्रवासमा रहेका नेपालीहरूलाई एउटै सङ्गठन र छाताभित्र ल्याउन ठुलो भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएका छौँ । अर्को कुरा अब सङ्गठनलाई कसरी अघि बढाउने, नेपाल र नेपालीको विकासमा कसरी काम गर्ने, बेलायतमै रहेका सबै नेपालीलाई कसरी सङ्गठित गर्ने कुरामा पनि कार्य योजना बन्नेछन् ।

यो महाधिवेशनमा तपाईँलाई किन जिताउने ?

मेरो उम्मेदवारी बेलायतमा रहेका सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुको हक हित र नेपालका लागि हो । हामी प्रवासी नेपालीहरूलाई नेपाल सरकारले हेर्ने दृष्टिकोण अहिले पनि प्रस्ट छैन । म विजयी भएको अवस्थामा यो विषयमा नेपाल सरकारसँग आवाज बुलन्द गर्नेछु । अर्को कुरा अहिले ग्लोवलाईजेशनमा हामी विश्वभर छरिएर रहेका नेपालीहरू एउटै संस्थामा रहेर सङ्गठित हुन पनि आवश्यक छ ।

हामी नेपाली जनसम्पर्क समितिमार्फत विश्वका नेपाली एक भयौँ भने, त्यसले हाम्रो देशको विकास र प्रवासी नेपालीहरूका विषयमा धेरै काम गर्न सकिन्छ । मैले मेरो जितपछि एक पटक बेलायतमा विश्वका सम्पूर्ण जनसम्पर्क समितिमा आबद्ध प्रतिनिधिको भेला गर्ने सोच बनाएको छु । र, अब नेपाली जनसम्पर्क समितिको नेतृत्व युवाहरूको काँधमा जानुपर्दछ भन्ने मेरो धारणा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *