विदेश जान तयार बोहरा : कृषि पेसाबाट मनग्य आम्दानी गर्दै

भदौ ७, डडेल्धुरा । अमरगढी नगरपालिका-३ का महेशराज बोहराले ५ वर्ष अघि विदेश जाने योजनाका साथ पासपोर्ट पनि बनाएका थिए । बोहराले काठमाडौँमा धेरै म्यानपावर कम्पनीहरुमा धाए । बल्ल तल्ल एउटा म्यानपावरबाट विदेश जाने कुरा निश्चित भयो । विदेश जान तयार भए । तर, उनलाई कसैले विदेशमा शौचालय पनि सफा गर्नुपर्छ भनेर सुनाइदियो । अब उनको विदेश गएर पैसा कमाउछु भन्ने सोचमा परिवर्तन भयो ।

‘विदेशमा गएर शौचालय सफा गर्नु भन्दा आफ्नै माटोमा केही गर्ने अठोट गरे’ बोहोराले भने ‘त्यस पछि डडेल्धुरा फर्किए, र आफ्नै देशमा केही गरेर बस्ने सोच बनाए’ । ३४ वर्षीय बोहोराले अहिले आफ्नै गाउँमा व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गरेका छन् । उनले यो व्यवसाय सुरु गरेकेा पाँच वर्ष भयो । डडेल्धुरा सदरमुकाम बागबजार भन्दा ३ किलोमिटर टाढा रहेको चम्सालमा बोहराले अहिले व्यावसायिक रूपमा कृषि व्यवसाय गरिरहेका छन् ।

काठमाडौँबाट फर्किसकेपछि २०६९ सालदेखि उनले व्यावसायिक रूपमा कृषि गर्न थालेका हुन् । बोहोराले कृषि विकास बैङ्कबाट पाँच लाख ऋण लिएर कुखुरा पालन सुरु गरे । त्यसपछि बोहराले बिस्तारै तरकारी खेती सुरु गरे । अहिले उनले माछापालन व्यवसाय समेत सुरु गरेका छन् ।

विदेश भन्दा धेरै आम्दानी

उनले अहिले ८ रोपनी जमिन भाडामा लिएर माछापालन, कुखुरापालन र तरकारी खेती गरेका छन् । ‘आफ्नै माटोमा केही गरेर बस्छु भन्ने सोचका साथ कृषिमा लागेको हुँ,’ उनले भने, ‘कुखुरा, माछा र तरकारी विक्री गरेर एक वर्षमा पाँचलाख भन्दाबढी आम्दानी गर्दछु ।’

तीन रोपनी जमिनमा दुई पोलीहाउस भित्र काउली, टमाटर, गोलभेडा, भान्टा, सिमला खुर्सानी, काँक्रा आलु लगायतका तरकारी लगाएको बोहराले बताए । तरकारी र कुखुरा बिक्रीका लागि बजार धाउनु परे पनि माछा बिक्री गर्न आफूहरूले बजार जानु नपर्ने बोहराले बताए ।

तीन ओटा खोरमा पालेका कुखुराहरु सुदूरपश्चिमका पहाडी जिल्लाहरू डडेल्धुरा लगायत डोटी, बैतडी, अछाम र बझाङमा समेत बेच्ने गरेको उनले बताए । अहिले उनको माछा पोखरी नजिकैै माछा किन्नेको भिड लाग्ने गरेको छ । विदेश गएका साथीहरू भन्दा आफ्नो आम्दानी गज्जवको भएको भन्दै बोहरा आफ्नो व्यवसायबाट सन्तुष्ट भएको बताउँछन् ।

५ वर्ष पहिले विदेश जाने तयारी गरेका बोहरा सोचे जस्तो काम नपाइने भएपछि आफ्नै देशमा काम गरी मनग्ये आम्दानी गरिरहेका छन् । बोहोराले आफ्नो घरपरिवार लगायत अन्य दुई जनालाई रोजगारी समेत दिएका छन् ।

जिल्ला कृषिको सहयोग

बोहोरालाई व्यवसाय सञ्चालन गर्न जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले प्लाष्टिक घर, विउँ बेर्ना तथा माछामा लाग्ने रोगहरुको विषय जानकारी दिने लगायतका विषयमा प्राविधिक सहयोग गरेको छ । यस्तै, कृषि विकास बैङ्कले सुलभ ब्याजमा ऋण उपलब्ध गराएको उनले बताए । आफूले विदेश नगएर गाउँमै कृषि व्यवसाय गर्दा आम्दानी हुन थालेपछि बोहोराले विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाए धेरै आम्दानी गर्न सकिने बताए ।

अनलाइन खबरको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *