सांसदको डाँडा गाउँ भडारे पहिरोले बगायो तर….

ओखलढुङ्गा, ७ भाद्र । यो दृश्य ओखलढुंगा, चिशंखुगढी गाउँपालिका माम्खा गाविसको हो । जहाँ भडारे पहिरोले सिङ्गो गाउँलाई जतिखेर पनि बगाएर लग्न सक्छ । केही समयअघि आएको अविरल वर्षाले तराई डुवानमा परेसँगै मानवीय र भौतिक क्षति बेहोर्नुपर्यो । यसकारण अब, माम्खा बासीले पनि त्यस्तै क्षति बेहोर्न सक्दैनन् भन्न सकिँदैन । दैनिक जसो परिरहेको वर्षाले गाउँलाई नै बगाएर लग्न सक्ने देखिन्छ । तर, पहिरो गएको एक दशक बढी बितिसक्दा पनि सम्बन्धित निकायहरूले कुनै चासो देखाएका छैनन् । भडारे पहिरोका कारण दर्जनौँ घर विस्थापित भएका छन् भने बाल बच्चाहरू अध्ययन गर्ने विद्यालय, खानेपानी, विद्युत् लाइन, बाटो, पुल तथा सांस्कृतिक सम्पदा बगाइसकेको छ । अब यसरी नै निरन्तर वर्षा भइरहने हो भने सिङ्गो गाउँ नै बगाउन सक्ने त्यहाँका स्थानीयबासी पेशल खतिवडा बताउँछन् । वर्षाका कारण अत्याधिक रूपमा जमिनको धाँजा फाट्ने र पहिरो जाने क्रम रोकिएको छैन । त्यसैले भडारे पहिरोेका कारण स्थानीयहरु राती सुत्न सकेका छैनन् । बेलुकी कतै पहिरोले बगाउँदैन भन्दै उनीहरू अनिद्रा बस्ने गरेका छन् ।

‘बिस्थातिथ भएका दर्जनौँ घरहरुलाई अन्यत्र सारिएको छ । आफ्नो जग्गा नभएकाले जोखिमयुक्त क्षेत्रमा नै बसोबास गरिरहेका छन् । पहिरोले स्थानीय दुई विद्यालय श्री बसेरी प्रा.वि. र पारिजात स्मृति प्रा.वि. प्रभावित बनाएपछि घण्टौँ हिँडेर विद्यार्थीहरू विद्यालय जान बाध्य छन् । पहिरोका कारण कतिपय अभिभावकले छोरा छोरी विद्यालय पठाउने गरेका छैनन् । बाटो र पुल अबरुद्ध भएपछि एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न र बस्तु भाउ हिँडाउन समेत कठिनाइ भएको छ ।’ खतिवडाले भने ।

सांसदहरु यता
दोस्रो संविधान सभा निर्वाचनमा ओखलढुङगा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ यज्ञराज सुनुवार र समानुपातिक तर्फबाट हर्कबोल राई जितेका हुन् । जसमध्ये राई त्यहीँ भडारे पहिरोबाट पीडिट व्यक्ति पनि हुन् । यहाँका स्थानीयहरुको अनुसार सांसद राईको पनि भडारे पहिरोले जग्गा जमिन बगाइदिएको छ । तर, सांसदहरुले पहिरोले गाउँ नै बगाउँन लाग्दा पनि कुनै पहलकदमी नगरेको भन्दै थानीयहरुले आक्रोश पोखेका छन् । राजधानी र गाउँ आवत जावत गरे पनि उनीहरूले आफ्नो गाउँलाई पहिरोले बगाउँन लाग्दा पनि चासो देखाएका छैनन् ।

तर, सांसद हर्कबोल राईले आफूले पहिरो न्यूनिकरणका लागि सरकालाई घच्घच्याइरहेको र ०७२ वैशाख १२ गतेको भू–कम्पले थप पहिरो गएकाले भू–गर्भविद् नै खडा गरिएको बताउँछन् । ‘प्राधिकरणले त्यहाँका स्थानीयका लागि जग्गा खोजिरहेका छ । तर, सरकारबाट कुनै जवाफ आएको छैन ।’ उनले भने‘ भू–कम्प पछाडि भू–गर्भ विदहरुदले जिल्लाका पाँचवटा पहिरोको सिफारिस पत्र पनि सरकारलाई बुझाइसकिएको छ । पहिरोले डाँडा गाउँ त बगाइसकेको छ । १० घर विस्थापित भएका छन् ।’ आफ्नै जग्गा चाहिँ नबगाएको बताउँदै उनले भडारे पहिरोले ७० घर भन्दा बढी बस्ती जोखिममा रहेको समेत बताए । साथै,आफू एक्लैले मात्र यो सबै काम गर्न नसक्ने र यसका लागि राज्य नै अग्रसर हुनपर्ने उनले निष्कर्ष निकाले ।

लालपूर्जा छ तर जग्गा…..

हालसम्म हजारौँ रोपनी जग्गा बगिसकेका छन् । सयौँ जग्गाधनीहरुको हातमा लालपूर्जा मात्र छ तर जग्गा छैन । त्यसै गरी खानेपानीको पाईप लाइन र विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि स्थानीयहरु दोहोरो मारमा परेका छन् । खानेपानी, विद्युत् र बाटोसमेत प्रभावित हुँदा मार्का परेका स्थानीय बासिन्दाहरुले सम्बन्धित निकायहरुलाई पटक पटक यसबारे जानकारी गराउँसमेत कुनै पनि चासो नदिएकाले स्थानीय आक्रोसित बनेका छन् । नागरिकहरूको प्रत्यक्ष जिबिकोपार्जनसंग जोडिएको संवेदनशील विषयमा उच्च जोखिम क्षेत्रको भू–गर्भ विद्द्धारा स्थलगत भौगर्भिक अनुसन्धान गरी पुर्नबास तथा बस्ती स्थान्तरण का लागि पहल गर्नुपर्ने जरुरी छ ।

वर्षाका कारण अत्याधिक जमिनको धाँजा फाटेकाले पहिरो जाने क्रम रोकिएको छैन । पहिरोको तल्लो भागमा रहेको ठाडो र खार्ते खोलाले उतm क्षेत्रको कमजोर भूवनावट÷जमिन कटान गर्न थालेपछि (चिसङखुगढी गाउँपालिका) साबिकको माम्खा गाविसको बसेरी, डाँडा गाउँ, सिमपानी, गोगने, भाङखर्क, पात्तल, भँडारे, कोलबोटे, स्र्यातु डडुवा, नवलपूर लगायतका ठाउहरु उच्च जोखिममा परेका छन् । केही वर्ष अघि देखि निरन्तर बग्न सुरु गरेको पहिरो हिउँद र वर्षायाम दुवै मौसममा पहिरो जाने गरेको छ । वर्षामा पहिरो र बाढीले स्थानीय त्रसित बनेका छन् भने हिउँदमा सुख्खा पहिरोका कारण उनीहरू बिचल्लीमा परेको स्थानीय बासी तथा आर आर कलेजमा स्नातकोत्तर तहमा अध्ययनरतसमेत रहेका खतिवडाले बताए ।

गाउँपालिकाका मेयर कता ?
हाल चिसंखुगढी गाउँपालिकाका प्रमुख निशान्त शर्मा छन् । स्थानीय तहको निर्वाचसँगै माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । तर, अहिलेसम्म उनले पहिरो न्यूनिकरणका लागि कुनै पहल कदमी अघि बढाएका छैनन् । पार्टीगत काममा व्यस्त भए पनि पहिरोले गाउँ बगाउँन लाग्दासमेत सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । वडा अध्यक्षमा तुल विक्रम श्रेष्ठले पनि यसबारे केही मुख नखोलेको त्यहाँका स्थानीय बासिन्दा विनोद राईले जानकारी गराए । निर्वाचन समयमा गाउँको विकासका लागि भन्दै भोट मागे घर घर डुलेका उनीहरूले पहिरोले गाउँ बगाउँन लाग्दा पनि चासो नदिएको उनले बताए । ‘पहिरो गएको एक दशकभन्दा बढी भए पनि अहिलेसम्म सम्बन्धित निकायले कुनै चासो देखाएका छैनन् । भू–गर्भविद् ल्याएर अनुसन्धान त परै जाओस् । स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको अनुहार देख्न पाइएको छैन ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *