सद्भावको पर्व तीज र यसको महत्व

नेपाल एक बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक र बहुआयामिक देश हो । अझै भन्नुपर्दा अनेकतामा एकता भएको देश नै नेपाल हो । सबै धर्म, समुदाय, वर्ग, जातजाती, भाषाभाषीका आ–आफ्नै विविध चाडपर्वहरु रहेका छन् । सबै चाडपर्व एवं सांस्कृतिक रीतिरिवाजका आ–आफ्नै धार्मिक एवं ऐतिहासिक महत्त्व र विशेषता छन् । नेपालको अझै राम्रो पक्ष के छ भने एक धर्म र समुदायका नागरिकले अर्को धर्म र समुदायका नागरिकको चाडपर्वलाई सम्मान गर्ने र सहभागिता जनाउने प्रचलन समेत नेपालमा दिन प्रतिदिन बढ्दै गइरहेको देखिन्छ । यस प्रकारको मौलिक परिपारिटीले धार्मिक, सामाजिक र सांस्कृति सम्बन्धलाई सुदृढ गर्ने, समाजमा शान्ति सद्भाव तथा भाईचारा कायम राख्ने पुलको काम गर्ने गरेको छ ।

जब–जब हरितालिका तीज नजिकिदै जान्छ, मूलतः नेपाली महिला दिदी–बहिनीहरुमा चर्चा परिचर्चा सुरु हुन थाल्छ । तीजपर्वको पनि आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व रहेको छ । अविवाहिताले असल र सुशील पुरुष सँग विवाह गर्न पाईयोस भनी कामना गर्न र विवाहिता महिलाले श्रीमानको दीर्घायुको लागि उपवास बस्ने प्रचलन रही आएको थियो । समयको परिवर्तन सँगै यस पर्व मनाउने तौर तरिका तथा सोचाईमा समेत परिवर्तन हुँदै आएको देखिन्छ । अहिले तीज पर्वलाई महिला अधिकार र महिला स्वतन्त्रताको रूपमा लिने प्रचलन बढ्दै गएको पाइन्छ ।

तीज पर्वको क्रममा राम्रो लाउने, मिठो खाने, साथी तथा आफन्तहरु सँग भेटघाट गरी सुख–दुखका कुरा साटासाट गर्ने, माईती गई दुःख विसाउने, माईती सँग भेटघाट गर्ने, उमवास बस्ने, पूजापाठ गर्ने, नाचगान गर्ने आदि धार्मिक, सांस्कृतिक र सामाजिक कार्य गर्ने गरिन्छ ।

सद्भावको पर्व तीज :

सामाजिक सद्भाव कायम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न समेत चाडपर्वको महत्त्व हुन्छ । शहरीकरणका कारण एउटै टोल छिमेकमा विभिन्न क्षेत्रका नागरिकहरूले उपस्थिति रहेको हुन्छ । विभिन्न पेसा, व्यवसाय, धर्म, संस्कृतिका कारण सबै सँग भेटघाट परिचय नहुन पनि सक्दछ । तीज पर्वको समयमा आ–आफ्नो टोल छिमेकका महिलाहरू एकबद्ध भई पालो–पालो एक अर्काको घरमा दर खाने, नाचगान गर्ने चुरा पोते साटासाट गर्ने परम्परा र प्रचलनले गर्दा महिलाहरू तथा घर घरको नाता सम्बन्ध प्रगाढ हुनजान्छ र तत्पश्चात पनि परिवारको सुख दुखमा सहभागी हुने वातावरणको सृजना हुन जान्छ । यस प्रकारको क्रियाकलापले महिलाहरूले स्वतन्त्रता र अधिकारको अनुभूति गर्ने गरेका छन् ।

विवाहित महिलाका लागि माईतिसंगको सम्बन्ध यथावत कायम राख्ने महत्त्वपूर्ण माध्ययम तीज पर्व बन्न गएको छ । लामो समय देखि भेटघाट नभएका छोरी बहिनीलाई तीजको अवसरमा निमन्त्रणा गर्ने प्रचलन रही आएको छ । यसलाई समग्र महिला प्रतिको सम्मान र स्नेहको रूपमा लिनु पर्दछ । विभिन्न प्राविधिक कारणले छोरी बहिनी सँगको सम्बन्ध विग्रेको अवस्थामा पनि छोरी बहिनीले आफ्नो माईतीको निमन्त्रणाको आशा गरेकी हुन्छन् । छोरी तथा बहिनीको सम्बन्ध सबैभन्दा नजिकको रगतको सम्बन्ध हुने भएकोले यो सम्बन्धलाई निरन्तर कायम गर्न तीज, तिहार, दसैँ, रक्षा बन्धन जस्ता चाडपर्वले ठुलो भूमिका निर्वाह गरेको हुन्छ । तीज पर्वमा माइति पक्षले समेत आफ्ना छोरी बहिनीलाई भारको रूपमा नहेरी सम्मानको रूपमा व्यवहार गर्न पनि त्यत्तिकै आवश्यक छ । जस्तो सुकै झगडा र विवाद भए पनि सुखदुखमा काम लाग्ने आफन्तजन, माईति र छिमेकी नै हुन् । तसर्थ तीजको क्रममा हुने भेटघाट, खानपिन, नाचगानले आत्मीयता कायम गर्न सम्बन्ध विस्तार गर्न सघाउ पुग्दछ । यस प्रकारको परम्परालाई जोगाई भावी पुस्तालाई संस्कृति हस्तान्त्रण गर्नु हामी सबैको परम कर्तव्य हो ।

बुबा आमा नहुने, दाईभाई नुहुने र भए पनि राम्रो सम्बन्ध नभएको छोरी बहिनीलाई भने अरूले तीजमा रमाएको देखेर सुनेर झन् दुःख थप्ने कार्य गर्ने गरेको देखिन्छ । यो संसारमा सबै सुखी छैनन् भन्ने यथार्थलाई आत्मसाथ गरी तीजको समयमा सकारात्मक कार्यतर्फ उन्मूख भएका खण्डमा दुख घटाउन सहयोग मिल्न सक्छ ।

अधिकारको रूपमा तीज:

महिला अधिकारको दृष्टिकोणले नेपालको इतिहास त्यति राम्रो मानिदैन । छोरा छोरी बिचको भेदभाव, महिला र पुरुषवीचको भेदभाव नेपालमा लामो समय सम्म कायमै रह्यो । नेपालमा राष्टूपति, प्रधानन्यायाधीश, सभामुख जस्तो देशकै उच्च ओहदामा महिलाको सक्षम नेतृत्व हुँदा पनि महिला प्रतिको दृष्टिकोण अझै पनि दोस्रो दर्जाको रूपमा हेर्ने पृतिसतात्मक सोच हाम्रो समाजमा कायमै रहेको छ । हाल संवैधानिक र कानुनी रूपमा महिला पुरुष, छोरा छोरीका बिचमा बंशीय अधिकार, अंश अपुताली हक, सहभागिता लगायतको कुनै पनि दृष्टिकोणमा विभेद छैन ।

तर व्यवहारमा हाम्रो समाजमा अझै पनि अंशहक, सम्मान र अधिकारको दृष्टिकोणले छोरा छोरी, भाइ बहिनी, श्रीमान् श्रीमती, महिला पुरुषका बिचमा विभेद गर्ने गरिएको छ । विवाहिता छोरीले समेत बाबुआमा, दाजुभाइ बाट अंश पाउने कानुनी व्यवस्था आईसक्दा पनि सबै अविवाहित छोरी बहिनीले पनि आफ्नो बंशीय अंश खुशीराजीले पाउन सकेका छैनन् । छोरी बहिनी पनि समान अंशियार हुन्, भाइ छोरा सरह छोरी बहिनीलाई पनि अंश दिनुपर्छ भन्ने सोचाई र धारणाको विकास गर्नमा समेत तीज पर्वलाई अवसरको रूपमा लिन आवश्यक छ । स्वतन्त्रता र अधिकार भन्ने कुरा संविधान एवं कानुनमा उल्लेख हुँदैमा स्वतः पाउन सकिने विषय होइनन् । जवसम्म अधिकार र स्वतन्त्रताको सहज, सहज र निष्पक्ष ढङ्गबाट उपभोग गर्न र अनुभूति गर्न सकिँदैन तवसम्म वास्तविक अधिकार प्राप्त गरेको मान्न सकिँदैन । तसर्थ महिला अधिकारको उपभोग र अनभूति गर्नको लागि बाबुआमा, दाजुभाइ र पूरुषवर्ग मन र कर्मबाट नै इमान्दार हुन आवश्यक छ ।

अन्यायको विरुद्धमा तीज:

महिलाको सहभागिता विना संसार चल्न सक्दैन, सक्षम महिलाको सहयोग विना पुरुष सफलताको शिखरमा पुग्न सक्दैन । आजको दिनमा महिला तथा अबोध बालिकाहरु आफ्नै संरक्षक, अभिभावक, श्रीमान् समेत बाटै शारीरिक, मानसिक, आर्थिक, यौनिक हिंसामा पर्ने गरेका छन् । पुरुष वर्गबाट नै महिलाहरू बलाकृत हुने, हिंसामा पर्ने, घरेलु हिंसामा पर्ने, मानव बेचविखन तथा ओसार पसारमा पर्ने गरेका छन् । पुरुषको लागि प्रत्येक महिला तथा बालिकाहरु आफ्नै छोरा बहिनी जस्तै हुन, महिला तथा बालबालिका प्रति सम्मान र स्नेह गर्नुपर्दछ भन्ने धारणाको विकास भएन भने यस प्रकारका दुखद र घृणित अपराधले समाजमा प्रश्चय पाई नै रहन्छ । यसका लागि महिला स्वयम्ले आफ्नै घरबाट हिंसा विरुद्धको अभियान सुरु गर्न आवश्यक छ । आफ्नै घरको पुरुष चाहे बाबु, चाहे दाजुभाइ, चाहे छोरा, चाहे साथीभाई, चाहे श्रीमान् नै किन नहोस यदि कुनै पनि प्रकारको महिला हिंसा गरेको छ भने कानुनको दायरामा ल्याई सजाय दिलाउन सकियो भने महिला हिंसा न्यूनिकरणमा सहयोग पुग्ने देखिन्छ ।

तीज पर्वलाई अन्याय र अत्याचारको विरुद्धको अधिकारको रूपमा पनि मनाउन सकिन्छ । हिंसा हिंसा नै हो । हिंसाको कुनै पक्ष र विपक्ष हुनै सक्दैन । तसर्थ जुनसुकै बहानामा, जुनसुकै पुरुषबाट, जुनसुकै महिला माथि भएका, भइरहेका र हुन सक्ने शारीरिक, मानसिक, यौनिक र आर्थिक हिंसाको विरोध गर्न सकियो, अन्याय र अत्याचारको विरुद्धमा लड्न सकियो, पिडकलाई सजाय दिलाउन सकियो र पीडितलाई न्याय तथा संरक्षण गर्न सकियो भने मात्रै महिला अधिकारको सबै महिलाले उपभोग गर्न पाउने छन्, तीज लगायतका महत्त्वपूर्ण पर्वहरु हर्षोल्लासका साथ मनाउन पाउने छन्, सबै दिदी बहिनी र छोरीहरू सुरक्षित महसुस गर्न पाउने छन्, नारी पुरुष एक रथको दुई पाग्रा भएको कथन चरितार्थ हुने छ, परिवार र समाजमा समेत सुख शान्ति र अमनचयन कायम हुने छ । महिलाहरू हिंसामा परेको देख्न सुन्न नपाइयोस, सबै महिलाले आफ्नो माइति तथा आफन्तको साथमा ढुक्कका साथ सर्वशुलभ र कम खर्चमा आफूखुशी तीज मनाउन पाएको देख्न सुन्न पाइयोस, समग्र आमा, दिदी बहिनी तथा छोरीहरुमा महान् चाड तीजको सन्दर्भमा यही छ शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *